Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

जिल्ला प्रशासनको बजार अनुगमन : नक्कली अमिलो र म्याद गुज्रिएका खानेकुरा बरामद

जिल्ला प्रशासनको बजार अनुगमन : नक्कली अमिलो र म्याद गुज्रिएका खानेकुरा बरामद

भरतपुर : नारायणगढको कपडा पसल, किराना पसल र होटलमा बुधबार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको आह्वानमा संयुक्त बजारमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा नक्कली अमिलो र म्याद गुज्रिएका खानेकुरा बरामद गरिएको छ ।

भरतपुर–१, पुतलीबजारस्थित अनमोल किराना स्टोर्समा ५० बोतल नक्कली अमिलो र म्याद गुज्रिएको रियल जुस आठवटा, ओरेन्ज बाइट चकलेट ११ प्याकेट र खरबुजाको बीउ एक प्याकेट जफत गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरीक्षक वन्दना पन्तले जानकारी दिइन् । उनका अनुसार गैँडाकोटमा उत्पादित ‘गोरखा कालिका अमिलो’ ब्रान्डको अमिलोमा अनुज्ञापत्र उल्लेख छैन ।

खाद्य विभागबाट अनुमति प्राप्त खाद्य उद्योगले मात्रै अनुज्ञापत्र प्राप्त गर्छन् । चितवनमा नक्कली अमिलो बनाउने उद्योग नै बन्द गरिए पनि लुकीछिपीरुपमा उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ । विभिन्न जिल्लाबाट समेत यस्ता अमिलो ल्याएर बिक्री गर्ने गरिन्छ । साइट्रिक एसिडबाट बनाइने यस्ता अमिलोको बोतलमा भने कागतीको फोटो राखेर उपभोक्तालाई भ्रमित पारिन्छ ।

नारायणगढको मिलनरोडस्थित सूर्या रेडिमेड कपडा पसलका सञ्चालकलाई एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । पसल सञ्चालकले करचुक्ता, बिक्रीवितरणलगायत आवश्यक कागजपत्र देखाउन नसकेपछि कागजपत्रसहित उपस्थित हुन निर्देशन दिइएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिए ।

नारायणगढको पुलचोकस्थित न्यु होटल मोतीमहल एण्ड रेस्टुरेन्टमा अखाद्य तेल भेटिएको छ । धेरैपटक खानेकुरा तारिएको अखाद्य तेल नष्ट गरिएको छ । उक्त तेल खानेकुरा तार्नमा प्रयोग भइरहेको पाइएपछि नष्ट गरी होटल सञ्चालकलाई सचेत गराइएको उनले बताए । ‘कमजोरी गर्ने व्यवसायीहरुलाई हामीले सचेतना र सुझाव दिएका छौँ । जिल्ला प्रशासनले नियमित र छड्के अनुगमनलाई निरन्तरता दिनेछ’, उनले भने ।

संयुक्त बजार अनुगमनमा उद्योग तथा वाणिज्य कार्यालय, उपभोक्ता अधिकार संरक्षण मञ्च, जिल्ला प्रहरी कार्यालय र पत्रकार महासंघका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट