Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नारायणगढमा विदेशी नाटक ‘आइपुग्यो’ दर्शक नै नाटकको कलाकार

नारायणगढमा विदेशी नाटक ‘आइपुग्यो’ दर्शक नै नाटकको कलाकार

नारायणगढ : घरका कुनै एक सदस्य लामो समयपछि परिवारसँग भेट हुन्छ । आफन्त, इष्टमित्रहरुसँग पनि भेट हुन्छ । र, पछिसम्म पनि यो सम्झनालाई ताजा बनाउनका लागि सामूहिक तस्बिर खिचिन्छ । यो दृश्य नारायणगढमा जारी ‘प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०८१’ को एउटा घटनाको हो । लिथुवानियाका कलाकार एड्रिनको करिब ४५ मिनेट लामो प्रस्तुतिले नारायणी कला मन्दिरको प्रेक्षालयबाट नजिकै रहेको बालकुमारी तरकारी बजार मज्जासँग घुमायो ।

सडक नाटकबाहेक चितवनमा जति नाटक मञ्चन भए ती सबै मञ्चमै हुने गरेकामा यसपटकको नाटक ‘एराइभ्ड’ अर्थात् ‘आइपुग्यो’ भने सडकमै मञ्चन भयो । त्यो पनि बिनासंवाद, खुला ठाउँमा । नाटकले बिनासंवाद र सीमित कलाकारले पनि न्याय दिन सक्छ भन्ने सन्देश दिलायो । नाटकमा पात्र नै नभएका भने होइनन् । मुख्य पात्र एड्रिन आफैँ भए पनि उनले आफ्नो प्रस्तुति दिँदै जाने क्रममा जुन अवस्थामा जस्ता व्यक्ति भेटिन्छन् उनैलाई पात्र बनाइदिए ।

एड्रिन आफैँले निर्देशन गरेको नाटक सडकमा देखाएर नाटक हेर्न आउनेहरुलाई मनोरञ्जन मात्र नभई अचम्मित तुल्याइदिए ! नाटक भन्नासाथ मञ्चको परिकल्पना गर्दै आएका दर्शकहरुलाई मञ्च र कलाकारसँगै स्रोतसाधनबिना पनि नाटक देखाउन सकिँदो रहेछ भन्ने प्रस्ट पारिदिएको अभियन्ता डा. जीवन क्षेत्रीले बताए ।

‘नाटकलाई मान्छेको वास्तविक जीवनसँग कसरी जोड्ने भन्ने विषयलाई सुन्दर ढङ्गबाट देखाइएको छ’, उनले भने, ‘नाटकमा पाइला सार्दै गरेको नेपालजस्तो स्रोतसाधनको अभाव हुने स्थानमा पनि सजिलै कलात्मक कोणबाट काम गर्न सकिन्छ भन्ने देखायो ।’

सङ्केतको आधारमा बुझ्न सकिने सरल कथालाई भन्न सफल भएको उनको भनाइ छ । ‘प्रेम, विवाह, परिवारजस्तो जटिल परिवेशलाई पनि कथामा सामान्य तरिकाले सबैले बुझिने गरी देखाउन सकिएको छ’, उनले भने, ‘यसले मान्छेको जीवनसँग नाटकलाई कसरी निकट बनाउन सकिन्छ भन्ने बुझाएको छ ।

लेखक भूपिन खड्काले भने चितवनको साहित्य क्षेत्रमा पहिलोपटक ऐतिहासिक काम भएको प्रतिक्रिया दिए । नाट्य महोत्सवले चितवनमा दूरगामी प्रभाव पार्न सक्ने उनले अनुमान लगाए । ‘नाट्य विधा भनेको नेपाली साहित्यमा कम लेख्य विधा हो । तर, चितवनको यो कार्यक्रमले नाटक विधामा काम गर्न चाहनेहरुका लागि पनि सकारात्मक सन्देश दिएको छ’, उनले भने, ‘यो महोत्सवले चितवन बसेर नाटकमा काम गर्ने, लेख्ने, हेर्ने सबैका लागि आधुनिक नाटकको चेतना दिएको छ ।’

नाट्य महोत्सवका निर्देशक एवं रङ्गकर्मी अञ्जान प्रदीपले चितवनमा बसेर सँगालेको एक दशक लामो अनुभवलाई महोत्सवको रुप दिने प्रयास गरिएको जानकारी दिए । तीन दिनसम्म विभिन्न संघसंस्थाको सहयोग लिएर गरिएको महोत्सवले नाट्य विधामा सङ्घर्ष गर्नेहरुका लागि सकारात्मक ऊर्जा मिलेको उनले सुनाए ।

नाटकमा नेपालसहित छवटा देशको नाटक मञ्चन भइरहेको छ । नाटक महोत्सवमा सहभागी हुनका लागि ती सबै देशबाट करिब ४० जना कलाकार चितवन आएका छन् । तीन दिनसम्म चलेको नाट्य महोत्सव आज मङ्गलबार सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट