नारायणघाट : नारायणी कला मन्दिरमा आयोजित तीनदिने ‘प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सकिएको छ । मङ्गलबार साँझ भारतीय नाटक ‘तमासा’को मञ्चनसँगै नाट्य महोत्सव सकिएको हो । कर्मी चौतारी, तरङ्ग नाट्य समूह र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा चैत १० देखि १२ गतेसम्म नाट्य महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा लिथुवानीया, स्पेन, इरान, भारत, जापान र नेपालसहित छ राष्ट्रको छ वटा नाटक मञ्चन गरिएको थियो । यस महोत्सवले चितवनमा नाट्य विधाको सम्भावना बलियो देखाएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । चितवनमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना गरेर इतिहास रच्ने काम भएको कलाकारसमेत रहेका पुष्प आचार्यले बताए ।
देशबाहिरको नाटक पनि कला मन्दिरको मञ्चमै देख्न पाइने मौका यसअघि नभएको भन्दै पहिलोपटक आयोजना गरिएको महोत्सवले विदेशी नाटकमात्र नभई नेपाली नाटकलाई समेत विदेशीसामु मञ्चन गर्ने मौका पाएको उनले बताए । ‘नाटकमा रचनात्मकताको भूमिकालाई अग्रणी भागमा राखेर हेरिन्छ,’ उनले भने, ‘विदेशमा मञ्चन हुने नाटक यहीँ हेर्न पाउँदा उहाँहरुको अनुभव, प्रयोग र प्रस्तुति नियाल्न पाउँछौँ, जसले हाम्रो रचनात्मकताको क्षितिजलाई अझै विराट बनाउन मद्दत पुग्ने छ ।’
छोटो समयको तयारीमा पनि नाटक महोत्सव सोचेभन्दा राम्रो भएको महोत्सवका संयोजक देवकुमार श्रेष्ठले बताए । ‘चितवनमा पनि नाटकको बजार राम्रो भएको बुझिन्छ,’ उनले भने, ‘नाटक हेर्न लागेको दर्शकको ओइरो र दर्शकबाट प्राप्त प्रतिक्रियाले पनि महोत्सव सफल भएको हामीले महसुस गरेका छौँ ।’ यसबाट आगामी संस्करण आयोजना गर्नको लागि पनि थप बल पुगेको उनले बताए ।
आयोजनाको परिकल्पनाभन्दा पनि माथिल्लो तहमा महोत्सव सम्पन्न भएको महोत्सवका निर्देशक अञ्जान प्रदीपले दाबी गरे । महोत्सव हेर्न कला मन्दिरको हल खचाखच भरिएको थियो । तीनै दिन दर्शकको चाप उस्तै भएपछि यसबाट अब चितवनमा नाट्य संस्कृतिको विकाससँगै कलाकार उत्पादन र रङ्गमञ्च निर्माणमा राज्य तथा सरोकारवाला सबै पक्षको ध्यान खिचेको महसुस भएको उनको भनाइ छ ।
नाटक हेर्न चितवनमा बसेर चलचित्र निर्माण गर्दै आएका पुराना निर्माता एवम् गायक, सङ्गीतकार रामप्रसाद श्रेष्ठ, कवि, लेखक, साहित्यकार, विद्यार्थी, शिक्षक, व्यवसायी, पत्रकारलगायत उल्लेख्य उपस्थिति थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij