भरतपुर : चितवन अत्यधिक गर्मी हुने जिल्लामध्ये पर्छ । गत वर्ष उखरमाउलो गर्मीको बेला पटकपटक विद्युत् अवरूद्ध भएपछि सेवाग्राहीहरु हैरान भएका थिए । भरतपुरमा यसवर्ष पाँच मेगावाट विद्युत् बढी खपत हुने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा गर्मीको पिक समयमा १०० मेगावाट विद्युत् खपत भएको थियो ।
नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रअन्तर्गत मात्रै ५५ मेगावाट विद्युत् खपत भएको थियो । यसवर्ष पिक समयमा ६० मेगावाट विद्युत् खपत हुने भरतपुर वितरण केन्द्रको अनुमान छ । गएको फागुन अन्तिम सातातिर ३० मेगावाट विद्युत् खपत भएको थियो ।
स्थानीय संरचनाको अभावमा यसवर्ष विद्युत् अवरूद्ध नहुने नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रका प्रमुख इन्जिनियर रामु श्रेष्ठले जानकारी दिए । ‘पटकपटक सिस्टम जाने समस्या राष्ट्रिय प्रसारणलाइनको कारण आउने समस्या हो । स्थानीय संरचना अभावको कारण यसवर्ष विद्युत् अवरूद्ध हुँदैन । गर्मीकै लागि भनेर हामीले ठूलो संख्यामा ट्रान्सफर्मर जोड्दै छाँै’, उनले भने । आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनमा ४५ एमभिएको ट्रान्सफर्मर जडान गर्ने तयारी हुँदै छ । यसपछि ४० मेगावाट बिजुली थपिने उनले बताए ।
बसेनीस्थित सबस्टेसनमा पनि २२ एमभिए ट्रान्सफर्मर जडान हुँदै छ । जडान भएपछि १८ मेगावाट बिजुली थपिने छ । ‘यो वर्ष ५० वटा ट्रान्सफर्मर थप्ने योजना छ, त्यसका लागि साढे सात करोड चाहिन्छ । हामीसँग साढे चार करोडजति बजेट छ, थप बजेट माग गरिरहेका छौँ’, उनले भने ।
राष्ट्रिय प्रसारणलाइनअन्तर्गत तनहुँको मार्किचोकदेखि भरतपुरको आँपटारीसम्मको लाइन अझै पूरा भएको छैन । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारणलाइन भने तयार भएको छ । ढल्केवर–हेटौँडा प्रसारणलाइनको काम पनि अधुरै छ । राष्ट्रिय प्रसारणलाइनको काम नसकिएकाले सिस्टम जाने समस्या भने कायमै हुने उनी बताउँछन् ।
बसेनी सबस्टेसनबाट १० वटा, आँपटारी सबस्टेसनबाट पाँचवटा र देवनगर सबस्टेसनबाट तीनवटा फिडर निकालिएको छ । धादिङको एउटा फिडर चितवनका इच्छाकामना–१, हात्तीवाङ र काउले तथा तनहुँको आँबुखैरहनीको एउटा फिडरबाट मुग्लिनमा विद्युत् वितरण भइरहेको छ । भरतपुरमै भूमिगत गरिएको एउटा फिडर सञ्चालनमा आएको छ भने १८ वटा भूमिगत फिडर सञ्चालनमा आउन बाँकी छ ।
देवनगर सबस्टेसन सञ्चालनमा आएपछि भरतपुरमा धेरै राहत मिलेको उनी बताउँछन् । ‘देवनगर सबस्टेसन सञ्चालनमा आएको छ, नयाँ ट्रान्सफर्मरहरु जडान हुँदै छन्, यसवर्ष गर्मी थेग्न सकिन्छजस्तो लागेको छ’, श्रेष्ठले भने । भरतपुरले विद्युत् चुहावट ६ प्रतिशत कायम गर्ने लक्ष्य पाएकोमा ५.५ प्रतिशतमा झार्न सफल भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij