Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनका क्याम्पसहरुमा स्ववियु निर्वाचन : पाँच विद्यार्थी सङ्गठनको तालाबन्दी

चितवनका क्याम्पसहरुमा स्ववियु निर्वाचन : पाँच विद्यार्थी सङ्गठनको तालाबन्दी

भरतपुर : चितवनमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी प्रक्रियामा असन्तुष्टि जनाउँदै विभिन्न पाँच विद्यार्थी सङ्गठनले क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । क्याम्पसहरुमा तालाबन्दी भएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चैत ५ गते गर्न लागेको स्ववियु निर्वाचन चितवनमा नहुने पक्का भएको छ । जिल्लामा तीन आङ्गिक र १४ पब्लिक क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदै थियो । शनिबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधिसमेत लागू भइसकेको छ ।

पब्लिक क्याम्पस संघका सचिव एवं सप्तगण्डकी बहुमुखी क्याम्यसका प्रमुख खिमलाल दाहालले अब निर्धारित समयमा चुनाव गराउन नसकिने बताए । ‘विद्यार्थी सङ्गठनहरुको माग हरेकपटक परिवर्तन हुँदै आयो । वार्ता गर्दागर्दै समय घर्कियो’, उनले भने, ‘चैत ५ गते चुनाव हुने सम्भावना सकिएको छ । सहमति भयो, ताला खुल्यो र निर्वाचनको वातावरण बन्यो भने १० देखि १५ दिनभित्र पनि निर्वाचन गराउन सकिन्छ ।’

आन्दोलित विद्यार्थीहरुले मतपत्र जफत गरेको उनले जानकारी दिए । मनोनयन पत्र वितरण गर्दादेखि चुनावी प्रक्रिया प्रभावित भएको उनले बताए । पब्लिक क्याम्पस संघको आइतबार बैठक बसेको थियो । बैठकले निर्वाचनको वातावरण बनाउन आह्वान गर्ने निर्णय भएको उनले जानकारी दिए ।

त्रिविको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रेमसागर भण्डारीले आज सोमबारसम्म विद्यार्थी सङ्गठनबीच सहमति भए तोकिएको समयमै निर्वाचन गराउन सकिने बताए । क्याम्पसमा तालाबन्दी भएको विषयमा आइतबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलसँग छलफल भएको थियो । ‘सिडिओसापले सोमबारसम्म हेरौँ, सकभर मिलाउँछौँ भन्नुभएको छ । निर्वाचनको वातावरण बनाउन पहल गरिदिनू भनेर हामीले पनि आग्रह ग¥यौँ’, उनले भने, ‘उमेदवारको अन्तिम नामावली आइसकेको छ । चैत ४ गतेसम्म ताला खुले पनि हामीले निर्वाचन गराउन सक्छौँ ।’

नेकपा एमालेनिकट अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले क्याम्पसहरुमा लगाएको ताला तत्काल खोलेर निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरे । ‘हामी मित्रवत् प्रतिस्पर्धा चाहन्छौँ । तालाबन्दी स्वीकार्दैनौँ’, उनले भने, ‘अरु सबै सङ्गठनले गठबन्धन गरे पनि हामी एक्लै चुनाव लड्न तयार छौँ । चुनावको जस्तोसुकै नतिजा स्वीकार्छाैं ।’ शैक्षिक संस्थाहरुमा तालाबन्दी नगर्ने अनेरास्ववियुको केन्द्रीय नीति रहेको भन्दै उनले नेकपा माओवादीनिकटको अखिल क्रान्तिकारीको भड्काउमा अन्य सङ्गठनले तालाबन्दी गरेको आरोप लगाए ।

नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य राजन दाहालले विद्यार्थीलाई मतदान गरी सही नेतृत्व चुन्ने अधिकारबाट वञ्चित गराउने छूट कसैलाई नरहेको बताए । ‘विद्यार्थीका आफ्ना समस्या आफैँले समाधान गर्न स्ववियुको परिकल्पना गरिएको हो । निर्वाचन प्रक्रियालाई अगाडि बढाउनका लागि क्याम्पसप्रमुख र निर्वाचन अधिकृतहरुलाई विनम्रताका साथ आग्रह गर्दछु’, उनले भने ।

नेकपा (एकीकृत समाजवादी)निकटको अनेरास्ववियु, जसपानिकटको समाजवादी विद्यार्थी युनियन, विप्लव माओवादीनिकटको अखिल समाजवादी, नेकपा बहुमतनिकटको अखिल क्रान्तिकारी र लोसपानिकटको लोकतान्त्रिक विद्यार्थी संघले तालाबन्दी गरेका हुन् । ‘मानोमानी ढङ्गले कार्यतालिका थोपर्नु, फर्जी भर्ना गरिएका व्यक्तिलाई मतदानमा सहभागी गराउने, वार्ता र छलफललाई उपेक्षा गर्ने र चुनावी गतिविधिका लागि उचित समय नदिनु योजनाबद्ध षड्यन्त्रको हिस्सा हो’, पाँच सङ्गठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट