भरतपुर : चितवनमा यसवर्षको एसइई परीक्षाको ४२ केन्द्र निर्धारण गरिएको छ । चैत ७ गते बिहान आठ बजेबाट सुरू हुने एसइई परीक्षामा चितवन जिल्लाबाट ग्रेड वृद्धि परीक्षा दिनेसहित १२ हजार ३९२ विद्यार्थी सहभागी हुनेछन् ।
शिक्षा विकास तथा समन्वय इकाइ भरतपुरका प्रमुख लक्ष्मण देवकोटाका अनुसार गत वर्षको परीक्षामा राम्रो नतिजा नल्याएका विद्यार्थीले यसवर्ष ग्रेड वृद्धिको परीक्षा दिँदैछन्, त्यस्ता विद्यार्थी चितवनमा १ हजार ७४३ छन् । उनले ग्रेड वृद्धिबाहेक नियमित परीक्षा दिने विद्यार्थीको संख्या यसवर्ष चितवनमा १० हजार ६४९ रहेको बताए ।२०८० सालमा चितवनबाट १० हजार ८३१ विद्यार्थीले एसइई परीक्षा दिएका थिए । २०७९ मा १० हजार ६६१ र २०७८ मा ११ हजार ९८६ विद्यार्थी चितवन जिल्लाबाट सहभागी भएका थिए ।
इकाइ प्रमुख देवकोटाले चितवनका सातै पालिकामा पर्याप्त पुग्ने गरी परीक्षा केन्द्र तोकिएको बताए । आइतबार इकाइको सभाहलमा दिइएको केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण कार्यक्रममा प्रमुख देवकोटाले भने, ‘परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, उत्तरपुस्तिका ४२ वटै केन्द्रमा पुगेको छ, प्रश्नपत्र नजिकको प्रहरी चौकीमा पु¥याइएको छ ।’
भरतपुर महानगरमा २३, इच्छाकामनामा २, रत्ननगरमा ६, कालिकामा २, खैरहनीमा ४, राप्तीमा ३ र माडीमा २ केन्द्र तोकिएको छ । इच्छाकामनामा ३०१, भरतपुरमा ७ हजार ३११, रत्ननगरमा १ हजार ७०९, कालिकामा ४८०, खैरहनीमा १ हजार २१०, राप्तीमा ३९४ र माडीमा ४९३ जना विद्यार्थीले एसइई परीक्षा दिँदैछन् ।नारायणी नमुना माविबाट एक जना दृष्टिविहीनले पनि एसइई परीक्षा दिनेछिन् भने चितवन माविमा चलेको खुला विद्यालयबाट १३ जनाले एसइई परीक्षा दिन लागेका छन् ।
अभिमुखीकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले परीक्षालाई शान्त वातावरणमा, भयरहित र मर्यादित बनाइने बताए । उनले परीक्षालाई मर्यादित बनाउन जिल्लाका सम्पूर्ण शिक्षाका संयन्त्र तथा सुरक्षाकर्मीलाई परिचालन गरिने बताए । कार्यक्रममा उनले भने, ‘परीक्षाको अनुगमन हुनेछ, तर कक्षा कोठामा पसिँदैन, विद्यार्थीलाई कत्ति पनि त्रास उत्पन्न नगराई अनुगमन गरिनेछ ।’
कार्यक्रममा चितवन जिल्लाका प्रहरी उपरीक्षक राजन लिम्बूले आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन हुने बताए । उनका अनुसार एउटा केन्द्रमा कम्तीमा १५ जना सुरक्षाकर्मी खटिने छन् । उनले शान्त, भयरहित वातावरण बनाउन सुरक्षाकर्मी खटिने बताए । परीक्षा बिहान ८ बजेदेखि बढीमा ११ बजेसम्म चल्नेछ ।
इकाइका सूचना अधिकारी रमेश अधिकारीले केन्द्र परेका विद्यालयका प्रअ नै केन्द्राध्यक्ष हुने बताए । उनले भने, ‘सबै केन्द्राध्यक्षहरुलाई परीक्षा नियन्त्रण कार्यालयबाट आएको निर्देशन पुस्तिका वितरण गरिएको र सोही पुस्तिकाले भनेबमोजिम परीक्षा चल्नेछ ।’
इकाइका शाखा अधिकृत गोकर्णप्रसाद बन्जाराले परीक्षा चैत १९ गतेसम्म चल्ने बताए । उनका अनुसार चैत ७ गते बिहीबार अनिवार्य अङ्ग्रेजी अथवा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ । सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ । चितवनमा २३३ वटा विद्यालयहरु एसइई परीक्षामा सहभागी हुने भएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij