भरतपुर : चितवनको बरण्डाभार वनक्षेत्र डढेलोको उच्च जोखिममा रहेको पाइन्छ । फागुन पहिलो सातादेखि जेठ अन्तिमसम्म बरण्डाभार वनक्षेत्रमा डढेलोको जोखिम बढी हुने डिभिजन वन कार्यालय चितवनले जनाएको छ ।
‘चितवन जिल्लामा पर्ने बरण्डाभार वनक्षेत्रमा ठूला राजमार्गहरु छन्, क्रस गर्नुपर्ने अन्य मार्गहरु पनि छन्, जहाँ मान्छे र सवारीसाधनको चौबिसै घन्टा आवतजावत भइरहन्छ । चुरोट खाएर फाल्दिए पनि वनभरि आगलागी फैलिन्छ’, डिभिजन वन कार्यालय भरतपुरका प्रमुख थिरबहादुर कार्कीले भने, ‘जसका कारण पनि अन्य वनको तुलनामा बरण्डाभार वनक्षेत्र डढेलोको बढी जोखिममा छ ।
चितवनको बरण्डाभार वनक्षेत्रअन्तर्गत छेउमा १७ वटा सामुदायिक वन छन् । बीचमा सरकारद्वारा सञ्चालित राष्ट्रिय वनक्षेत्र पर्छ । बरण्डाभार वनक्षेत्र १० हजार ३०२ हेक्टरमा फैलिएको छ । यसको लम्बाइ १४ किमी र चौडाइ ५ किमी रहेको छ । यस बरण्डाभार संरक्षित वनमा घना मिश्रित वन ९०.४ प्रतिशत, घाँसे मैदान १.३ प्रतिशत, नदी, खोला, ताल र पोखरी ३.३ प्रतिशत, नाङ्गा, झाडी तथा उजाड वन ०.३ प्रतिशत र आबादी क्षेत्र ४.७ प्रतिशत छ ।
बरण्डाभारको छेउमा सामुदायिक वनक्षेत्र भएकाले दाउरा–घाँसका लागि पनि मानिसहरुको आवतजावत बढी हुन्छ, यस कारणले पनि बरण्डाभार क्षेत्र डढेलोको जोखिममा परेको हो । गाईभैँसीलाई हरियो घाँसका लागि पनि मानिसहरुले आगो लगाइदिन्छन् ।
चितवन जिल्लाको मध्य तथा पश्चिम भागमा अवस्थित बरण्डाभार संरक्षित वनक्षेत्र नेपालको एकमात्र दक्षिणतर्फको चुरे श्रृङ्खला र उत्तरतर्फको महाभारत श्रृङ्खला जोड्ने जैविक करिडोर हो । बरण्डाभार क्षेत्रले चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर भारतको वाल्मीकि टाइगर रिजर्भसम्मको फैलावटलाई कायम राखेको छ ।
बरण्डाभार क्षेत्रमा घाँसे मैदान व्यवस्थापनको नाममा स्थानीयबाटै आगो लगाइएको छ, मूल सडकको छेउमा बरण्डाभार क्षेत्र रहेकाले जस्ता मानिस पनि (गाँजा र चुरोट तान्ने, गोल पोल्ने) प्रवेश गरिरहेका हुन्छन्, यस्ता कारणले पनि बरण्डाभार वनक्षेत्र डढेलोको जोखिममा रहेको डिभिजन वन कार्यालयको भनाइ छ ।
डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार विगतमा खोरिया फँडानी गर्ने प्रचलन पनि बरण्डाभार क्षेत्रमै देखिन्थ्यो । वनपैदावार सङ्कलन गर्नका लागि रुखलाई सुकाउन आगो लगाउने कार्य पनि यहीँ हुन्छ । वनभोजस्थल पनि बरण्डाभार वनक्षेत्रमै छ, यस्ता विविध कारणले चितवनको बरण्डाभार क्षेत्र डढेलोको उच्च जोखिममा रहेको पाइन्छ ।
सन् २०२४ को तथ्याङ्कअनुसार एक वर्षमा चितवनमा डढेलोका घटना २५० वटा भएका छन् । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार २०२४ मा वन डढेलोका धेरै घटना हुनेमा चितवन पाँचौँ नम्बरमा थियो । सन् २०२४ को तथ्याङ्कअनुसार एक वर्षमा नेपालभर पाँच हजार १३६ स्थानमा वन डढेलोका घटना भएका थिए जसबाट ७४ जिल्ला प्रभावित थिए, जसमा चितवन पाँचौँ नम्बरमा परेको हो ।
डढेलोको उच्च जोखिमलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय चितवनले वन डढेलो रोकथामका लागि व्यवस्थापन सप्ताह सुरू गरेको छ । वन डढेलो नियन्त्रणको फोकल पर्सनसमेत रहेका सूचना अधिकारी पौडेलले चैत १ देखि ७ गतेसम्म डढेलो नियन्त्रणका लागि सचेतना सप्ताह चल्ने बताए ।
चितवनमा रहेका ६ वटा सवडिभिजन वन कार्यालयले डढेलो नियन्त्रणका लागि सचेतना सप्ताह सुरू गरेका छन् । सूचना अधिकारी पौडेलका अनुसार ब्रोसर तथा पम्पप्लेटबाट जनचेतना जगाउनेदेखि माइकिङ गर्नेसम्मका गतिविधि भइरहेका छन् ।
चितवनमा यो वर्ष वनहरुमा डढेलो लागेको छैन, तर विगतका वर्षहरुलाई हेर्दा चैत लागेसँगै डढेलो बढी लाग्ने सम्भावना देखिन्छ । डिभिजन वन कार्यालय भरतपुरका प्रमुख थिरबहादुर कार्कीले यस आर्थिक वर्षलाई ‘चितवन शून्य डढेलो वर्ष’ घोषणा गर्न सबैलाई आह्वान गरेका छन् ।
डिभिजन वनले सुरक्षा निकायलाई अग्नि नियन्त्रक सामग्री वितरण गरेको छ । डढेलो नियन्त्रणसम्बन्धी तालिमहरु दिएको छ । वनमा अग्निरेखा बनाउनका लागि सहयोग पुग्ने औजार चितवनका सामुदायिक वनलाई वितरण गरिएको छ । यस्ता औजारले वनको पत्कर उडाउने काम गर्छ, जसका कारण आगलागी वनभरि फैलिन पाउँदैन ।
‘वनलाई आगलागीबाट मुक्त राख्न स्रोतसाधनले भ्याएसम्म लागेका छौँ, प्रभातफेरी, ¥याली, प्लेकार्ड, फ्लेक्स बोर्ड तथा सचेतनाका अन्य गोष्ठी तथा सेमिनारहरु गरेका छौँ’, सूचना अधिकारी पौडेलले भने, ‘डढेलोबाट हुने हानिको विषयमा जानकारी गराउँदै प्रचारप्रसारको कामलाई तीव्र पारेका छौँ ।’ विगतका वर्षहरुमा झैँ यसवर्ष वनदस्ता खडा गर्ने काम डिभिजन वनले गरेको छैन ।
वनमा लाग्ने डढेलोले विशेषगरी हुर्कंदै गरेका लाथ्रा बिरूवामात्रै नभएर वन्यजन्तुको फूल, बच्चा, चराचुरूङ्गी, घस्रने जनावरलगायतका प्राणीको नाश गर्छ । चित्तल, जरायोलगायतका वन्यजन्तुको बासस्थान सखाप पार्छ । साना वन्यजन्तुको वंश नाश हुन्छ । वन्यजन्तु असुरक्षित र विस्थापित हुने खतरा बढ्छ । घाँस तथा पानीका मुहान सुक्नेजस्ता समस्याले वन्यजन्तुलाई प्रत्यक्षरुपमा असर पु¥याउँछ । विगतका वर्षमा वनमा लागेको डढेलोका कारण चितवनमा विमान अवतरणसमेत हुन सकेको थिएन ।
वन डढेलोले वन, वन्यजन्तु र वातावरणलाई मात्रै असर गर्दैन मानिस, जल, जलाधार, जंगल, जनावर, जडीबुटी एवं जैविक विविधतालाई पनि ठूलो नोक्सानी पु¥याउँछ । यसबाट उत्सर्जन हुने विशाक्त वायुका कारण जलवायु परिवर्तनमा समेत प्रभाव पर्छ ।
नेपालमा २०५७ सालयताको तथ्याङ्कका आधारमा ४२ हजारभन्दा बढी वनक्षेत्र डढेलोबाट नष्ट भएको छ । चितवनमा २ लाख २३ हजार ९ सय ७० हेक्टर वनक्षेत्रले ओगटेको छ । जसमा ५७ हजार ६ सय ५० हेक्टर वनक्षेत्र डिभिजन वन कार्यालयअन्तर्गत छ । जिल्लामा ९३ सामुदायिक वन, पाँच धार्मिक वन, ४३१ कबुलियती वन र १७१ निजी वन छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij