भरतपुर : भरतपुर महानगरपालिका वडा नं–१, देवघाटमा विद्युतीय शवदाह गृह निर्माण थालेको ६ वर्षमा बल्ल पूरा भएको छ । ‘कछुवा गतिमा’ निर्माण भइरहेको शवदाह गृह निर्माणको काम पछिल्लो समय द्रूतगतिमा अघि बढ्यो, फलस्वरुप अब सञ्चालनका लागि तयारी गरिएको छ ।
‘निकै लामो संघर्ष, समस्या, बाधा र अड्काउलाई फुकाउँदै शवदाह गृह निर्माणको कामलाई अन्तिम चरणमा ल्याइपुर्याएका छौँ’, सघन सहरी तथा भवन निर्माण कार्यालय चितवनका प्रमुख झपड थापाले भने । उनका अनुसार नयाँ वर्षसँगै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
‘धेरै हन्डर खाइयो, कोरोनाको कहर भोगियो, भवन निर्माण सुरू नहुँदै समस्या आयो । जुन ठाउँमा बनाउने भनिएको थियो त्यही ठाउँ नै सार्नुपर्ने अवस्था आयो । निर्माण कम्पनीलाई भुक्तानी पनि समयमा गर्न नसकिएकै हो, उनीहरुबाट पनि कमजोरी भएकै हुन्’, प्रमुख थापाले भने, ‘पछिल्लो समय युद्धस्तरमा काम भयो, आज लगभग काम पूरा भएको छ, धेरै हलुङ्गो महसुुस गरेका छौँ ।’
शवदाह गृह निर्माणमा रंगरोगनको काम बाँकी छ । शव जलाउने मेसिन फिट भइसकेको छ । झ्यालढोकामा केही काम अझै बाँकी छ । सघन सहरी तथा भवन निर्माण कार्यालयले चैतमा काम सकेर नयाँ वर्षसँगै शवदाह गृह सञ्चालनमा ल्याउने तयारी गरेको प्रमुख थापा बताउँछन् ।
निर्माण कम्पनीले दुई वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरे पनि पूरा हुन ६ वर्ष लाग्यो । निर्माणका लागि चारपटकसम्म म्याद थपियो । निर्माण कम्पनीलाई जरिवाना लगाउनेदेखि ठेक्का तोड्नेसम्मको चेतावनी दिइयो, फलस्वरुप आज यो परिणाम आएको प्रमुख थापाले बताए ।
कामको प्रगति नदेखिएपछि ग्यारेन्टी रकमसमेत जफत भएको थियो । ‘अन्ततः काम सम्पन्न भएको छ अब, सामान्य केही काम बाँकी छ । अन्तिम चरणमा म्याद थप्ने त कुरै भएन, अझै अगाडि सकिन्छ कि भनेर लागिरहेका छौँ’, उनले भने । देवघाट विद्युतीय शवदाह गृह भरतपुर महानगरपालिकाको गौरवको आयोजना हो । काम छिटो सक्न पटकपटक महानगरले पनि निर्माण कम्पनीलाई निर्देशन दिएको थियो ।
विसं २०७५ माघ ३ गते शवदाह निर्माणको जिम्मा मिलिनियम सिद्धगढी जेभीले लिएको थियो । काम नै अघि बढ्न नसकेपछि शवदाह गृहको निर्माण सम्झौता थपियो । पहिलो म्याद २०७७ साल माघ ३ गतेसम्म दिइयो । यो समयमा निर्माण नभएपछि २०७८ साल चैत मसान्तसम्म निर्माणको पुनः म्याद थपियो । चैत मसान्तसम्म पनि निर्माण नभएपछि फेरि तेस्रोपटक २०७९ साउन ३० गतेसम्म म्याद थपियो ।
पटकपटक म्याद थपे पनि निर्माण पूरा नहुँदा सर्वत्र निराशा र हैरानी खेप्नु परेको थियो । चौंथोपटक पुनः म्याद थपियो । सघन सहरी कार्यालयले चौथोपटकको म्यादभित्र अहिले काम भइरहेको जनाएको छ । संघीय सरकारको बजेटबाट मूल्य अभिवृद्धि करबाहेक नौ करोड ९२ लाखमा शवदाह गृह निर्माणको ठेक्का लगाइएको थियो । छ सय वर्गमिटरमा शवदाह गृह निर्माणको काम लगभग पूरा भएको छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष सदन बरालले शवदाह गृहमा लाइट जडानको काम अझै बाँकी रहेको बताए । उनले भने, ‘वैशाखमै सञ्चालनमा ल्याउने तयारी छ, अब काम धेरै बाँकी छैन, अब कुनै व्यवधान आउने छैन भन्ने विश्वास पनि छ ।’
देवघाट क्षेत्र विकास समिति दाहसंस्कार उपसमिति संयोजक रत्नलाल कँडेलका अनुसार चितवन, तनहुँ र नवलपरासी तीन जिल्लाको सङ्गमस्थल देवघाटमा दैनिकरुपमा समग्रमा १० वटा शवको दाहसंस्कार हुने गरेको छ । एउटा शव जल्नका लागि चार क्विन्टल दाउरा आवश्यक पर्ने उनले बताए ।
विद्युतीय शवदाह गृह सञ्चालनपछि शव दाहसंस्कारमा दाउराबाट मुक्ति मिल्नेछ । दाउराबाट दाहसंस्कार गर्दा नदी तथा वायु प्रदूषण भइरहेको छ । मेसिनबाट शवको दाहसंस्कार गर्दा एकातिर छिटो हुन्छ भने अर्कोतर्फ वायु तथा जल प्रदूषण कम हुन्छ । दाउराबाट शवको दाहसंस्कार गर्न जति खर्च लाग्थ्यो, विद्युतीय मेसिनबाट दाहसंस्कार गर्न अवश्य कम लाग्नेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij