Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

फागु पर्व : चितवनलाई तराईका जिल्लामा समेट्न थाकसको माग

फागु पर्व : चितवनलाई तराईका जिल्लामा समेट्न थाकसको माग

भरतपुर : थारु कल्याणकारिणी सभा (थाकस) चितवनले फागु पर्वको विषयमा चितवन जिल्लालाई तराईको जिल्लामा समेटिनुपर्ने माग गरेको छ । थारु जातिको विशेष पर्वमध्ये फागु पनि भएको हुँदा फागु पर्व मनाउन चितवन जिल्लामा दोस्रो दिन अर्थात् तराई बिदाको दिन सार्वजनिक बिदा हुनुपर्ने थाकस चितवनले जनाएको छ ।

थारु जातिको बसोवास रहेको चितवन जिल्लालाई सरकारले पहाडी जिल्लामा गाभेर फागु पर्वको बिदा दिने गरेको भन्दै थाकसले आपत्ति जनाएको हो ।

‘थारु जाति चितवनको भूमिपुत्र हो, त्यसैले थारु जातिको मागलाई सम्बोधन हुने गरी राज्यको निकायले बुझ्न जरूरी छ’, थाकस चितवनका सभापति ललितकुमार चौधरीले भने, ‘यसअघि चितवन जिल्लालाई तराईको जिल्लासँग फागु पर्वको बिदा दिने गरिए पनि विगत दुई वर्षदेखि पहाडी जिल्लामा गाभेर बिदा दिने गरेकोमा हामीले आपत्ति जनाएका हौँ ।’

थारु जातिको बसोवास तराईका जिल्लाहरुमा रहेको हुँदा यसवर्षको फागु पर्वमा पनि चितवन जिल्लाले चैत १ गतेलाई सार्वजनिक बिदा दिनुपर्ने उनले बताए । २०१८ सालमा स्थापना भएको थारु कल्याणकारिणी सभा चितवनले फागु पर्वलाई थारु जातिले मनाउने पर्वहरुमध्ये सबैभन्दा मह¤वपूर्ण सांस्कृतिक पर्वको रुपमा लिँदै आएकोसमेत जनाएको छ । चितवनमा करिब एक लाखको हाराहारीमा बसोवास गर्दै आएको थारु जातिको माग र चाहनाविपरीत राज्यको निकायले काम गर्न नहुने थाकस चितवनले बताउँदै आएको छ ।

थाकसको आग्रहपछि चितवनका पाँच पालिका तराई फागुकै दिन सार्वजनिक बिदा दिन तयार भएको थाकस चितवनका सचिव एवं थारु पत्रकार संघ नेपालका सङ्घीय अध्यक्ष सन्तकुमार चौधरीले जानकारी दिए ।

‘इच्छाकामनाबाहेक चितवनका सबै पालिकामा हामी पुग्यौँ । अन्य पालिकाले हाम्रो माग सम्बोधन गर्दैगर्दा भरतपुर महानगरपालिकाले अझै पनि आनाकानी गरिरहेको छ’, उनले भने, ‘महानगरपालिका पनि हाम्रो मागमा सहमत हुन आवश्यक छ ।’ थाकस चितवनले भरतपुर महानगरपालिकासँग बिदा माग गर्नका लागि बुधबार महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसँग भेट गरेको थियो ।

जितिया र यमोसामा पनि विभेद

फागु पर्वमात्रै नभई थारु जातिले मनाउँदै आएको महान् पर्व जितिया र यमोसा पर्वलाई पनि राज्यले विभेद गरेको थाकसको आरोप छ । ‘जितिया र यमोसा पर्वकै दिनमा निजी तथा सार्वजनिक विद्यालयहरुले त्रैमासिक परीक्षालगायतका कार्यक्रम राख्ने गरेको पाइन्छ’, थाकस चितवनका सभापति ललितकुमार चौधरीले भने, ‘यसले समग्र थारु जातिमाथि अन्याय भएको हामीले महसुस गरेका छौँ ।’

ती दिनहरु छल्ने गरेर शैक्षिक पात्रो बनाउन पनि शैक्षिक संस्थाहरुलाई थाकसले आग्रह गरेको छ । ‘हरेक शैक्षिक संस्थाहरुले हाम्रा महान् पर्वलाई सार्वजनिक बिदा दिई विद्यालयको नियमित कार्यक्रमहरुलाई अघि–पछि मिलाएर गर्न सकिन्छ’, उनले भने, ‘विगतदेखि नै हाम्रो माग पनि यही हो । किनकि हाम्रो जातिको संस्कार र संस्कृतिसँग जोडिएको विषयमा राज्यले पनि विभेद गर्न पाइँदैन ।’

थाकस चितवनले पहिचानका लागि आन्दोलन गर्दै आएको परिस्थितिमा सङ्गठनले उठाएको मागविपरीत काम गरेमा राज्यको हेपाहा प्रवृत्तिविरूद्धको परिस्थिति सिर्जना गर्न पनि थाकस पछि नपर्ने उनले चेतावनी दिए । संविधानको मौलिक हकसम्बन्धी धारा ३२ को उपधारा २ को भाषा तथा संस्कृतिको हकमा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हकबारे थाकस पूर्ण जानकार रहेको थाकस चितवनका सभापति चौधरी बताउँछन् ।

तर, राज्यले जुन दिन बिदा दिए पनि चितवन जिल्लामा भने दुवै दिन धुमधामका साथ फागु मनाउने प्रचलनको विकास भइसकेको छ । पहाड र तराईको सङ्गम जिल्ला भएकोले पनि चितवन जिल्लामा दुवै दिन फागु पर्वको मह¤व विशेष हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट