भरतपुर : जंगली हात्ती ‘गोविन्दे’ पछिल्लो समय आक्रामक बन्दै गइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जको जंगली हात्तीको बथानबाट छुट्टिएको ‘गोविन्दे’ले तीन जनाको ज्यान लिइसकेको छ । पटकपटक मानिसमाथि आक्रमणको प्रयास गरिसकेको छ ।
गत शुक्रबार राति सौराहा क्षेत्रमा ‘गोविन्दे’ले एक युवकको ज्यान लियो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार खैरहनी नगरपालिका–९ स्थायी घर भएका रत्ननगर–७ बस्ने ३४ वर्षका सुरेश महतोको ज्यान लिएको हो । सौराहाको चितवन एडभेन्चर होटलपछाडि शनिबार बिहानमात्रै महतोको शव भेटिएको थियो ।
गोविन्देले मानिसको ज्यान लिएको यो पहिलो घटना होइन, यसअघि पनि एक जना निकुञ्जका कर्मचारीको ज्यान लियो । पाँच महिनाको बीचमा गोविन्देले दुई जनाको ज्यान लिएको हो । गोविन्देले गत १७ असोजमा हात्ती प्रजनन केन्द्र खोरसोरका कर्मचारी जद्दु सिंह थारुलाई आक्रमण गरी ज्यान लिएको निकुञ्जका सूचना अधिकारी थापामगर बताउँछन् ।
यस्तै, २०७९ फागुन १२ मा रत्ननगर नगरपालिका–६, हात्तीसारनजिकै गोविन्देको आक्रमणबाट एक इजरायली नागरिकको ज्यान गएको थियो । ज्यान गुमाउने ३० वर्षीय स्यामुएल बोइकानार हुन् । उनलाई ढुङ्गे खोलाछेउमा हात्तीले आक्रमण गरेको हो । गोविन्देले यसअघि सुरक्षार्थ खटिएका सैनिकमाथि पनि आक्रमण प्रयास गरेको छ, स्थानीयलाई लखेटेको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का डा. अमिर सडौलाका अनुसार पछिल्लो समय गोविन्दे बढी आक्रामक देखिएको छ । उनका अनुसार सौराहाको हात्तीसारतिर ‘गोविन्दे’ देखिन थालेको ६ वर्ष भयो । यसको उमेर १८/२० वर्ष छ ।
निकुञ्जका भाले हात्तीहरु ‘धु्रवे’, ‘रोनाल्डो’, ‘मकुना’, ‘गोविन्दे’ बथानबाट छुट्टिएर एक्लो भएका छन् । कुनै समय धु्रवेको वितन्डा थियो, सबैभन्दा बढी मानिसको ज्यान लिनेमा ध्रुवे एक नम्बरमा छ । ‘पछिल्लो समय ध्रुवे, रोनाल्डो शान्त भएका छन्, उनीहरुले आफ्नो क्षेत्र पनि बनाइसकेका छन्, उमेरले पनि उनीहरु बूढो हुँदै गए । तर गोविन्देले आफ्नो क्षेत्र बनाउन सकेको छैन’, डा. सडौलाले भने, ‘क्षेत्र बनाउन पनि यो आक्रामक भएको छ, अनि गोविन्दे ‘टिनएज’मा छ । थोरै मैमत्ता भएको पनि हुन सक्छ, हात्तीसारतिर आइरहने रोनाल्डोलाई ओभरटेक गर्न खोजेको छ ।’
ध्रुवे हात्तीले २० जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको बताइन्छ । रोनाल्डोले पनि १२ जनाको ज्यान लिएको तथ्याङ्कमै देखिन्छ । रोनाल्डोले सौराहा क्षेत्रवरपर आफ्नो इलाका बनाएको छ, हात्ती प्रजनन केन्द्रमा धेरै पोथी हात्तीहरुलाई रोनाल्डोले प्रजनन गराइरहेको छ ।
‘ध्रुवेले मेघौली, टाइगर टप्स क्षेत्रलाई आफ्नो क्षेत्र बनाएको छ । रोनाल्डोको डरले धु्रवे सौराहातिर आउन सकेको छैन, तर गोविन्दे वयस्क भएर रोनाल्डोलाई पेलेर आइरहेको छ’, डा. सडौलाले भने ।
उनका अनुसार गत शुक्रबारको घटनामा गोविन्दे सहवासका लागि हात्तीसारतर्फ आएको बेला मानिससँग जम्काभेट भएपछि आक्रमण भएको हुन सक्छ । गोविन्देले सौराहादेखि ठोरीसम्मको क्षेत्रलाई आफ्नो क्षेत्र बनाउन खोजेको छ, यसका लागि बेला–बेला रोनाल्डोसँग टक्कर पर्छ, उमेरले रोनाल्डो गोविन्देभन्दा धेरै नै बढी छ ।
एक महिनाअघि जंगली हात्ती ‘मकुना’को गोली लागेर मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको नयाँ गोरखगण (क) गुल्म सौराहाका नेपाली सेनाको संयुक्त टोलीमाथि नै जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको निकुञ्जको भनाइ छ ।
‘ध्रुवे’ र ‘रोनाल्डो’ शान्त भएका छन् । मकुनाको मृत्यु भयो । अब गोविन्देबाट थप मानवीय क्षति हुन सक्ने भएकाले रातको समयमा घरबाट ननिस्कन चितवन निकुञ्जले आग्रह गरेको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार ध्रुवेले जस्तो जसलाई भेट्यो त्यसलाई आक्रमण गर्ने स्वभाव गोविन्देमा देखिँदैन, घर–घरमा गएर उसले आक्रमण गरेको छैन, जम्काभेट भएको बेला रातिको समयमा आक्रमण गरेको छ ।
‘हात्ती आएको बेला हुलहुज्जत गर्ने, राँको बाल्ने, ढुङ्गा हान्नेजस्ता प्रवृत्तिले पनि गोविन्दे आक्रामक भएको हो कि भन्ने देखिन्छ । अर्को कुरा सहवासका लागि पोथी हात्ती खोज्दै आएको बेला आक्रमण भएको हुन सक्छ’, थापामगरले भने, ‘चितवन निकुञ्जकै हात्तीको बथानबाट गोविन्दे छुट्टिएर आएको हो, बढी आक्रमणकारी नहोस् भनेर यसको दाह्रा काट्ने काम पनि गरिएको छ, रेडियो कलर पनि भइसकेको छ ।’ उनका अनुसार गत कार्तिकमा निकुञ्जका कर्मचारीमाथि आक्रमण गरेपछि गोविन्देको दाह्रा काट्ने र रेडियो कलर गरिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij