माडी : माडी नगरपालिका–६ मा पर्ने पुष्प–मदन स्मृति वाटिकामा पछिल्लो समय पूर्वाधार थपिँदै छन् । वाटिकामा बालबालिकाहरुका लागि स्वीमिङ पुलको एक कार्यक्रमअन्तर्गत नगरप्रमुख ताराकुमारी काजी महतोले शिल्यानास गरिन् ।
वाटिकामा सिसमहललगायतका थप संरचना निर्माण गरिँदै छ । यहाँ दुईवटा पिकनिक स्पट छन् भने चितवनकै पहिलो स्काई चेयर, नमुना जहाज र बाल उद्यानहरु निर्माण गरिएको छ । अहिले वाटिकामा टावर, पिङ, बाल उद्यान, वनभोजस्थल, गोलघर, सभाहलको निर्माण कार्य सम्पन्न भइसकेको छ भने पारिवारिक वनभोजस्थल, खोज अनुसन्धान कक्ष, जीवजन्तु उद्धार तथा पुनस्र्थापन केन्द्र निर्माण भइरहेको पुष्प–मदन वाटिका सञ्चालन समितिका उपाध्यक्ष श्रीप्रसाद दवाडी बताउँछन् ।
स्वर्गीय नेताहरु पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा निर्माण गरिएको वाटिकामा होटलसहितको भ्यू–टावर, बाल उद्यान, एकता स्तभ्भ, पुष्पलाल र भण्डारीको सालिक, वनभोजस्थल र सभाहल रहेको उनले बताए । टावरबाट माडी नगरपालिकाका मह¤वपूर्ण दृश्यसहित भरतपुरको गोलाघाटसम्मका दृश्यहरु हेर्न सकिने गरी डिपीआर तयार गरिएको छ ।
वाटिकाको अवलोकन गर्नका लागि प्रवेश शुल्क २० रूपैयाँ तोकिएको छ । स्काई चेयर चढेको प्रतिपर्यटक १०० र जहाज चढेको प्रतिपर्यटक ५० रूपैयाँको टिकटकको व्यवस्था गरिएको छ । वाटिकामा रहेको दृश्यावलोकन स्तम्भबाट माडीको फाँट, नवलपुरको दाउन्ने क्षेत्र र धौलागिरि, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । कल्याणपुर गाविस कायम हुँदा नै भ्यू–टावर निर्माण गरिएको थियो । पछि मर्मत गरेर जीर्णाेद्धार गरिएको हो । बालबालिकाहरु खेल्ने बाल उद्यान, भ्यू–टावरमा चढेर माडीको दृश्यावलोकन गर्न सकिन्छ ।
वाटिकासँगै रहेको भ्यू–टावरले पर्यटकको अझ मन लोभ्याउने गरेको छ । वाटिका घुम्नका लागि आन्तरिक र बाह्य पर्यटकहरु उल्लेखनीयरुपमा आउने र उनीहरु मनमोहक वातावरणमा रमाउने गरेका छन् । बालबालिकासहित परिवारसँग समय बिताउनका लागि बाल उद्यान र मनोरम स्थलसहितको भ्यू–टावर भएकाले पर्यटकहरु बिदा मनाउनका लागि त्यस ठाउँमा आउने गरेका छन् ।
पुष्प–मदन वाटिका क्षेत्रभित्र भ्यू–टावरसँगै रहेको घुम्ने (रोटेटिङ) मोडलको सो स्काई चियर माडी नगरपालिकाको सहयोगमा निर्माण भएको हो । साहसिक खेलका रुपमा लिइने स्काई चियर सञ्चालनमा आएसँगै पुष्प–मदन स्मृति वनवाटिकामा पर्यटकहरुको आकर्षणको थप एक विशेषता थपिएको छ ।
वाटिकामा विशेषगरी शनिबार र बिदाका दिनहरुमा पिकनिक तथा घुमफिरका निम्ति आउनेहरुको चहलपहल हुने गर्दछ । साथै पछिल्लो समयमा वाटिकामा निर्माण गरिएका वन्यजन्तुहरुको मूर्तिले वाटिकामा थप सुन्दरता बढेको छ ।
वाटिकासँगै माडी भ्यू सामुदायिक होमस्टे पनि रहेको छ । पर्यटकहरुलाई बस्नका लागि होमस्टेमा सातवटा घरहरु रहेका छन् । संस्कृति र प्रकृतिलाई पर्यटनसँग जोडेर आयआर्जन गर्ने अवधारणाका साथ घरवास सञ्चालन गरिएको सल्लाहकार श्रीप्रसाद दवाडीले बताए । “घरवास थोरै भएको छ, थप्ने तयारीमा छौँ । विदेश गएर फर्किएकाहरु पनि घरवासमा आबद्ध भएका छन्”, उनले भने ।
भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गको तमूचोकबाट साढे दुई किलोमिटरको दूरीमा घरवास पुग्न सकिन्छ । घरवासको एउटा कोठाको ५०० लिइन्छ । एउटा कोठामा तीनवटा शøया छन् । सादा खानाको एक सय ५० लिइन्छ । सादा खानामा दूध, दही र घिउमध्ये एक अनिवार्य गरिएको छ । चिकन खाना एक सय ५० र मटन खानाको ३०० मूल्य तोकिएको छ ।
होमस्टेमा आउने पाहुनाहरुलाई पुष्प–मदन वाटिकाको भ्यू टावरबाट समग्र माडीको अवलोकन गराइने र लोकदोहोरीलगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरु देखाएर मनोरञ्जन गराइने हुँदा पर्यटकहरुको आकर्षण बढेको होमस्टे सञ्चालक समितिका अध्यक्ष खडानन्द अधिकारीले जानकारी दिए ।
आउँदो नयाँ वर्षसम्ममा होमस्टेहरु थपेर ११ वटा पु¥याउने योजनाअनुसार काम अगाडि बढिरहेको अधिकारीले बताए । घरवासमा आउने पाहुनालाई स्वागतसत्कारसँगै पञ्चेबाजा बजाइन्छ । लोकसंस्कृति र भजनले मनोरञ्जन प्रदान गरिन्छ ।
पुराना संस्कृतिहरु लोप हुने अवस्थामा रहेका कारण त्यसको जगेर्ना गर्न र पाहुनालाई मनोरञ्जन प्रदान गर्न लोकभजन गाउने गरिएको उनले बताए । क्षत्री र बाहुन बाहुल्य गाउँमा सबै समुदायका मानिसहरुको बसोवास छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij