खैरहनी : खैरहनी नगरपालिकाले गरिब तथा विपन्न परिवारका बालबालिकाहरुको शिक्षामा पहुँच वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरेको समुदायमा आधारित गृहकार्य कक्षा प्रभावकारी बन्दै गइरहेको पाइएको छ । गृहकार्य कक्षाप्रति बालबालिकाको आकर्षण बढेको छ भने अपेक्षाकृत प्रतिफलसमेत प्राप्त भएको नगरपालिकाले जनाएको छ । सो नगरपालिकाले पठन संस्कृतिको विकास गर्दै नगरको शैक्षिक विकासका लागि आर्थिक वर्ष २०८०÷८१ देखि गृहकार्य कक्षा सञ्चालन गर्दै आएको छ ।
नगरपालिकाले हाल ३० सामुदायिक विद्यालय र २ सामुदायिक भवनसहित ३२ स्थानमा गृहकार्य कक्षा सञ्चालन गर्दै आएको छ । गृहकार्य कक्षामा कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विपन्न समुदायका १ हजार १७१ जना विद्यार्थी सहभागी छन् । गृहकार्य कक्षामा बालबालिकालाई पढाउन ३४ जना सहजकर्ता शिक्षक परिचालन गरिएको छ ।
गृहकार्य कक्षा सञ्चालनका लागि नगरपालिकाले वार्षिक १२ लाख रूपैयाँ लगानी गरेको मेयर शशिकुमार खनियाँले जानकारी दिए । ‘लगानीअनुसारको प्रतिफल प्राप्त हुने सङ्केत देखिएको छ’, उनले भने, ‘यसले समग्र नगरको शिक्षामा सकारात्मक प्रभाव पर्ने छ ।’ गृहकार्य कक्षा सञ्चालनबाट घरमा अध्ययन गर्ने वातावरण मिलाउन कठिन विपन्न बस्तीका बालबालिकालाई बिहान–बेलुका शिक्षकको सहयोगमा गृहकार्य गर्ने र नयाँ कुरा सिक्ने अवसर प्रदान गरिएको उनले बताए ।
‘बालबालिकाको पहिलो विद्यालय भनेकै आफ्नो घर हो’, उनले भने, ‘घरमै पढ्ने बानीको विकास अनिवार्य सर्त हो ।’ बिपन्नताको कारण अभिभावकले बालबालिकालाई समय दिन नसक्ने अवस्थालाई मध्यनजर गरी बालबालिकालाई पढ्ने वातावरण सृजना गर्न गृहकार्य कक्षा सञ्चालन गरिएको भन्दै मेयर खनियाँले घरमा पढ्ने ठाउँसमेत व्यवस्थित नभएका बस्तीमा कक्षा सञ्चालन गरिएको र यसले बालबालिकामा पढ्ने बानीको विकास गराएको बताए ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले नगरपालिकाले गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि गृहकार्य कक्षा सञ्चालन गरेको भन्दै गृहकार्य कक्षा सञ्चालनले विद्यार्थीको सिकाइ सुधार गरेको बताए । उनले सामुदायिक विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै अपेक्षाकृत नतिजा निकाल्ने गरी काम भइरहेको बताए ।
नगर शिक्षा अधिकारी राजु बानियाँले खैरहनीमा बिहान सात बजेदेखि नौं बजेसम्म र बेलुका साढे ४ बजेदेखि ६ बजेसम्म कक्षा सञ्चालन भइरहेको जानकारी दिए । गृहकार्य कक्षा सञ्चालनले विद्यार्थीको शैक्षिकस्तरमा सकारात्मक प्रभाव पारेको भन्दै उनले कार्यक्रमलाई अझ व्यवस्थित गर्दै लैजाने बताए ।
यसैबीच, गृहकार्य कक्षाको प्रभावकारिताको मूल्याङ्कन गर्न नगरपालिकाले समीक्षा गरेको छ । सहजकर्ता शिक्षकहरुको अनुभव, चुनौती र सुझाव सङ्कलनसमेत गरिएको कार्यक्रममा सहजकर्ता शिक्षकहरुले बालबालिकाको अध्ययनमा गृहकार्य कक्षाको प्रभाव अत्यन्त सकारात्मक रहेको बताएका छन् । बालबालिकालाई नियमित गृहकार्य गराउनेमात्रै नभएर तिनको सिकाइ सुदृढसमेत भएको भन्दै सहजकर्ता शिक्षकहरुले विपन्न परिवारका बालबालिकाका लागि यो कार्यक्रम जीवन परिवर्तन गर्ने अवसर बनेको बताए ।
सहजकर्ता शिक्षकहरुले केही ठाउँमा अध्ययन सामग्री अभाव रहेको र अभिभावकहरुको संलग्नता बढाउन थप पहल आवश्यक रहेको सहजकर्ता शिक्षकहरुले बताएका छन् । कार्यक्रममा मेयर खनियाँ, उपमेयर कविता उप्रेतीसहितका जनप्रतिनिधि तथा सहजकर्ता शिक्षकहरुको उपस्थिति थियो । खैरहनीमा ५१ विद्यालय रहेका छन्, तीमध्ये २७ सामुदायिक छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij