Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

लंकूमा भएको श्रीमद्भागवत ज्ञानमहायज्ञ सम्पन्न, दुई करोड ३० लाख संकलन

लंकूमा भएको श्रीमद्भागवत ज्ञानमहायज्ञ सम्पन्न, दुई करोड ३० लाख संकलन

चितवन : भरतपुर–४ लंकूस्थित हरिकीर्तन धार्मिक संस्था (लक्ष्मीवेङ्कटेश मन्दिर)मा फागुन १ देखि सुरु भएको श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ आज सम्पन्न भएको छ । महायज्ञको समापनका दिन आज सवा करोड दीप प्रज्वलन गरिएको थियो ।

नौ दिनसम्म चलेको महायज्ञमा दुई करोड ३० लाख रुपैयाँ संकलन भएको आर्थिक संयोजक भानुभक्त कँडेलले जानकारी दिए । महायज्ञको समापन समारोहमा प्रधान यज्ञाचार्य टीकाराम गुरु र प्रमुख वाचक स्वामी डा चक्रपाणि आचार्यलाई अभिनन्दन गरिएको थियो।

शुकदेव भागवत आश्रम गैँडाकोटका उत्तराधिकारी श्रीवैष्णव युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष स्वामी लक्ष्मणाचार्यको प्रमुख आतिथ्यता तथा लक्ष्मीनारायण मन्दिर देवघाटका पीठाधीश श्रीधराचार्य, रङ्गवेङ्कटेश मन्दिर फेदी बाग्लुङका महन्त ऋषिप्रपन्नाचार्य, पूर्व उपप्रधानमन्त्री राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपा एमालेका नेता देवी ज्ञवाली, भरतपुर–४ का वडा सदस्य राधादेवी कँडेल लगायतको उपस्थिति रहेको थियो ।

शालग्रामाचार्य गुरु आश्रम, नाग्लिवाङका आचार्य नारायणाचार्य स्वामी (टीकाराम गुरु)को प्रधान यज्ञाचार्यत्व, मन्दिरका अध्यक्ष तथा पीठाधीश स्वामी अनन्तप्रपन्नाचार्य ‘अखण्ड हरिकीर्तन बाबा’को सत्संकल्प एवम् डा चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा महायज्ञ सम्पन्न भएको हो ।

महायज्ञमा फागुन ५ गते कमलनयनाचार्य र मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उद्घाटन, संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबालाई आचार्य र महन्तमा पट्टाभिषेक एवम् प्रधान यज्ञाचार्य टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन गरिएको मिडिया संयोजक माधव सापकोटाले बताए ।

महायज्ञमा नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्य ‘मुक्तिनाथ बाबा’, शान्तिधाम काभ्रेका पीठाधीश स्वामी चतुर्भुजाचार्य लगायतका प्रमुख सन्तमहात्माहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट