दाङ : अर्घाखाँची-लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु हुँदैछ । सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गर्न लागेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आज आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । एकसाथ १७ वटा विद्यालयबाट अभियानको सुभारम्भ गरिदैछ ।
‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन यो अभियान आवश्यक परेको हो’ मुख्यमन्त्री आचार्यले भन्नुभयो- ‘७१ प्रतिशत बालबालिकाको रोजाइ बन्न सफल सामुदायिक विद्यालयप्रति अझै भरोसा र विश्वास बढाउन जरुरी छ ।’
सार्वजनिक बिद्यालको साख र गरिमालाई कायम गर्न सबै सरोकारवालाको सामुदायिक विद्यालय प्रतिको जवाफदेहिता वृद्दि गर्न प्रदेश सरकारको नीति कार्यक्रममा मेरो विद्यालय मेरो दायित्व सामाजिक अभियान समावेश थियो ।सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेशभरका सामुदायिक विद्यालयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिन थाले जानकारी दिनुभएको छ ।
यो अभियानमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ । गत वर्ष एसईईको नतिजा कमजोर आएपछि सुधारका लागि थालिएको यो अभियानले विद्यार्थीमा गुणस्तरीय सिकाइ अभिबृद्धि गर्न पूर्वविद्यार्थीको योगदानलाई समेट्ने विश्वास गरिएको छ ।आफूले पढेको विद्यालयका बारेमा जानकारी लिन, पूर्व र वर्तमान विद्यार्थीबीच अन्तरक्रियागरी शैक्षिक अवस्था सुधार्न यो अभियान प्रभावकारी हुने विश्वास लिइएको छ ।
प्रदेशमा ६ हजार तीन सय ४० विद्यालय छन् । जसमध्ये चार हजार पाँचसय ३१ सामुदायिक विद्यालय छन् । यी विद्यालयमा अध्ययनरत १२ लाख ८८ हजार दुई सय ९८ विद्यार्थीमध्ये नौ लाख २५ हजार छ सय २९ जना विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij