Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

प्रजातन्त्र दिवसमा बुद्धिजीवीहरुको चिन्ता : प्राप्त उपलब्धि समाप्त हुने खतरा !

प्रजातन्त्र दिवसमा बुद्धिजीवीहरुको चिन्ता : प्राप्त उपलब्धि समाप्त हुने खतरा !

भरतपुर : ७५औँ प्रजातन्त्र दिवस चितवनमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा बुधबार नेपाल बुद्धिजीवी सङ्गठन, जिल्ला समन्वय समिति चितवनको आयोजनामा २००७ देखि २०६२/६३ सालसम्मका राजनीतिक परिवर्तनमा बलिदान र योगदानहरुको समीक्षा तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । विभिन्न समयमा भएका जनविद्रोह र जनआन्दोलनले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अझै परिवर्तन हुन नसकेको अन्तक्र्रियामा सहभागी बुद्धिजीवीहरुले बताएका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठन, चितवनका संयोजक विनोदखण्ड तिमिल्सेनाले कार्यक्रममा अवधारणापत्र प्रस्तुत गरेका थिए । उक्त अवधारणापत्रमाथि बुद्धिजीवीहरुले टिप्पणी गर्ने क्रममा जनविद्रोह र जनआन्दोलनको बलमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै पक्ष एक हुनुपर्ने बताए । २००७ साल फागुन ७ गतेका दिन १०४ वर्षे जहानियाँ राणाशासनको अन्त्य भएको थियो ।

त्यसअघि अवधारणापत्र प्रस्तुत गर्दै तिमिल्सेनाले जनयुद्ध र जनआन्दोलनका मुद्दाहरु र एजेन्डामा देशको शासनव्यवस्था परिवर्तन भइसक्दा पनि ‘जसको नीति, उसको नेतृत्व’ नहुँदा कार्यान्वयन र जनजीवनमा अपेक्षित परिवर्तन आउन नसकेको बताए । यसतर्फ सबै दलको गम्भीर समीक्षासहित आत्ममूल्याङ्कन र बहसको खाँचो रहेको उनले बताए ।

‘नेपाली जनताका दशकौँ लामो त्याग, बलिदान र उत्सर्गबाट प्राप्त राजनीतिक परिवर्तनपछि पनि नेपालको अर्थतन्त्रमा परनिर्भरता, व्यापार घाटाको भयावह अवस्था, चरम राजनीतिक दाउपेच र सुविधाजनक बहुमत पाउँदासमेत राजनीतिक अस्थिरता उदेकलाग्दा विषय हुन्’, उनको अवधारणा पत्रमा उल्लेख छ ।

नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य दीपक शिवाकोटीले २०४२ सालको क्रान्तिले गणतन्त्रको चेतनाबोध गराएको बताए । पछिल्लो समय चिनजान र प्रभावका आधारमा मात्रै अवसर पाउने अवस्था आएको भन्दै उनले राजनीतिक दलहरु सत्ताको घिनलाग्दो खेलमा केन्द्रित भएको बताए । विभिन्न कालखण्डमा भएका जनविद्रोहपछि प्राप्त उपलब्धिलाई समाप्त पार्ने खालका गतिविधिहरु भइरहेकोमा उनले चिन्ता व्यक्त गरे । ‘प्राप्त उपलब्धिलाई जोगाउन र प्रचार गर्न गणतन्त्र पक्षधरहरु सङ्गठित हुन आवश्यक छ’, उनले भने ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्गठनका केन्द्रीय उपाध्यक्ष अनन्तप्रसाद ढुङ्गानाले गणतन्त्र प्राप्तिका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले देखाएको रबैया सहयोगसिद्ध भएको बताए । जनयुद्धका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनआन्दोलन २०६२/६३ पछि सत्तामोहमा लाग्नु कमजोरी भएको उनले बताए । ‘अहिले कुनै पनि पार्टीलाई भोट हाल्ने कार्यकर्ता वा भोट दिने जनता त्यस पार्टीप्रति सन्तुष्ट भएको अवस्था छैन’, उनले भने । शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ताका लागिमात्रै राजनीति गरेको कुराको महसुस जनताले गरेको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार भीमराज अधिकारीले २०१८ सालमा चितवनमा पनि ठूलो विद्रोह भएको बताउँदै उक्त इतिहासलाई अवधारणापत्रमा समावेश नगरिएको बताए । त्यतिबेला राज्यपक्षबाट कांग्रेसका धेरै विद्रोही नेता मारिएको उनले सुनाए । त्यस्तै, २०४६ साल र २०५२ सालमा चितवनका धेरै विद्रोहीहरु शहीद भएको स्मरण गर्दै उनले ती घटनालाई पनि अवधारणापत्रमा समावेश गर्न सुझाव दिए । पछिल्लो समय देशमा भ्रष्टाचार व्यापकरुपमा बढेको बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ विद्रोहमा जाने कि भ्रष्टाचारमा रूमल्लिने भन्ने प्रश्न खडा भएको बताए ।कार्यक्रममा प्राध्यापकहरु नारायण रेग्मी, केदार बराल, ऋषि कट्टेललगायत विभिन्न सरोकारवालाहरुले आफ्ना टिप्पणी राखेका थिए ।

प्रजातन्त्र दिवसमा साइकल ¥याली

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा रोटरी क्लब चितवन, भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियन, नेपाल पत्रकार महासंघ, चितवनलगायतको संयुक्त आयोजनामा साइकल र्‍याली सम्पन्न भएको छ ।

‘साइक्लिन फर गुड हेल्थ’भन्ने नाराका साथ सो र्‍याली भरतपुर अस्पतालबाट सुरू भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, चितवन रोटरी क्लबका अध्यक्ष भानु शर्मा, भरतपुर अस्पतालका अध्यक्ष एवम् रोटरी क्लब चितवनका पूर्वअध्यक्ष राजु पौडेल, मेडिकल प्रमुख एवम् क्लबका उपाध्यक्ष डा. कृष्ण पौडेल, कर्मचारी संघका अध्यक्ष डा.दिपेन्द्र न्यौपाने, साइकल राइडर्स क्लबका पदमबहादुर बानियाँलगायतले मन्तव्य राखेका थिए ।

प्रमुख जिल्ला अधिकारी पौडेलले अहिलेको जीवनशैली चलायमुखी नभई बस्ने बाँनीले धेरै नसर्ने रोग बढेको अवस्थामा साइकल चढ्ने बानी बसाले फाइदा हुने बताए । रोटरी क्लब चितवनका अध्यक्ष भानु शर्माले सहभागीहरुलाई धन्यवाद दिदैँ स्वास्थ्य सचेतनाका लागि साइकल अभियान सबैले अपनाउन जरूरी रहेको बताए ।

कार्यक्रममा रोटरी क्लबका पूर्वअध्यक्ष राजु पौडेल, उपाध्यक्ष रामचन्द्र अधिकारी, डा. कृष्ण पौडेल, सहसचिव एवम् कार्यक्रम संयोजक जनक ढकाल, पूर्ण सुवेदी, उदयकृष्ण श्रेष्ठ, प्रभा गुरूङ, गुन्जन मास्के र नेपाल पत्रकार महासंघका अध्यक्ष वसन्त पराजुलीसहित करिव १०० जनाको उपस्थिति रहेको थियो ।अस्पतालबाट सुरू भई बाइपास रोड हुँदै देवघाट पुगी विशाल चोक, वीरेन्द्र क्याम्पस हुँदै चौबिसकोठीमा उक्त कार्यक्रम समापन भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट