भरतपुर : उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिहरुले बजारमा पाइने कुखुराको मासुमा अत्यधिक एन्टिबायोटिक हुने भन्दै खानै डर लाग्ने अवस्था सिर्जना भएको बताएका छन् ।उपभोक्ता हित संरक्षणका लागि अण्डामा लेबल र कुखुराको मासुमा एन्टिबायोटिकको अवशेषको अवस्था र नीतिगत सुदृढीकरण आवश्यकता विषयक अन्तर्क्रिया कार्यक्रममा उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिहरुले लेयर्स वा ब्रोइलर कुखुराको मासुमा एन्टिबायोटिकको मात्रा झन् बढ्दै गएको दाबी गरे ।
कार्यक्रममा चितवनका पोल्ट्री व्यवसायी तथा किसानहरुले कुखुरापालनमा एन्टिबायोटिक प्रयोग नभएको र मासु सेवन गर्दा डराउन नपर्ने बताए । उपभोक्ता अधिकार मञ्चका प्रतिनिधिहरुले कुखुरामा एन्टिबायोटिकको अवशेषको कुरा गर्दा व्यवसायी तथा किसानहरुले यसको खण्डनसमेत गरेका थिए ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव विष्णुप्रसाद तिमिल्सिनाले एन्टिबायोटिकको प्रयोग नियन्त्रणबाहिर गएको र मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको बताए । उनले भने, ‘एन्टिबायोटिक औषधि होइन, यसलाई एन्टिबायोटिकको रुपमा मात्र लिनुपर्छ, राज्यको स्पष्ट नीति नहुँदा मनलाग्दी एन्टिबायोटिकको प्रयोग भइरहेको छ ।’
उनका अनुसार एन्टिबायोटिक औषधियुक्त कुखुराको मासु सेवन गर्नाले शरीरले बिस्तारै एन्टिबायोटिक्सविरूद्धको प्रतिरोधक क्षमता विकास गर्न छोड्छ, औषधि खुवाइएका कुखुराको मासु खानाले मानिसको शरीर त्यस एन्टिबायोटिक प्रतिरोधी बन्न जाने र त्यसपछि रोग लागेको बेला उक्त एन्टिबायोटिक औषधि खाँदा त्यसले काम नगर्ने समस्या पैदा हुन्छ ।
उनले मासुको गुणस्तर जाँच पनि हुन नसकेको बताए । उनले भने, ‘यसमा स्थानीय सरकार पनि गम्भीर बनेको छैन, उपभोक्ताको अधिकार खोसिएको छ ।’ उनले अण्डाको लेबलिङ, उपभोक्ता अधिकार, स्वास्थ्य र सुरक्षा, कानुनी विषयमा प्रस्ट पारेका थिए ।
कार्यक्रममा पोल्ट्री व्यवसायी तथा उद्योग संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेलले ब्रोइलर वा लेयस कुखुरामा एन्टिबायोटिकको प्रयोग नभएको बताए । उनले भने, ‘कुखुराको मासुमा एन्टिबायोटिक हुन्छ भनेर डराउनै पर्दैन, एन्टिबायोटिक प्रयोग भएकै छैन, एन्टिबायोटिकले कुखुराको वजन घटाउँछ, तन्दुरूस्त राख्दैन, महँगो पनि हुन्छ, अनि किन प्रयोग गर्ने ?’
उनले कुखुराको मासुको सेवन गर्दा हुने फाइदा, उपभोक्ता अधिकार, अण्डाको फाइदाजस्ता विषय पाठ्यक्रममा राख्नुपर्ने सुझाव दिए । कार्यक्रममा उनले भने, ‘गलत सन्देश दिएर दिग्भ्रमित नपारौँ, नेपालमा उत्पादित कुखुरा स्वस्थकर छन्, एन्टिबायोटिक प्रयोग भएको छैन ।’कार्यक्रममा भेटेरिनरी व्यवसायी नारायणप्रसाद कँडेलले पशु वधशाला हुनुपर्ने बताए । उनले भने, ‘सबैको मापदण्ड छ, नियम छ । त्यसलाई कार्यान्वयन गर्न बाँकी छ, कार्यान्वयन गरौँ ।’
कार्यक्रममा उपभोक्ता अधिकार संरक्षण मञ्चका चितवन अध्यक्ष शैलेन्द्र श्रेष्ठले मासु जाँच हुन नसकेको बताए । उनले भने, ‘एकातर्फ एन्टिबायोटिक प्रयोग भएको छैन भनिन्छ, अर्कोतर्फ प्रयोग भएको छ भनिन्छ । यस्तो कुरा आउनुको कारण मासु जाँच हुन नसकेर हो ।’ उनले मापदण्ड पालना भए/नभएको, मासु जाँच भए/नभएको स्थानीय तहले हेर्नुपर्ने भन्दै जाँच भएन अनि आफ्नो तरिकाले व्याख्या भएको बताए ।पोल्ट्री व्यवसायी वीरबहादुर गुरूङले अनुगमन गर्न जरूरी रहेको बताए । उनका अनुसार स्थानीय तहले कानुनहरु बनाउन जरूरी छ ।
अन्तक्र्रियामा एनिमल नेपालका केन्द्रीय संयोजक सुलोचना राणा, जिल्ला संयोजक रामचन्द्र आचार्यलगायतले मन्तव्य दिएका थिए । अधिवक्ता सुविन पाण्डेले कानुनका विषयमा प्रशिक्षण दिएका थिए । उपभोक्ता अधिकार संरक्षण मञ्च नेपाल र एनिमल नेपालले संयुक्तरुपमा अन्तर्क्रिया कार्यक्रम गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij