शुक्रनगर : भरतपुर महानगरपालिका–२५, शुक्रनगर निमचोकका धर्मराज खनाल कुखुरापालन र मासु प्रशोधन गरेर समाजमा उदाहरणीय बनेका छन् । उनको व्यवसाय चितवनमै नमुना बनेको छ । पश्चिम चितवनमै एकमात्र मासुजन्य पदार्थको निम्ति ३० टन क्षमताको कोल्ड स्टोर निर्माण गरेर चितवनका फाइभ स्टार होटलहरुलाई समेत मासुको अपूर्ति गरेका छन् ।
उद्यमी खनालले भरतपुर–२५, शुक्रनगरमा आदर्श एग्रो ब्रिडिङ तथा रिसर्च सेन्टर सञ्चालन गरेका छन् । ‘गाउँका युवा साथी रोजगारीका क्रममा सहरबजार तथा वैदेशिक रोजगारीमा पुगेका छन् । गाउँ नै युवा नरहने अवस्था आयो, यहीँ केही गरौँ भनेर कुखुरापालन तथा मासुजन्य पदार्थको बेचबिखनमा लागेको छु’, उनले भने, ‘यो व्यवसाय देखेर अरुले पनि केही सिको गरुन् भन्ने मेरो चाहना छ ।’ उनी २०७४ सालदेखि यो व्यवसायमा आबद्ध छन् ।
उनले कुखुराको मासु, पाङ्ग्रा, पखेँटा, ब्रेस्ट, पिकेन मम, अण्डा, लेग बोनलेस तथा हाँस र खसीको मासुसमेत चितवन र अन्य विभिन्न जिल्लामा समेत सप्लाइ गर्दै आएका छन् । ‘विदेशमा गएर पसिना बगाउनुभन्दा यहीँ केही गरौँ भन्ने विचारले व्यवसाय थालेँ, परिवारसँगै बसेर पनि विदेशको जति पैसा कमाउन सकिने रहेछ’, ३५ वर्षीय युवा उद्यमी खनालले भने, ‘कुखुरापालन व्यवसाय निकै जोखिमपूर्ण हुन्छ, छ महिनासम्म हुर्काएका कुखुराले फुल पार्न थालेपछि आम्दानी हुन्छ, त्यो समयसम्म लगानीमात्रै गर्ने हो । बजार अस्थिर छ, अण्डाको मूल्यमा उतारचढाव हुन्छ तर हिम्मत हारिएन त्यसैले अहिले टिक्न सफल भएको छु ।’
उनले आफ्नै जग्गामा खोर बनाएर कुखुरापालन गरेका छन् । मासिकरुपमा आफैँले १० हजार कुखुरा तयार गर्छन् र २० हजार अन्य कुखुरापालन गर्ने व्यवसायीका कुखुरा गरिद गरेर मासुजन्य पदार्थहरुको उत्पादन र बजारीकरण गर्छन् ।
‘धेरैपटक असफलता व्यहोर्न प¥यो, केही वर्षअघि शारदानगरमा करिब २० हजार कुखुरा रोगको कारण खाल्डोमा गाड्न प¥यो, यसपालि पनि दुई हजार कुखुरा मरे, त्यही असफलताबाट पाठ सिकेर अघि बढ्दा सफल भइँदो रहेछ’, उनले भने, ‘हार मानेको भए अहिले व्यवसाय छाडिसकेको हुन्थेँ, निरन्तरको प्रयासले यहाँसम्म ल्याएको छ । बजारमा लगानी फस्ने, चाहिएको औषधि नपाउने, सामान उधारो गएर पैसा नउठ्ने समस्या भने छ ।’
कुखुरा बिक्रीका लागि बजारको समस्या छैन । चितवनमा सहजै बिक्री हुने गरेको खनालले बताए । व्यवसाय धान्न उनले १५ जनालाई रोजगारी दिएका छन् । टिक्ने खालको संरचना बनाएर व्यवसाय गरेका छन् । गाउँमा व्यवसाय गर्दा केही चुनौती रहेको, कुखुरामा देखिने विभिन्न रोगले सताउने गरेको भन्दै प्राविधिक र औषधि अभावमा समस्या झेल्दै आएको उनले बताए । कुखुरापालन व्यवसायलाई बढाउने सोच बनाए पनि सरोकारवाला निकायबाट सहयोग नपाएको उनको गुनासो छ ।
किसानलाई प्रोत्साहन गर्न र व्यवसाय सञ्चालन गर्न सरकारले विभिन्न अनुदानका योजना ल्याए पनि वास्तविक किसानसम्म पुग्न नसकेको उनले बताए । बागमती प्रदेश सरकारबाट १५ लाख अनुदान पाए पनि महानगर, वडा तथा ज्ञान केन्द्रबाट केही अनुदान नपाएको उनले बताए । ‘केही गरौँ भन्ने सोच बनाएका किसानले सहयोग पाउँदैनन्’, खनालले भने, ‘भनसुन र सोर्सफोर्सको भरमा अनुदान वितरण गरिँदा मेहनत गर्ने किसान मारमा परेका छन् ।’
कुखुरापालनसँगै उनले हाँसपालन पनि गरे । सडक सुविधासम्पन्न भएपछि दाना ल्याउन र मासु बिक्रीका लागि बजार लैजान धेरै सजिलो भएको उनले बताए । उनलाई यो व्यवसायले दाममात्रै नभई समाजमा नाम पनि दिएको छ । व्यवसाय थाल्नेबित्तिकै धेरै आम्दानी गर्छु भनेर गर्ने नभई कसरी लामो समयसम्म टिकाउन सकिन्छ भन्दै धैर्यका साथ काम गरियो भने अवश्य पनि सफलता मिल्ने उनले बताए । बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा, सरकारको सहयोगमा कमी, कुखुरापालन गर्नेप्रति समाजको नकारात्मक दृष्टिकोणलगायत कारणले यो क्षेत्र फस्टाउन नसकेको बताउँदै प्राविधिक सहयोग निरन्तर पाउनुपर्नेमा खनालले जोड दिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij