Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु

गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा आत्मरक्षाका लागि नेपाली सेनाले चलाएको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ ।चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरमा पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा बुधबार दिउसो गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।गत असोज देखि मकुना मानव बस्तीमा पसेर स्थानीयलाई आतंकित बनाउदै आएको थियो । पटक पटक मकुनालाई बस्तीमा पसेको बेला निकुञ्जका हात्तीको सहयोगमा लखेटेर जंगल पठाउदै आईएको थियो ।बुधबार दिउसो मानव बस्ती प्रवेश गर्न लागेको सुचना पाए पछि लखेटेर कोर एरियामा पठाउनका गएको नयाँ गोरख गण (क) गुल्म सौराहाका नेपाली सेना र निकुञ्जका हात्ती गस्ती टोलिलाईनै आक्रमण गर्न आउने क्रममा चुरेगज हात्तीलाई मकुनाले आक्रमणको प्रयास गरेको सूचना अधिकारी थापाले बताए ।

चुरे गज सहितको गस्ती टोलीलाई आक्रमणको प्रयास गरे पछि नेपाली सेनाले २ राउन्ड हवाई फायर गरेको थापाले बताए । हवाई फाएर गर्दा समेत नभागेर मकुनाले खगेन्द्रप्रसाद हात्तीलाई आक्रमणको प्रयास गर्दा उक्त हात्तीमा सवार निकुञ्जका रेन्जर श्याम तामाङ खसे पछि सेनाले थप तीन राउन्ड गोली चलाएको थियो । तीन राउन्ड गोली चलाउदा समेत नभागेर मकुनाले गस्ती टोलीलाई आक्रमण गरे पछि नेपाली सेनाको टोलीले थप एक राउन्ड गोली चलाएको र गोली लागेर एक किलोमीटर टाढा पुगेर हात्ती ढलेको सूचना अधिकारी थापाले बताए ।मकुना ढले पछि पशु चिकित्सकको टोलीले पुगेर चेकजाँच गरेर पछि मृत घोषण गरेका र पोस्टमार्टम गर्दा हात्तीको घाँटीको दाहिने तर्फ एउटा गोली फेला परेको थापाले बताए ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१मा व्यवस्था भए अनुसार आत्मरक्षाका लागि गोली चलाउनु पर्ने बाध्यात्मक अवस्था आएकाले उक्त गोली लागेर हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij