चितवन : साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे चितवन जिल्ला अदालतमा पूरक अभियोजन दर्ता भएपछि रास्वपा सभापति रवि लामिछाने गएराति नै चितवन आएका छन् । मंगलबार राति ११ बजे चितवन आएका उनी आज जिल्ला अदालतमा उपस्थित हुने बताइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको पूरक अभियोजनमा लामिछानेमाथि ठगी कसुरमा मात्र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेको अभियोग लगाइएको छ ।मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ मा ‘कसैले ठगी गर्न वा गराउन हुँदैन’ भनिएको छ ।
उपदफा २ मा ‘उपदफा (१)को प्रयोजनको लागि कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाइ, झुक्याइ वा अन्य कुनै किसिमले धोका दिइ कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि, नोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिने छ’ भनिएको छ ।
पूरक अभियोगपत्रमा अनुसन्धान प्रतिवेदन साथ प्राप्त सक्कल मिसिल संलग्न आधार प्रमाणहरूको विश्लेषणबाट रवि लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेको ठहर गरी दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय हुन मागदाबी गरिएको छ ।साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम रू ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ ।
हाल जाहेरी परेको रकम रू ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । रू ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रू १४ करोड २३ लाख छ हजार एक सय ३१ दशमलव ४७ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।
बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न छ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउने भराउनुपर्ने रकम रू ४३ करोड ३२ लाख सात हजार ९२८ दशमलव ७५ रहेको छ । व्यक्तिगत रूपमा जीवि राईबाट रू ४१ लाख ३० हजार, असरफअली सिद्दिकीबाट रू तीन करोड २० लाख र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरूङबाट रू दुई करोड ६४ लाख भराइनुपर्ने मागदाबी छ ।
लामिछानेको हकमा गोर्खा मिडिया नेटवर्कमा रू एक करोड ८० लाख रकम बराबरको शेयर रहेको देखिन्छ । गोर्खा मिडिया नेटर्वकको ग्लोबल आइएमई र हिमालयन बैंकको खातामा जीवि राई र निजको समूहले सञ्चालन गरेको सहकारी र विभिन्न कम्पनीबाट साहाराबाट रू एक करोड ग्लोबल आइएमईको खाताबाट रू तीन करोड ५० लाख जम्मा भएको उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij