Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सहारा सहकारी ठगीमा रविको दाबी ‘म गोरखा मिडियाको मालिक थिइन, कर्मचारी हुँ

सहारा सहकारी ठगीमा रविको दाबी ‘म गोरखा मिडियाको मालिक थिइन, कर्मचारी हुँ

’काठमाडौँ : चितवनको सहारा सहकारीको बचत अपचलनको अभियुक्त मध्येका एक रवि लामिछानेले आफू गोरखा मिडिया नेटवर्कको मालिक वा लगानी कर्ता नभई कर्मचारी मात्र भएको दाबी गरेका छन्। गोरखा मिडियामा उनको नाममा १५ प्रतिशत शेयर रहेको यस अगाडि नै पुष्टि भइसकेको छ। उनले पनि त्यो अस्वीकार गरेका छैनन्।

उनको नाममा कम्पनीको १५ प्रतिशत सेयर आउनु अगाडि नै प्रलिको बैंक खातामा हस्ताक्षर चल्ने गरी खाता खुलेकोसम्म पुष्टि भइसकेको छ। उनले सहकारी ठगीबारे दिएको बयानमा १५ प्रतिशत सेयर निःशुल्क लिएको र कम्पनी छाड्दा निःशुल्कै दिएर हिँडेको दाबी गरेका छन्।

कम्पनीको १५ प्रतिशत सेयर लिएर प्रबन्ध निर्देशकको रूपमा काम गरेका रविले बयानमा आफू लगानीकर्ता नभएर केवल कर्मचारी मात्र भएको र गोर्खा मिडियामा रहँदा जे जति काम गरेको हो त्यो एक जिम्मेवार कर्मचारीको रूपमा गरेको तर्क गरेका छन्।

उनले आफू कर्मचारी एवं प्रबन्ध निर्देशकका रूपमा २०७७ पुस ३० मा मासिक पाँच लाख पारिश्रमिक पाउने गरी आबद्ध भएको बताएका छन्। उनले २०७९ असार १ मा गोरखा मिडियाबाट राजीनामा दिएका थिए।

कम्पनीको प्रबन्ध पत्र र सेयर लागतमा उनी कर्मचारी नभएर सञ्चालकमध्येका एक नै रहेको पुष्टि हुन्छ। कम्पनीको निश्चित प्रतिशत सेयर लिएर उनी सञ्चालकको रूपमा गोरखा मिडियामा आबद्ध भए पनि बयानमा भने पटक-पटक आफू कर्मचारी भएको तर्क गरेका छन्।

बयान उनले आफ्नो कार्यकालमा सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलगायत कुनै पनि सहकारी संस्थाबाट ऋण लिने सम्झौता, सहमति, छलफल एवं बोर्ड निर्णय नभएको बताएका छन्।

कम्पनीमा जीवी राईले नै व्यक्तिगत ऋण उपलब्ध गराएको, कम्पनीमा नगद प्रवाहको आवश्यकता पर्दा असुरक्षित कर्जाको नाममा निज(जीवी)ले नै कम्पनीमा नगद प्रवाहको व्यवस्था गर्ने र कम्पनीको लेखामा देखिने गरेको दाबी गरेका छन्।

जीवीले नै चालु पुँजीको व्यवस्था गर्ने भएकाले उनको आवश्यकता अनुसार कम्पनीमा पुँजी आउने र कम्पनीबाट पुँजी जाने प्रक्रिया स्वाभाविक रहेको र जीवीको निर्देशन बिना कुनै पनि चेक तयार भई भुक्तानीका लागी पेस हुनै नसक्ने तर्क समेत गरेका छन्।

‘मलाई आकर्षक तलब सुविधा र मेरो विज्ञता र लोकप्रियतालाई पुँजी मानी १५% शेयर बिना लगानी उपलब्ध गराउने सम्झौता सहमति गरी ल्याइएको हो। कम्पनी सुरु गर्दा जीवी राई र छविलाल जोशी सञ्चालक थिए,’ उनले बयानमा भनेका छन् ‘उनीहरुबीचको सल्लाह सहमतिबारे मलाई जानकारी छैन। तर मलाई १५% स्वेट शेयर उपलब्ध गराउने कुरा दुवै सञ्चालकहरूको प्रस्ताव हो। गोरखा मिडिया नेटवर्कमा लगानी ल्याउने कुनै पनि कार्यमा मेरो संलग्नता र सहभागिता छैन।’

उनले जीवीमार्फत गोरखा मिडियालाई उपलब्ध गराएको भनेर आधिकारिक रूपमा लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएको रकम जीवीको निर्देशन एवं कम्पनीले गरेको सम्झौताहरू अनुरूप पदीय दायित्व र जिम्मेवारी पुरा गर्न कम्पनीको नियमावलीको अधीनमा रही काम कारबाही गरेको बयानमा दाबी गरेका छन्।

कम्पनीका चेकहरूमा हस्ताक्षर गर्ने व्यक्तिहरूमध्ये आफू पनि एक भए पनि कम्पनीको लगानीकर्ता आफू नभएको र आफ्नो जिम्मेवारी भनेको ग्यालेक्सी फोरके टिभीमा प्रसारण हुने सामग्रीमा केन्द्रित रहेको, सहकारी वा अन्य कम्पनीहरूसँग कुनै साइनो नभएको उनको तर्क छ।

‘एक व्यावसायिक सञ्चारकर्मीका हैसियतले मैले गोरखा मिडिया नेटवर्कको नियमावली तथा कार्यकारी अध्यक्ष गीतेन्द्र बाबु राईको निर्देशनमा एक जिम्मेवार कर्मचारीको भूमिका निभाएको हुँ’ उनले बयानमा दाबी गरेका छन्।

रविले बयानमा खाताको सञ्चालक वा हस्ताक्षरकर्ता हुनु भनेको उक्त खाताको आम्दानीको श्रोतबारे जानकार हुनु नभएको र त्यतिबेला आफू कम्पनीमा प्रवेश गरी नसकेको तर प्रतिबद्ध भने भई सकेकाले त्यसैको सुनिश्चितताका लागी आफूलाई पनि बैंक खातामा संलग्न गराइएको हुन सक्ने तर्क गरेका छन्।

‘भुक्तानीका लागी जारी भए‌का चेकहरू विभिन्न व्यक्ति एवं संस्थाहरूसँग गरिए‌का सहमति, सम्झौता, बोर्ड निर्णय एवं कार्यकारी अध्यक्ष गितेन्द्र बाबु राईको निर्देशन पालना गरी जारी गरिएका हुन्,’ उनले बयानमा भनेका छन् ‘के कति सङ्ख्यामा चेकहरू जारी भए त्यसको अभिलेख मसँग छैन। तर मैले कम्पनीको नियमावली एवं कार्यकारी अध्यक्षको निर्देशन बमोजिम काम कारबाही गरेको हूँ।’

उनले कुनै पनि कम्पनीको खाताको हस्ताक्षरकर्ता हुनु भनेको कम्पनीको मालिक वा लगानीकर्ता हुनु नभएको र आफू गोरखा मिडिया नेटवर्कको मालिक वा लगानीकर्ता नभई आफ्नो विज्ञता बापत प्राप्त शेयरको शेयरधनी र कर्मचारी मात्र भएको तर्क गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट