Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

साताव्यापी कार्यक्रम गरी गोल्डेन फ्युचर स्कुलले मनायो वार्षिकोत्सव

साताव्यापी कार्यक्रम गरी गोल्डेन फ्युचर स्कुलले मनायो वार्षिकोत्सव

चितवन : भरतपुर–१३ स्थित गोल्डेन फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ ।माघ १३ देखि विभिन्न शैक्षिक तथा खेलकुद गतिविधि गरी स्कुलले वार्षिकोत्सव मनाएको हो । स्कुलले अन्तरटोलस्तरीय आमा समूह हाजिरी जवाफ प्रतियोगिता, फुटबल प्रतियोगिता, विज्ञान प्रदर्शनी एवं विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । आइतवार एक औपचारीक कार्यक्रमका बीच वार्षिकोत्सव समापन भएको थियो ।

समापन कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुलका प्राचार्य लीलानाथ चापागाईंले विभिन्न आरोह अवरोहबीच स्कुलले पछिल्लो वर्षहरुमा गति लिँदै गएको बताए । ‘हामीले विभिन्न आरोहअवरोह बीच स्कुललाई यो अवस्थामा ल्याएका छौं’, उनँले भने, ‘हाम्रा अभिभावकले आफ्नै वडाको स्कुललाई माया गरी बालबालिकालाई अध्ययन अध्यापन गराउन अनुरोध गर्दछु ।’ वडाकै एकमात्र संस्थागत विद्यालयको रुपमा रहेको यस विद्यालयले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर एवं अतिरिक्त क्रियाकलाप लगायतका विषयलाई प्राथमिकता दिएको उनले बताए । शिक्षकहरुको एकताबाट स्कुलले प्रगति गरेको भन्दै उनले जिल्लाका अन्य उत्कृष्ट स्कुलमा यो स्कुल पुग्न सकेको समेत बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर–१३ का वडा अध्यक्ष प्रकाश दवाडीले बन्द हुने चरणमा पुगेको विद्यालयले प्रगति हासिल गरेकोमा प्रशंसा गर्दै सीप तथा व्यवहारिक शिक्षालाई अघि बाउन सुझाव दिए । विद्यालयको शैक्षिक उन्नयनमा वडाले कुनै कसर बांँकी नराख्ने भन्दै उनले विद्यार्थी तथा अभिभावकलाई आकर्षण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले शिक्षा र ज्ञान प्राप्त गर्न भौगोलिक स्थानले कुनै फरक नपर्ने भन्दै आगामी दिन गोल्डेन फ्युचर स्कुल जिल्लाकै नमुना स्कुल बन्ने विश्वास व्यक्त गरे ।

उनले स्कुलले आगामी दिनमा व्यवहारिक शिक्षामा बढी जोड दिनुपर्ने भन्दै स्कुलको खाली जग्गामा कृषि खेती प्रणालीमा विद्यार्थीलाई सहभागी गराउन सुझाव दिए । भरतपुर मेट्रो प्याव्सनका अध्यक्ष अरविन्द प्रताप राणाले अब सबै नीजि विद्यालयहरु ‘स्कील बेस्ड टिचिङ’ प्रणालीमा जानुपर्ने बताए । शिक्षकहरुको टीम वर्कबाट नै गुणस्तरीय शिक्षा प्राप्त हुने भन्दै उनले व्यवहारिक, सीपमुलक शिक्षाका साथै डिजिटलाईजेशनमा जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्कुल समितिका सल्लाहकार, विभिन्न स्कुलका प्राचार्य एवं शिक्षक, वित्तिय संस्थाका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्कुलले प्रकाशन गरेको स्मारिकाको समेत विमोचन गरिएको थियो । सो अवसरमा स्कुलमा शैक्षिक, खेलकुद एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी एवं समुहलाई पुरस्कृत गरिएको थियो । कार्यक्रम स्कुल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

एक विघा बढी क्षेत्रफल ओगटेको गोल्डेन फ्युचरमा २२ कोठे सुविधासम्पन्न भौतिक पूर्वाधार रहेको छ । स्कुलमा हाल कक्षा ८ सम्म पढाइ हुँदै आएको छ । स्कुलमा हाल तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । स्कुललाई आगामी दुई वर्षभित्र कक्षा १० सम्मको पढाई हुने विद्यालयका रुपमा स्तरोन्नती गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट