भरतपुर : भरतपुर महानगरपालिकाका साढे १६ हजार बालबालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको (एचपिभी) खोप लगाइने भएको छ ।भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले आइतबार भएको पत्रकारसँगको अभिमुखीकरण कार्यक्रममा माघ २२ गतेदेखि फागुन २ गतेसम्म एचपिभी खोप अभियान चलाइने जानकारी दियो । भरतपुर महानगर स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले विद्यालय जाने ६ देखि १० कक्षामा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने ९ देखि १४ वर्ष उमेरका किशोरीलाई एचपिभी खोप लगाइने बताए ।
यसअघि आर्थिक वर्ष २०७२/७३ र ०७३/७४ मा गाभीको सहयोगमा दुई वर्ष चितवन र कास्की जिल्लामा परीक्षण कार्यक्रमको रुपमा एचपिभी खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख सुवेदीले बताए । उनका अनुसार सरकारले निश्चित उमेर समूहका किशोरीहरुलाई देशभर नै एचपिभी खोप लगाइने अभियान चलाएको छ ।
भरतपुरमा विद्यालय जाने उमेरका १६ हजार १६९ किशोरीलाई एचपिभी खोप लगाइने छ । विद्यालयबाहिरका ४२३ किशोरीलाई पनि खोप दिइने सुवेदीले बताए । उनले भने, ‘अपाङ्गता, सुस्त मनस्थिति बालबालिका तथा किशोरीलाई स्वयंसेविकामार्फत खोजी गरी घरमै पुगेर खोप लगाइने छ ।’
छात्राहरुलाई विद्यालयमै पुगेर खोप लगाइने छ । यसअघि लगाइसकेका किशोरीहरुले खोप लगाउन पर्ने छैन । भरतपुरमा क्यान्सर अस्पतालको सहयोगमा केही छात्राहरुले यसअघि नै एचपिभी खोप लगाइसकेका छन् ।
भरतपुर महानगरमा खोप केन्द्र १९३ वटा र खोप दिन खटिने अनुमानित स्वास्थ्यकर्मीको संख्या २०१ तथा स्वयंसेवकको संख्या ४०२ रहेको छ । चिकित्सकहरुका अनुसार महिलामा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर हो । ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने सङ्ख्या न्यून आय भएका र मध्यम आय भएका देशमा देखिएको छ ।
‘९८ प्रतिशत खोप प्रभावकारी हुनेछ, चीनमा तयार गरिएको सिकोलिन नामक एचपिभी खोप देशभर नै लगाउन थालिएको हो । यो खोप एक डोजमात्रै लगाए पुग्छ’, महानगरका स्वास्थ्य शाखा प्रमुख सुवेदीले भने । उनका अनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण हो ।
भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टका अनुसार यौनजन्य क्रियाकलापमा सक्रिय नभइसक्ने उमेरमा खोप लगाउन प्रभावकारी हुनेछ । उमेर कटेपछि वा यौनजन्य क्रियाकलापमा सक्रिय हुँदा यो भ्याक्सिन प्रभावकारी बन्दैन । ‘झोलमा हुने यो खोप पाखुराको माथिल्लो भागमा लगाइन्छ । दीर्घरोगी, बिरामीको अवस्था हेरेर बल्ल स्वास्थ्यकर्मीले खोप लगाउने छन्’, भट्टले भने ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले खोप अभियानलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको मह¤वपूर्ण भूमिका रहेको बताए । उनले खोपप्रति कुनै आशङ्का नरहेको हुनाले त्यही प्रकारको सूचना प्रवाह गर्नसमेत पत्रकारहरुलाई अनुरोध गरेका थिए । उनले सरकारले लिएको लक्ष्य र उद्देश्य हासिल गर्नका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । किशोरीलाई लगाइने पाठेघरको मुखमा लाग्ने क्यान्सरविरूद्धको खोपमा स्थानीय तहमा अभिमुखीकरणलगायतका सम्पूर्ण कार्यक्रम गरिएको छ । खोप अभियानको तयारी पूरा भएको उनले बताए ।
पाठेघरको मुखको क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलामा हुने गर्छ । यो सङ्ख्या सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ । विश्वमा हरेक वर्ष तीन लाख ११ हजारको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गर्छ । यो सङ्ख्या सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ ।
नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ । हरेक वर्ष एक हजार ३१३ जना महिलाको यसबाट मृत्यु हुन्छ । औसतमा प्रत्येक दिन चार जनाको मृत्यु हुने देखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij