चितवन : देवघाटमा जारी महामहोत्सवमा आज लोकप्रिय टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलसहित इन्द्रेणी परिवार विशेष अतिथिका रूपमा उपस्थित हुँदैछन्।नेपालकै लोकप्रिय सांस्कृतिक कार्यक्रम इन्द्रेणीले धार्मिक र सांस्कृतिक कार्यक्रमहरूको प्रवर्द्धनमा विशेष भूमिका खेल्दै आएको छ। यसै सन्दर्भमा, देवघाट महामहोत्सवको प्रचार-प्रसारमा पनि इन्द्रेणी परिवारले उल्लेखनीय योगदान पुर्याएको आयोजक समितिले जनाएको छ। इन्द्रेणी टिमको आगमनले महामहोत्सवको माहोल झन् भव्य र भक्तिमय हुने विश्वास गरिएको छ।
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले इन्द्रेणी परिवारलाई विशेष सम्मान र स्वागत गर्ने कार्यक्रम रहेको छ। देवघाट धार्मिक पर्यटनको केन्द्र बन्दै गएको उल्लेख गर्दै, महानगरपालिकाले यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको मेयर दाहालले बताउँदै आएकी छन्।
इन्द्रेणी परिवारले महामहोत्सवका अवसरमा भजन, र सांस्कृतिक प्रस्तुतिमार्फत भक्तजनहरूलाई थप उर्जा दिने कार्यक्रम छ। महोत्सवमा इन्द्रेणी परिवारका कलाकारहरूसँग भेटघाट, फोटो सेसन, र सामूहिक भजन गाउने अवसरले भक्तजनहरूमा उत्साह थपिएको छ। यस वर्षको महामहोत्सवमा देशभरका भक्तजनहरूको अपूर्व सहभागिता रहँदै आएको छ।
इन्द्रेणी परिवारको उपस्थितिले धार्मिक महोत्सवलाई सांस्कृतिक उत्सवको रूपमा समेत थप उचाइ दिने अपेक्षा गरिएको छ। भक्तजनहरू कृष्ण कँडेलसहित इन्द्रेणी परिवारको आगमनलाई देवघाटको धार्मिक, सांस्कृतिक, र सामाजिक प्रवर्द्धनमा महत्वपूर्ण दिनका रूपमा लिइरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij