Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

भरतपुर–३ को माडीमा आवासीय तालिम : वडाको समग्र विकासमा टोलहरुको ऐक्यबद्धता

भरतपुर–३ को माडीमा आवासीय तालिम : वडाको समग्र विकासमा टोलहरुको ऐक्यबद्धता

भरतपुर : भरतपुर महानगरपालिका वडा नं–३ का टोल विकास संस्थाहरुले वडाको समग्र विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् । माडी नगरपालिका वडा नं–८, अयोध्यापुरीमा भएको टोल विकास संस्था र महिला समूहलाई दिइएको दुईदिने आवासीय तालिममा सहभागी भएका प्रतिनिधिहरुले वडाले अघि सारेका सबै किसिमका कार्यक्रम तथा योजनाहरुलाई कार्यान्वयनमा लैजान सँगसँगै हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।

भरतपुर–३ नं वडाले वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा निर्माणका कार्यक्रम गर्दै आएको छ । यसबाहेक सिलाइकटाइ तालिम, संस्कृति बचाउन मादल बजाउने तालिम दिइरहेको छ । कौसी खेती प्रवद्र्धनका लागि तालिम, मल–बीउ वितरण, टोल विकास संस्थाको क्षमता विकास तालिम, लागूऔषध दुर्व्यसन न्यूनीकरण, विपन्नलाई न्यानो कपडा वितरणलगायतका कार्यक्रमहरु गरेको छ । यस्तै कालोपत्रे, ढल तथा नाला निर्माणलगायत भौतिक पूर्वाधारका ठूला योजनाहरु पनि वडा नं–३ ले गरिरहेको छ । शिक्षा, स्वास्थ्यका क्षेत्रमा विभिन्न शिविर तथा स्वास्थ्य परीक्षणका कार्यक्रम पनि वडाले गरेको छ ।

‘वडाको समग्र विकासमा टोलहरुको साथ र सहयोग छ, वातावरणमैत्री वडा बनाउन यहाँ टोलहरुमा सरसफाइ सामग्री वितरणदेखि सूचकहरुको विषयमा तालिम प्रदान गरिएको छ’, बेलचोक टोल विकास संस्थाका उपाध्यक्ष श्रीकृष्ण लम्सालले भने, ‘सरसफाइ अभियान चलाइरहेका छौँ, सौन्दर्यीकरणका कामहरु भइरहेका छन्, टोलहरुको योजना नै वडाले बनाएको छ, यसलाई कार्यान्वयनमा ल्याउन कामहरु टोलमा भइरहेका छन् ।’

क्षमता विकास आवासीय तालिममा भरतपुर–३ नं वडाका मेलमिलाप संयोजक कृष्णप्रसाद पौडेलले वडाभित्र भएका विवाद, झैझगडालाई मेलमिलापबाट टुङ्गो लगाएको बताए । उनले हालसम्म मेलमिलाप समितिले गरेको कामको प्रगतिको विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त मूल समितिका सचिव सुरेन्द्र धितालले वातावरणमैत्री तथा पूर्ण सरसफाइ कार्यक्रमले वडालाई हरियाली बनाउन सहयोग गरेको बताए । बाह्रघरे टोलका सचिवसमेत रहेका धितालले टोलहरुलाई वातावरणमैत्री बनाउन सूचकहरु पूरा गर्ने काम भइरहेको बताए ।

तालिम कार्यक्रमका प्रमुखअतिथि वडाध्यक्ष विकास थापाले वडाका हरेक विकास निर्माण तथा क्षमता, सीप विकासका कार्यक्रममा टोलहरुको सहकार्य रहेको बताए । उनले भने, ‘टोलहरुको योजनालाई अघि सारिएको छ, यसवर्ष पनि वडामा भरतपुर महानगर, प्रदेश सरकार तथा संघीय सरकारबाट करोडौँका योजनाहरु परेका छन् ।’ उनले आवासीय तालिमले टोल विकास संस्थाका प्रतिनिधिहरुको क्षमता विकास गरेको, हालका कार्यक्रमलाई अगाडि बढाउन गृहकार्य भएको र भावी कार्यक्रमको योजना बनेको बताए ।

कार्यक्रममा जनप्रतिनिधिहरु माधव अर्याल, कमलादेवी बोलखे तथा रामबहादुर लोहनीले वडामा टोल विकास संस्था र जनप्रतिनिधिबीच हरेक काममा ऐक्यबद्धता र समन्वय रहेको बताएका थिए । युवा समाज नेपालका महासचिव किशोर खनालले वातावरण र सरसफाइको विषयमा प्रशिक्षण दिएका थिए । यस्तै, फोटो र भिडियोसम्बन्धी कोमलचन्द्र भगत, टोल विकास संस्थाको काम, कर्तव्य र अधिकारको विषयमा रामचन्द्र आचार्यले प्रशिक्षण दिएका थिए । कार्यक्रम सञ्चारकर्मी अजिता अधिकारीले सञ्चालन गरेकी थिइन् । तालिममा टोलबाट छानिएका प्रतिनिधिहरुले टोल विकास संस्थाले गरिरहेको कामको समीक्षासमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट