रत्ननगर : रत्ननगर नगरपालिकाको २८औँ स्थापना दिवस विविध सांस्कृतिक कार्यक्रमका साथ भव्यरुपमा मनाइएको छ । नगरसभाले स्थापना दिवस भव्यरुपमा मनाउने निर्णय गरेसँगै यो दिवस पहिलोपटक मनाइएको हो ।
विसं २०५३ माघ ११ गते सालमा नगरउन्मुख गाविसबाट रत्ननगर नगरपालिका स्थापना भएको थियो । साबिक देबौली गाविस, पञ्चकन्या गाविस, बछौली गाविस र पिठुवा गाविसलाई एकीकृत गरी रत्ननगर नगरपालिका स्थापना भएको हो ।
नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षता एवम् संविधानसभा सदस्य एवं पूर्व शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरउन्मुख गाविसबाट नगरपालिका बनाउन अहम् भूमिका खेल्ने संस्थापक अध्यक्ष निजानन्द मल्ललाई स्मरण गर्दै सम्मानित गरिएको थियो । हाल अमेरिकामा रहेका मल्ललाई प्रदान गरिएको सो सम्मानपत्र रोहितबाबु श्रेष्ठले ग्रहण गरेका थिए । नगरउन्मुख गाविसका तत्कालीन उपाध्यक्ष स्व. छलाही महतोलाई प्रदान गरिएको सम्मानपत्र निजका छोरा हाल रत्ननगर–८ का वडाध्यक्ष कृष्ण महतोले ग्रहण गरे ।
यसैगरी, पञ्चकन्या गाविसका तत्कालीन अध्यक्ष स्व.एकदेव घिमिरे, उपाध्यक्ष तेजप्रसाद भट्टराई, बछौली गाविसका अध्यक्ष फूलचनकुमार महतो, उपाध्यक्ष हरिभक्त घिमिरे, पिठुवा गाविसका अध्यक्ष चन्द्रकान्त न्यौपाने र उपाध्यक्ष नन्दबहादुर थापालाई सम्मान गरिएको थियो । यसैगरी, वर्तमान जनप्रतिनिधिमध्ये वडाध्यक्षतर्फ रत्ननगर–१४ का वडाध्यक्ष होमनाथ रानाभाट, कार्यपालिका सदस्यतर्फ राजेन्द्र हमाललाई सम्मान गरिएको थियो ।
यस्तै, कर्मचारीहरुमा सरसफाइकर्मी रोहन मल्ली, रत्ननगर–५ का कार्यालय सहयोगी रञ्जना काफ्ले, स्वास्थ्यकर्मीतर्फ नगर स्वास्थ्यकेन्द्र रत्ननगर–३ का निर्दोषी घिमिरे, स्वास्थ्य शाखाका सहसंयोजक बासुदेव सापकोटा, राजस्व शाखाका अधिकृत देवानन्द शर्मा, कम्प्युटर अधिकृत रमा रेग्मी, रत्ननगर–८ का वडासचिव रुपबहादुर पण्डित क्षेत्री, रत्ननगर–१२ का वडासचिव शंकरबहादुर गिरी सम्मानित भए ।
यस्तै, शाखा प्रमुखहरुमध्ये योजना तथा पूर्वाधार शाखा प्रमुख कृष्णप्रसाद उपाध्याय, आलेप शाखा प्रमुख राजेश गुरूङ, कृषि तथा पशु शाखा प्रमुख प्रवीन लामा र प्राविधिकहरुमध्ये शंकरबहादुर कुँवरलाई सम्मान गरियो ।
यस्तै, कार्यक्रममा करदातातर्फ सबैभन्दा बढी व्यवसाय कर तिर्ने एचवाई प्यानल नेपाल, सबैभन्दा बढी सम्पत्ति तथा भूमिकर तिर्ने अनिषमानसिंह श्रेष्ठ, सबैभन्दा बढी बहालकर तिर्ने अमृतकुमार राजभण्डारीलाई सम्मान गरिएको थियो ।
उपभोक्ता समितिमार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने रत्ननगर–८ का चित्रसेनबाबा सञ्चालन समितिका अध्यक्ष गोकर्ण गिरी, तरकारीखेतीतर्फ उत्कृष्ट किसान रत्ननगर–१६ का गणेशबहादुर बजगाईं, मौरीपालक किसान रत्ननगर–५ का आविष्कार भण्डारी, केरा किसान बाबुराम भट्ट, पशुपालक किसान सुदर्शन रिजाल, उत्कृष्ट मकैखेती गर्ने किसान कमलबहादुर थापा र ड्रागन फ्रुट खेती गर्ने किसान खेमराज दुवाडी सम्मानित भए ।
यस्तै, फोहोरमैला व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने सफा ऊर्जा प्रालि र फोहोर सफाइ अभियानकर्ता रत्ननगर–१० का ज्ञानेन्द्रराज पाण्डेलाई पनि सम्मानित गरिएको थियो । सो अवसरमा राजस्व शाखा प्रमुखका रुपमा कार्यरत रही सेवा निवृत्त भएका धर्मराज अधिकारीलाई सम्मानसहित बिदाइ गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै विशिष्टअतिथि एवम् संस्थापक नगरप्रमुख नारायण वनले रत्ननगर नगरपालिका उत्कृष्ट कार्य गर्दै अगाडि बढिरहेको सन्दर्भमा जनप्रतिनिधि, कर्मचारी एवम् सबै नगरवासीहरुमा बधाई दिँदै अब पूर्वी चितवनका चार नगरपालिकालाई गाभेर महानगर बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए ।
यस्तै, प्रमुखअतिथि पूर्व शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारीले भौतिक विकासमात्रै विकास नभएकोले आर्थिक सम्भाव्यताका लागि चुरेको पहाड फोडेर केरूङदेखि ठोरी जोड्ने र सिराइचुलीमा टनेल खन्नका लागि राजनीतिक दलहरुले सुझबुझका साथ पर्यत्न गर्नुपर्ने बताए ।
नगरप्रमुख प्रलाद सापकोटाले जनताको उत्तरदायित्वमा आफू गम्भीर रहँदै नगरवासीलाई कसरी खुसी बनाउन सकिन्छ भनेर आफू चिन्तित हुने गरेको बताए । उनले भने, ‘नगरवासीको हरेक दुःखसुखमा साथ दिन तयार छु । नगरवासीको मुहारमा खुसी देख्न पाए मलाई पुग्छ, मेरो अरू अभीप्सा केही छैन ।’
नगर उपप्रमुख यादवप्रसाद पाठकले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा बछौली गाविसका तत्कालीन अध्यक्ष फूलचनकुमार महतो, पिठुवा गाविसका तत्कालीन अध्यक्ष चन्द्रकान्त न्यौपाने र नेकपा (माओवादी केन्द्र)का नगरअध्यक्ष श्याम बरालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा रत्ननगर–१४ र १६ का महिला समूहले पञ्चेबाजाको प्रस्तुति, रत्ननगर–६ का थारु महिलाले झाम्टा नृत्य, रत्ननगर–११ का बाइजुराज समितिले राधाकृष्ण नृत्य, रत्ननगर कलामन्दिरले विविध सांस्कृतिक नृत्यलगायतका प्रस्तुति गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल र प्रशासन शाखा प्रमुख सविता अर्यालले गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij