भीमनगर : भरतपुर महानगरपालिका वडा नं–२०, भीमनगरका श्यामराज लामिछानेको मुख्य पेसा हो शिक्षण । उनी भरतपुर–२० मै रहेको भीमनगर माध्यमिक विद्यालयका अंग्रेजी पढाउने शिक्षक हुन् । विद्यालयमा जाने विद्यार्थीलाई पढाउने लामिछानेको कर्म नै हो । तर, उनी यतिमा सीमित छैनन् । सँगसँगै उनले कृषिकर्मलाई पनि निरन्तरता दिइरहेका छन् ।
शिक्षण पेसाबाट मात्र नभएर बिहान–बेलुकाको समय कृषि पेसामा रमाएका शिक्षक लामिछाने शिक्षण पेसाबाट मात्र तृप्त हुन सकेका छैनन् । उनले जीवनलाई सार्थक बनाउन र आर्थिकरुपमा समृद्ध बन्दै परिवारको भविष्य थप सुनिश्चित गर्न कृषिलाई पनि सँगसँगै लैजाने निधो गरे ।
दिनभर शिक्षण पेसामा व्यस्त रहने उनी बिहान–बेलुका बचेको समय तरकारीखेतीमा व्यस्त हुने गर्दछन् । उनको डेढ बिघा बारीमा अहिले बन्दाकोभी, ब्रोकाउली, फूलकोभी, मुलाजस्ता तरकारी हुर्किरहेका छन् । बन्दाकोभी, मटरकोसा, फूलकोभी, आलु, मुला यस क्षेत्रमा उत्पादन हुने मुख्य तरकारी बाली हुन् । ‘दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु’, उनले भने । तरकारीको गोडमेल गर्नु उनको साँझ–बिहानको दिनचर्चाजस्तै बनेको छ । पछिल्लो पन्ध्र वर्षयता उनको परिवारले व्यावसायिक तरकारीखेती गरिरहेको छ ।
आफ्नो खेतबारीमा थरीथरीका तरकारी लगाउनु, गोडमेल गर्नु, समयमै सिंचाइ र मलजलको प्रबन्ध मिलाउनु, दिनभर खेतबारीकै काममा व्यस्त हुनु उनको दैनिकी हो । आफ्नो भएको जग्गामा मौसमी तथा बेमौसमी तरकारीखेती गरेका उनलाई अहिले तरकारीखेतीको स्याहारसुसार गर्न भ्याइनभ्याई छ । बारीभरि लगाइएको तरकारीले मनै आनन्दित बनाउने गरेको उनको भनाइ छ ।
अन्नबालीको खेतीले केवल गुजारामात्रै चल्थ्यो । दुःखअनुसार उब्जनी नभएपछि उनले अन्नबालीको साटो तरकारीखेती सुरू गरे । १५ वर्ष भयो उनले तरकारीखेती गरेको । तरकारीखेतीबाटै वर्षको १० देखी १२ लाखसम्म आम्दानी हुने उनी बताउँछन् । ‘केही आफ्नो र बाँकी भाडाको जग्गामा व्यावसायिक तरकारीखेती गर्दै आएको छु’, उनले भने ।
बाह्रैमास तरकारीखेती गरेर आम्दानी गर्न सकिन्छ । सिजनअनुसारका तरकारीसँगै बेमौसमी खेती पनि गर्ने गरेको उनी बताउँछन् । ‘पश्चिम चितवनको पकेट क्षेत्र पनि हो’, लामिछानेले भने, ‘धन कमाउन युवा बिदेसिने क्रम बढेको छ, मेहनत गरे आफ्नै ठाउँमा सुन फलाउन सकिन्छ ।’ तरकारीको पकेट क्षेत्र मानिने भीमनगरमा पछिल्लो समय पानी, मल, बीउ तथा बीउबिजनको समस्याले तरकारी उत्पादनमा ह्रास आइरहेको उनी बताउँछन् ।
प्रतिकठ्ठा ३ हजार तिरेर जमिन लिजमा लिएर तरकारीखेती गरिरहेको उनले बताए । ‘बेमौसमी तरकारी लगाउँदा मूल्य पनि धेरै पाइन्छ, सिजनल तरकारीको मूल्य नै पाइँदैन’, उनले भने । उनले उत्पादन गरेका तरकारीले उचित बजार भने पाउन सकेका छैनन् । भारतबाट आयातित तरकारीका कारण यहाँको उत्पादनले बजार नपाउने गरेको उनको गुनासो छ ।
दिनरात नभनी तरकारी उब्जाएर लहलहाउँदो बनाएर जब बजार पठाउने बेला आउँछ तब त्यसले कौडीको भाउ पनि नपाउने अवस्था सिर्जना हुने गरेको उनी वताउँछन् । उनको एक किलो काउली उत्पादन गर्न बीउ, मल र श्रम जोडेर १५ रूपैयाँभन्दा बढी लागत पर्न आउँछ । तर, जब काउली बजार पठाउन तयार भयो तब किलोको ५ देखि १० रूपैयाँमा बेच्नु परेपछि दुःखको सीमा नहुने उनी बताउँछन् । उनले भने, ‘तरकारी फलायो फलायो मूल्य पर्दैन, समयमा मल पाइँदैन, बीचमा बिचौलिया हाबी हुन्छन्, लगानी पनि उठ्न सक्दैन ।’ समयमा मलखाद र बीउ नपाइनु, सिंचाइ सुविधा अभाव हुनु, बिक्री केन्द्र नहुनु र बीचमा बिचौलिया हाबी हुँदा व्यावसायिक तरकारीखेती गर्दै आएका किसान मर्कामा छन् ।
व्यावसायिक क्षेत्रमा लागेका किसानले आधुनिक प्रविधिमैत्री खेतीमा जोड दिनुपर्ने उनी बताउछन् । व्यावसायिक कृषिलाई जोड दिने हो भने सजिलै आर्थिक क्रान्ति हुने र देशमा परिवर्तन आउने उनको भनाइ छ । शिक्षक भएर पनि कृषिकर्म गर्न अप्ठ्यारो लाग्दैन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘होइन म त खुसी छु, कसैले किसानको रुपमा मेरो परिचय गरिदिँदा मलाई गर्व लाग्छ । आफ्ना पुर्खाहरुले गर्दै आएको काममा पाइला टेक्न पाउँदा आफूलाई भाग्यमानी नै ठानेको छु ।’
बालीविज्ञान पढाइ भैरहेको स्कुलमा पनि विद्यार्थीहरुलाई कृषि पेसाका बारेमा वर्णन गरेर प्रोत्साहन गर्ने गरेको उनले बताए । स्थानीय सरकारले कृषि पेसालाई प्रोत्साहनका साथ ध्यान दिन जरूरी रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘व्यावसायिक उत्पादनमा लाग्न खोज्ने कृषकका लागि सस्तो व्याजदरमा ऋणको व्यवस्था गर्न जरूरी रहेको छ ।’ स्थानीय सरकारले व्यावसायिक कृषकको तरकारी खरिद गर्नुपर्ने उनी बताउँछन् । बेमौसमी तरकारीखेतीका लागि प्रोत्साहन हुन सके तरकारीमा देशलाई नै आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij