Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवनमा ३६ पालिकाका विषय शिक्षकलाई तालिम : ‘एसइई उत्तीर्ण प्रतिशत बढाउँछौँ’

चितवनमा ३६ पालिकाका विषय शिक्षकलाई तालिम : ‘एसइई उत्तीर्ण प्रतिशत बढाउँछौँ’

भरतपुर : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका अध्यक्ष डा. महाश्रम शर्माले यसवर्ष एसइई उत्तीर्ण प्रतिशत बढाउने प्रतिबद्धता जनाएका छन् । चितवनको कविलासमा देशभरका ३६ पालिकाका विषय शिक्षकलाई दिइएको तालिमको उद्घाटन गर्दै अध्यक्ष शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै यसवर्ष एसइई उत्तीर्ण प्रतिशत बढाउने बताए ।

‘प्रधानमन्त्रीले यसवर्ष एसइई उत्तीर्ण प्रतिशत ७० प्रतिशत पु¥याउने भन्नुभएको छ, यसको नजिकमा हामीलाई पुग्नै छ’, अध्यक्ष शर्माले भने, ‘गएको एसइईमा जम्मा ४८ प्रतिशत विद्यार्थी पास भएका हुन्, यत्तिमै हामी खुम्चेर बस्दैनौँ, पास प्रतिशत अवश्य धेरै नै बढाउँछौँ ।’

अध्यक्ष शर्माले एसइई उत्तीर्ण प्रतिशतलाई बढाउने गरी शिक्षकलाई तालिम, पठनपाठनको सीप वृद्धि, प्रविधिको विकास, प्रश्नपत्र बनाउने सीप, कक्षा कोठाको शिक्षण सिकाइलगायतका विषयमा केन्द्रित हुने गरी कार्ययोजना बनाइएको बताए ।

एसइई नतिजालाई ध्यानमा राखेर राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सुधार र सिकाइका लागि प्रश्न निर्माण तथा नतिजा विश्लेषण सीप विकाससम्बन्धी विषय शिक्षकलाई चितवनको कविलासमा तीन दिनको तालिम दिएको हो । तालिममा आठवटा जिल्लाका ३६ पालिकाका विज्ञान, गणित र अंग्रेजीका शिक्षकहरु सहभागी छन् ।

परीक्षा बोर्डका उपनियन्त्रक सुवास पन्तका अनुसार तालिममा स्थानीय पालिकाका शिक्षा अधिकृत र स्रोत शिक्षकको सहभागिता रहेको छ । उनले परीक्षा बोर्डले २०७५ सालदेखि परीक्षालाई स्तरीकरण गर्ने अभियान चलाइरहेको छ । बोर्डले देशभरका सबै पालिकामा परीक्षा सुधार र सिकाइका लागि प्रश्न निर्माण तथा नतिजा विश्लेषण सीप विकाससम्बन्धी तालिम चलाउने योजना बनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा–१० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा ७० प्रतिशतसम्म पु¥याउने बारम्बार बताउँदै आएका छन् । यसको नजिकमा पुग्ने गरी परीक्षा बोर्डले कार्यक्रम चलाइरहेको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघले तालिमको सहकार्य गरेका छन् ।

तालिमको उद्घाटन कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कति पालिकामा अझै शिक्षा ऐन नबनेको बताए । उनले भने, ‘कति पालिकामा अझै स्थानीय पाठ्यक्रम तयार भएको छैन, शिक्षा ऐन बनेको छैन, शिक्षक छनोटमा अझै कहीँ न कहीँ गडबडी भइरहेकै पाइन्छ, अनि कसरी गुणस्तर बढ्छ ?’

उनले बुझाउन नसक्ने, गुणस्तर निकाल्न नसक्ने, सिकाइ उपलव्धि निकाल्न नसक्ने शिक्षकले पढाउन छोड्नुपर्ने बताए । उनले भने, ‘बुझाउन सक्दै सक्दैनन् भने छोड्नुपर्‍यो कि नतिजा निकाल्न पर्‍यो ।’

उनले ऐन, कानुन, कार्यविधि, प्रणाली नबनाई शिक्षामा सुधार हुन नसक्ने बताए । उनले भने, ‘उत्तरपुस्तिका शिक्षकका भाइभतिजा, छोराबुहारीले जाँचेका छन्, विद्यार्थीको अनुहार हेरेर प्रश्नपत्र निकालिएको छैन, अनि गुणस्तर कसरी बढ्छ ?’ उनले शिक्षक जस्तो छ त्यो गाउँ पनि त्यस्तै बन्ने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख सुवासचन्द्र आचार्यले बजारमा पाइने विभिन्न सेट हेरेर प्रश्नपत्र निकालिएको र यसले पनि गुणस्तरमा असर परेको बताए । उनले भने, ‘डाक्टरले गलत उपचार गर्दा एक जनाको मृत्यु हुन्छ, शिक्षकले गलत पढायो वा गलत काम गरेमात्रै पनि सयौँ विद्यार्थी र समाज नै मृत्युशय्यामा पुग्न सक्छ ।’

उनले कतिपय स्थानीय तहमा पाठ्यक्रम बने पनि पाठ्यपुस्तक बन्न नसकेको बताए । ‘भाषा सुधार्ने काम नेपाली शिक्षक र अंग्रेजी शिक्षकको मात्र ठेक्का हुँदैन, त्यसमा गणित शिक्षक र विज्ञान शिक्षकको पनि भूमिका हुन्छ । त्यसैले, नेपाली भाषाको रक्षा गर्न गणित र विज्ञान शिक्षक पनि लाग्नुपर्छ ।’

तालिममा सहभागी विषयगत शिक्षक, स्रोत व्यक्ति शिक्षा अधिकृतहरुलाई विषयगत विज्ञहरु हरिप्रसाद रेग्मी, सुशील खनाल र टीकाराम रेग्मीले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुले गुणस्तरीय शिक्षा, नतिजा, विभिन्न प्रणालीमा सुधार गर्दै विगतको तुलनामा एसइई नतिजामा धेरै नै सुधार ल्याउने प्रतिबद्धता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट