भरतपुर : पुलचोक–गोन्द्राङ सडकलाई छ लेनमा विस्तार गर्ने काम लगभग सकिएको छ । सडक डिभिजन भरतपुरका अनुसार ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ । सडकका डिभाइडरमा रङ लगाउने, लाइनिङ गर्ने, बत्ती जडान गर्नेलगायतका फिनिसिङका काम भइरहेको छ । तेस्रोपटक थपिएको म्यादमा सडक विस्तारको काम सम्पन्न हुने भएको छ । सडक विस्तारको म्याद यही पुस मसान्तसम्म रहेको छ ।
‘फिनिसिङ हुँदै छ, अर्काे लेयरको इनामेल पेन्ट्स लगाउने काम भइरहेको छ । भाटभटेनीअगाडि एक लेयरको पिच हुन बाँकी छ’, सडक डिभिजन भरतपुरकी इन्जिनियर शिला न्यौपानेले भनिन्, ‘अब खासै काम बाँकी छैन । भुक्तानीका लागि निर्माण व्यवसायीले बिल पेस गर्न बाँकी छ, दसैँपछाडि हामीले पेमेन्ट दिएका छैनौँ । त्यतिबेला हामीले ९० प्रतिशतजति भुक्तानी गरिसकेका थियौँ’, उनले भनिन् । निर्माण व्यवसायीलाई दिनका लागि थप आठ करोड रूपैयाँ सरकारसँग माग गरिएको उनले बताइन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने यस सडकमा दुईवटा एक्सप्रेस लेन र दुईवटा सर्भिस लेन बनाइएको छ । सडक विस्तारका क्रममा भरतपुर ओरालोको उचाइ घटाइएको छ । सडक विस्तारको जिम्मा पाएको इण्डो सगुन जेभीका इन्जिनियर सुनिल ढुङ्गानाका अनुसार भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । सडक विस्तारको लागत एक अर्ब ७६ करोड रूपैयाँ रहेको छ । सडकको दायाँ–बायाँ ११.५/११.५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन छ, जहाँ दुबो र बिरूवा लगाइसकिएको छ ।
एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ ६ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ ३ देखि ४ मिटरको फुटपाथ रहेको छ । बजार क्षेत्रमा सर्भिस लेनमा मात्र नभई एक्सप्रेस लेनमै समेत सवारीसाधन पार्किङ गरिँदा बजार अव्यवस्थित बनेको छ । एक्सप्रेस लेन लामो दूरीका सवारीसाधन र सर्भिस लेन छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि निर्माण गरिएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij