पोखरा : पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मध्यरातबाट ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ ।लेकसाइड क्षेत्रमा वातारण बिग्रिँदै गएको गुनासोपछि प्रहरीले मध्यरातबाट थालेको ‘अपरेसन सभ्यता’ मा २१ जना पक्राउ परेका छन् ।लेकसाइड क्षेत्रमा पर्यटकलाई अनावश्यक दुःख दिने, दुव्र्यवहार गर्ने, अनैतिक तथा अवाञ्छित गतिविधि गर्ने क्रम बढेपछि नियन्त्रण र रोकथामका लागि अभियान सञ्चालन गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।उनका अनुसार पर्यटकीय क्षेत्रको सुरक्षा, पोखराको पर्यटन छविमा पर्न सक्ने नकारात्मक असर न्यूनीकरण तथा आसन्न तिहार र छठ पर्वलाई सुरक्षित र सभ्य बनाउन प्रहरीले विशेष अभियान थालेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट परिचालित टोलीले कात्तिक १८ गतेदेखि अपरेसन सभ्यता सञ्चालन गरेको कास्की प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।अभियानअन्तर्गत कात्तिक १९ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा जुवातास खेल्ने, होहल्ला गर्ने, अवाञ्छित तथा अनैतिक गतिविधिमा संलग्न २१ जनालाई नियन्त्रणमा लिइएको पासवानले जानकारी दिए । नियन्त्रणमा लिइएकामध्ये १० जना जुवातास खेल्ने, ६ जना अवाञ्छित गतिविधिमा संलग्न, २ जना झैझगडा गर्ने र ३ जना चोरी, मादक पदार्थ सेवनलगायत गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ ।त्यस्तै, अभियानका क्रममा २७ वटा सवारीसाधनमाथि पनि कारबाही गरिएको छ । तीमध्ये १५ वटा सवारीसाधनका चालकलाई मादक पदार्थ सेवन गरी
सवारी चलाएको कसुरमा कारबाही गरिएको छ भने २ वटा सवारीसाधनका चालकलाई अन्य ट्राफिक कसुरमा कारबाही गरिएको छ । १० वटा सवारीसाधनलाई होल्डमा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।प्रहरीले लेकसाइडमा पर्यटकलाई दुःख दिने, अनावश्यक विवाद सिर्जना गर्ने तथा पर्यटन क्षेत्रको शान्ति सुरक्षामा असर पुर्याउने गतिविधि नियन्त्रण गर्न अभियानलाई निरन्तरता दिने जनाएको छ ।