Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?

काठमाडौँ : बागमती प्रदेश सरकारले राइड सेयरिङमा प्रयोग हुने दुई पाङ्ग्रे सवारीसाधन (मोटरसाइकल तथा स्कुटर) लाई सार्वजनिक सवारीका रूपमा दर्ता गर्ने बाटो खुला गरेसँगै यातायात कार्यालयमा दर्ता प्रक्रिया सुरु भएको छ । यसै क्रममा यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) गुर्जुधारा, काठमाडौँबाट हालसम्म एउटा कम्पनीमार्फत ५ वटा मोटरसाइकल कालो प्लेटमा दर्ता भइसकेका छन् ।लामो समयदेखि निजी नम्बर प्लेट (रातो प्लेट) मा सञ्चालन भई कानुनी र व्यावहारिक रूपमा विवादित बन्दै आएको राइड सेयरिङ सेवालाई औपचारिक रूपमै सार्वजनिक यातायातको मान्यता दिने यो कदमलाई यातायात व्यवसायीले सकारात्मक रूपमा लिएका छन् ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष विजयबहादुर स्वाँरले प्रदेश सरकारको यस निर्णयलाई स्वागतयोग्य भन्दै यसले यात्रुको सुरक्षा र राज्यको राजस्व प्रणालीलाई बलियो बनाउने बताएका छन्।पूर्वअध्यक्ष स्वाँरका अनुसार यातायात व्यवसायीहरूको विरोध कहिल्यै पनि प्रविधि वा एप–आधारित प्रणालीप्रति थिएन ।  ‘हाम्रो सुरुदेखिको चासो र मुद्दा एउटै थियो— यदि कसैले भाडा लिएर व्यवसाय गर्छ भने त्यो सवारी अनिवार्य रूपमा भाडाकै (कालो) नम्बर प्लेटमा हुनुपर्छ र राज्यलाई नियमअनुसार राजस्व तिर्नुपर्छ,’ उनले भने, ‘निजी सवारी साधनले आयकर तिर्दैनन्। निजी प्रयोजनका लागि दर्ता भएका साधनले भाडामा यात्रु बोक्दा न राज्यलाई फाइदा थियो, न यात्रु नै पूर्ण सुरक्षित थिए ।’

स्वाँरका अनुसार मोटरसाइकललाई कालो नम्बर प्लेट दिएर दर्ता गर्दा सबैभन्दा ठुलो फाइदा यात्रु तथा चालक (राइडर) को सुरक्षामा हुनेछ । कालो प्लेटमा दर्ता हुनेबित्तिकै सवारीको मात्र नभई यात्रु र राइडर दुवैको अनिवार्य बिमा हुनेछ ।‘विगतमा दुर्घटना हुँदा बिमा अभावका कारण घाइतेले उपचार खर्चसमेत नपाएका थुप्रै घटना छन्,’ स्वाँरले भने, ‘अब आधिकारिक रूपमा दर्ता भएपछि यात्रु सुरक्षित हुन्छन् । भोलि कुनै ठगी वा आपराधिक गतिविधि भएमा पनि आधिकारिक नम्बर प्लेटका आधारमा छानबिन गर्न सहज हुन्छ ।’

अन्तर्राष्ट्रिय अभ्यासमा राइड सेयरिङ खाली सिट बाँडेर यात्रा गर्ने (कारपुलिङ) अवधारणा भए पनि नेपालमा यो हजारौँ युवाको पूर्णकालीन पेसा र रोजगारीको माध्यम बनिसकेकाले यसलाई व्यावसायिक रूपमै कानुनी दायरामा ल्याउनु उपयुक्त भएको उनको ठहर छ।निर्णय सकारात्मक भए पनि दुई पाङ्ग्रे सवारी साधनमा दुर्घटनाको जोखिम अत्यधिक हुने भएकाले यसको कार्यविधि निकै बलियो बनाइनुपर्नेमा स्वाँरले जोड दिएका छन् ।

सडक दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये ठुलो सङ्ख्या दुई पाङ्ग्रे सवारीकै हुने गरेको तथ्य औँल्याउँदै उनले राइड सेयरिङमा यात्रा गर्ने यात्रुलाई पनि अनिवार्य रूपमा हेल्मेट लगाउने व्यवस्था गरिनुपर्ने बताए ।आफूहरूले उठाउँदै आएका माग र सुझावलाई सम्बोधन गर्दै राइड सेयरिङलाई व्यवस्थित, सुरक्षित र राजस्वको दायरामा ल्याउने बाटो खोलेकोमा पूर्वअध्यक्ष स्वाँरले बागमती प्रदेश सरकारलाई धन्यवादसमेत दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट