Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

आईएससी महासचिव एकनाथ ढकाल र बेलायती हाउस अफ कमन्सका सभामुखबीच भेटवार्ता

आईएससी महासचिव एकनाथ ढकाल र बेलायती हाउस अफ कमन्सका सभामुखबीच भेटवार्ता

 लन्डन : अन्तर-संसदीय सभामुख सम्मेलन (आईएससी) का महासचिव माननीय एकनाथ ढकालले लन्डनस्थित प्यालेस अफ वेस्टमिन्स्टरमा बेलायती प्रतिनिधि सभा (हाउस अफ कमन्स) का सभामुख द राइट अनरेबल सर लिन्डसे होयलसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा महासचिव ढकालले सभामुख होयललाई आईएससीका विश्वव्यापी पहलहरूबारे जानकारी गराउनुका साथै प्रजातन्त्रको प्रवर्द्धन र संसदीय संवादलाई प्रगाढ बनाउन आईएससी र हाउस अफ कमन्सबीच औपचारिक संस्थागत सम्बन्ध स्थापना गर्ने प्रस्ताव राखे।

साथै, उनले सन् २०२७ मा इन्डोनेसियामा आयोजना हुने तेस्रो आईएससी ग्लोबल कन्फरेन्समा सहभागी हुन सभामुख होयललाई औपचारिक निमन्त्रणासमेत दिए। सभामुख होयलले महासचिव ढकाल र उनको प्रतिनिधिमण्डललाई बेलायती संसद्‌मा हार्दिक स्वागत गर्दै औपचारिक सहकार्यका सम्भावनाहरूबारे अध्ययन गर्न थप छलफल अगाडि बढाइने संकेत गरे। भेटका क्रममा दुवै नेताहरूले संयुक्त अधिराज्य (बेलायत) र नेपालबीचको ऐतिहासिक सम्बन्धलाई पुनः स्मरण गरेका थिए। हार्दिकतापूर्ण वातावरणमा सम्पन्न उक्त भेटघाटको अन्त्यमा मायाको चिनो आदानप्रदान र आधिकारिक तस्वीर खिचिएको थियो।

ढकाल नेपालबाट तीन पटक सांसद निर्वाचित भइसकेका छन् भने दुई पटक मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी सन् २०२५ देखि आईएससीको महासचिव पदमा कार्यरत छन्। स्विट्जरल्यान्डको जेनेभामा मुख्यालय रहेको आईएससी, संसदीय कूटनीति र संवादका माध्यमबाट विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्न समर्पित एक प्रमुख अन्तर-संसदीय संस्था हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट