काठमाडौँ : चालू आर्थिक वर्ष २०८३.८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब रुपैयाँले बढेको हो। गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले १३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएका थिए। यसरी बैंकहरूको खुद नाफा ४५.४६ प्रतिशतले बढेको छ।
चालू आवको पहिलो तीन महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ। नबिलले तीन महिनामा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ३१ करोड र तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ।
त्यसैगरी एभरेस्ट बैंकले १ अर्ब २५ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड र एनएमबी बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। कृषि विकास बैंकले १ अर्ब १ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएका छन्।
अधिकांश बैंकको नाफा बढ्दा केहीको घट्यो
२० वाणिज्य बैंकमध्ये १० वटाले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्। नाफा वृद्धिका हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सुधार उल्लेख्य देखिएको छ। बैंकले गत वर्षको पहिलो त्रैमासमा ४५ करोड ५ लाख रुपैयाँ नाफा कमाएकोमा यो वर्ष १ अर्ब १८ करोड १४ लाख रुपैयाँ पुर्याएको छ।
त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको ५८ करोड ८७ लाख रुपैयाँबाट बढाएर १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ। कृषि विकास बैंकको नाफा पनि ५७ करोड ३८ लाखबाट बढेर १ अर्ब ९ करोड २३ लाख रुपैयाँ पुगेको छ।
गत वर्ष २२ करोड ४ लाख रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यो वर्ष १० करोड २७ लाख रुपैयाँ खुद नाफामा फर्किएको छ। यद्यपि, सबै बैंकको नाफा बढेको छैन। प्राइम कमर्सियल, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबी बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ।
अन्य बैंकमध्ये सिद्धार्थ बैंकले ८५ करोड १५ लाख, नेपाल बैंकले ८३ करोड २१ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख, हिमालयन बैंकले ६८ करोड ४८ लाख र लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन्।
त्यसैगरी प्रभु बैंकले ६४ करोड ७४ लाख, नेपाल एसबीआई बैंकले ५५ करोड ८५ लाख, माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख र एनआईसी एशिया बैंकले १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij