Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

पोखरामा ओर्लिए ७ देशका चर्चित टिकटक क्रिएटर, विश्वभर चिनाउँदैछन् नेपालको पर्यटन

पोखरामा ओर्लिए ७ देशका चर्चित टिकटक क्रिएटर, विश्वभर चिनाउँदैछन् नेपालको पर्यटन

पोखरा : डिजिटल प्लेटफर्म टिकटकको माध्यमबाट नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न ७ देशका चर्चित ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन् । नेपाल पर्यटन बोर्ड र सामाजिक सञ्जाल टिकटकको संयुक्त सहकार्यमा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्काका सामग्री निर्माताहरू नेपाल आएका हुन् ।

उनीहरूले नेपालको प्राकृतिक सौन्दर्य, मौलिक कला–संस्कृति, साहसिक गतिविधि र यहाँको विशिष्ट पर्यटकीय अनुभवलाई समेटेर श्रव्य दृश्य (भिडियो) सामग्री तयार पार्नेछन् । उक्त भिडियो टिकटक लगायतका सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ पुर्‍याइनेछ ।यस अभियानअन्तर्गत टोलीले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय स्थलहरूको स्थलगत भ्रमण गर्नेछ । नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलका अनुसार क्रिएटरहरूले ती गन्तव्यका आकर्षण, स्थानीय जनजीवन, संस्कृति, प्रकृति र पर्यटकीय गतिविधि समेटिएका सामग्री निर्माण गर्नेछन् ।

फ्लाई दुबईको उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका विदेशी कन्टेन्ट क्रिएटरहरूलाई पर्यटन बोर्ड र स्थानीय पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । नेपाल पर्यटन बोर्ड र टिकटकबिच सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।सोही सहकार्य अनुसार सुरु गरिएको लाइफ टाइम एक्सपिरियन्स अभियानले नेपालको हिमाल, सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य लिइएको बोर्डका सदस्य सन्तोष पोखरेलले जानकारी दिए ।

भ्रमण तालिका अनुसार बङ्गलादेशका अनिवार्न कासेर, श्रीलङ्काका कसुन सम्पथ देगोडा मागागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा युएईका मोहम्मद नाबिलले पोखरा र वरपरका पर्यटकीय आकर्षणहरूमा आधारित सामग्री निर्माण गर्नेछन् ।यस्तै, फ्रान्सका जेरेमी ब्युदेटले चितवन पुगेर त्यहाँको वन्यजन्तु, राष्ट्रिय निकुञ्ज, प्रकृति र थारू संस्कृतिमा आधारित अनुभवलाई क्यामरामा कैद गर्नेछन् । पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्यु लिले भने बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटन (होमस्टे आदि) का सम्भावनाहरूलाई विश्वसामु पस्कनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) ले सरकारले पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यमलाई उच्च प्राथमिकता दिएको बताएका छन् । आधुनिक डिजिटल माध्यमबाट विश्वभरका दर्शकसम्म पुग्ने यो अभियानले नेपाली पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय पहुँचलाई थप विस्तार गर्ने अपेक्षा मन्त्री पौडेलले राखेका छन् ।यस्तो प्रयासले नेपाललाई विश्वस्तरमा एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न टेवा पुर्‍याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट