Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्ले प्रकरण: घरेलु हिंसाका सन्देशलाई अदालतले मान्यो प्रमाण

अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्ले प्रकरण: घरेलु हिंसाका सन्देशलाई अदालतले मान्यो प्रमाण

अमेरिका : अमेरिकाको भर्जिनियामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टले बेपत्ता हुनुभन्दा पाँच महिनाअघि नै आफू श्रीमान् नरेश भट्टबाट असुरक्षित रहेको भन्दै नेपालमा रहेका दाजु महेश काफ्लेलाई सन्देश पठाएको खुलेको छ।ममताले श्रीमान्बाट घरेलु हिंसा भोगिरहेको संकेत गर्दै दाजुलाई पठाएका सन्देशलाई नरेशविरुद्धको हत्या मुद्दामा प्रमाणका रूपमा पेस गर्न मिल्ने वा नमिल्ने भन्ने विषयमा बिहीबार अदालतमा बहस भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। ‘उनले आफू असुरक्षित रहेको बताएकी थिइन्,’ ममताका दाजु महेशले बिहीबार अदालतमा भने।

नरेशमाथि सन् २०२४ जुलाईको अन्तिम साता मानासस पार्कस्थित आफ्नै घरबाट बेपत्ता भएकी ममताको हत्या गरेको आरोप छ। अभियोजन पक्षका अनुसार नरेशले ममताको शरीर टुक्राटुक्रा पारेर उत्तरी भर्जिनियाका विभिन्न स्थानमा रहेका फोहोर फाल्ने कन्टेनरमा फालेका थिए। अहिलेसम्म ममताको शव फेला परेको छैन।नरेशमाथि प्रथम श्रेणीको हत्या, मृत शरीर लुकाएको र शवको अपमान गरेको अभियोग लगाइएको छ। उनको मुद्दाको सुनुवाइ अहिले चौथो सातामा चलिरहेको छ।

बिहीबारको सुनुवाइमा ममता र नरेशको आर्थिक कारोबार तथा बैंकिङ विवरणबारे पनि बयान लिइएको थियो। ममताले सन् २०२३ मा खोलेको क्रेडिट कार्डको भुक्तानी नियमित गर्दै आएकी थिइन्। तर, उनी बेपत्ता भएपछि जुलाई–अगस्टको बिल भुक्तानी भएन। सेप्टेम्बरमा पनि भुक्तानी नभएपछि उनको खातामा जरिवाना थपिएको थियो। उनले अन्तिम पटक जुलाई २८ मा उक्त खातामा लगइन गरेकी थिइन्।

त्यसैगरी, ममताले सन् २०२४ फेब्रुअरी १४ मा बचत र चल्ती खाता खोलेकी थिइन्। त्यही रात घरमा घरेलु विवाद भएको भन्दै उनले प्रहरीलाई फोन गरेकी थिइन्। घटनास्थल पुगेका प्रहरी अधिकारी एल्मर रोड्रिगेजका अनुसार ममता रोइरहेकी थिइन् तर उनीसँग कुरा गर्न चाहिनन्। शरीरमा चोटपटक नदेखिएकाले आफू फर्किएको उनले अदालतमा बताएका थिए। त्यस घटनापछि ममता करिब तीन सातासम्म साथी सरिता न्यौपानेको घरमा बसेकी थिइन्।

अदालतमा नरेशले टेस्ला कार बिक्री गरेको विवरणसमेत प्रस्तुत गरिएको थियो। उनले सन् २०२३ अक्टोबरमा ४९ हजार ८८० अमेरिकी डलरमा किनेको कार सन् २०२४ अगस्ट १६ मा २८ हजार डलरमा बिक्री गरेका थिए। पक्राउ पर्नुभन्दा एक साताअघि उनले कार बिक्री गरेको खुलेको हो।

दाजुलाई पठाएका सन्देश प्रमाणका रूपमा पेस गर्ने विषयमा बहस

बिहीबारको सुनुवाइपछि ममताले दाजु महेशलाई पठाएका घरेलु हिंसासम्बन्धी सन्देश, तस्बिर र भिडियो अदालतमा प्रमाणका रूपमा पेस गर्न मिल्ने वा नमिल्ने विषयमा बहस भएको थियो।महेशका अनुसार ममताले सुरुमा हरेक दिन आमासँग भिडियो कल गर्ने गर्थिन्। तर, पछि उनले भिडियो कल गर्न छाडेर अडियो कल मात्र गर्न थालिन्। यसबाट चिन्तित भएका महेशले ममतासँग यसको कारण सोधेका थिए।त्यसपछि ममताले आफूले भोगिरहेको अवस्थाबारे दाजुलाई तस्बिर र एउटा भिडियो पठाउन थालेकी थिइन्। तर, ती कुरा आमाबुवालाई नभन्न आग्रह गरेकी थिइन्।

अदालतमा ममताले दाजुलाई पठाएका १२ वटा सन्देश वा भनाइलाई प्रमाणका रूपमा स्वीकार गर्न मिल्ने विषयमा दुवै पक्षका वकिलबीच बहस भएको थियो। न्यायाधीश किम्बर्ली इर्भिङले केही भनाइलाई प्रमाणका रूपमा स्वीकार गर्न अनुमति दिइन् भने केहीलाई अस्वीकार गरिन्।महेशले ममताले आफू असुरक्षित रहेको बताउने गरेको उल्लेख गरेका थिए। न्यायाधीशले ममताले आफू असुरक्षित रहेको बताएको भनाइलाई अदालतमा प्रमाणका रूपमा प्रस्तुत गर्न अनुमति दिएकी छन्।

त्यसैगरी, ममताले आफूले खिचेका तस्बिरबारे नरेशले थाहा पाएमा उनले आफूलाई थुक्ने र कपाल तान्ने गरेको वा गर्ने भन्दै दाजुलाई बताएको महेशले जानकारी दिएका थिए। न्यायाधीशले यसलाई ममताको डर र मानसिक अवस्थाको संकेतका रूपमा लिन सकिने बताइन्। तर, ममताले नरेशले यस्तो गर्नेछन् भनेको आधारमा उनले यसअघि पनि त्यस्तो व्यवहार गरिसकेको निष्कर्ष निकाल्न नमिल्ने उनको भनाइ थियो।

नरेशले ममतालाई विगतमा गरेको भनिएका केही विशिष्ट व्यवहारसम्बन्धी अन्य विवरणलाई भने अदालतले प्रमाणका रूपमा स्वीकार गर्न अनुमति दिएन।ममताले दाजुलाई आफूलाई नरेशले खाना नदिने गरेको र दुई दिनदेखि केही नखाएको समेत बताएकी थिइन्। न्यायाधीश इर्भिङले उक्त भनाइलाई ममताले सन्देश पठाउँदाको तत्कालीन अवस्था र उनले भोगिरहेको परिस्थितिसँग सम्बन्धित भएकाले प्रमाणका रूपमा स्वीकार गर्न सकिने निर्णय सुनाइन्।

अब के हुन्छ ?

अभियोजन पक्षले आफ्नो तर्फबाट प्रमाण र साक्षी प्रस्तुत गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ। सोमबारसम्ममा आफ्नो पक्षको सुनुवाइ सक्ने तयारी अभियोजन पक्षको छ।उपमहान्यायाधिवक्ता म्याथ्यु स्वीटका अनुसार सोमबार करिब छ जना थप साक्षीलाई अदालतमा प्रस्तुत गरिनेछ। त्यसपछि प्रतिरक्षा पक्षले आफ्नो प्रमाण र साक्षी प्रस्तुत गर्नेछ। नरेश आफैँ अदालतमा उपस्थित भएर बयान दिने वा नदिने भन्ने विषय भने अझै निश्चित भएको छैन।त्यसपछि दुवै पक्षले जवाफी प्रमाण प्रस्तुत गर्नेछन्। अन्तिममा दुवै पक्षका वकिलले बहस गरेपछि जुरी सदस्यहरूले मुद्दाको निर्णयका लागि छलफल सुरु गर्नेछन्।

मुद्दाको सुनुवाइका लागि थप तीन साताको समय छुट्याइएको छ। तर, शुक्रबार सुनुवाइ नहुने र निर्वाचन दिवस तथा भेटेरन्स डेका कारण आगामी दुई साता तीन–तीन दिन मात्रै सुनुवाइ हुनेछ।त्यसपछिको साता थ्याङ्क्सगिभिङ पर्व पर्ने भएकाले मुद्दाको सुनुवाइ लम्बिएर जुरीको छलफलसमेत उक्त सातासम्म पुग्न सक्ने चिन्ता न्यायाधीश इर्भिङले व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट