Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

बाढी पहिरो खोजी तथा उद्धारमा ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीद्वारा जानकारी

बाढी पहिरो खोजी तथा उद्धारमा ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीद्वारा जानकारी

काठमाडौँ : भोटेकोसी तथा कालीगण्डकी करिडोरमा आएको विनाशकारी बाढी पहिरोपछिको खोजी तथा उद्धार कार्यका क्रममा हालसम्म ११२ वटा शवको पहिचान गरी परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ ।नदीले बगाएर टाढा पुर्‍याएका शवहरूको खोजीका लागि रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणी (भारत सीमा) सम्म दुवै किनारमा ‘टी टु टी’ (टिमुरे टु त्रिवेणी) विशेष अपरेसन सञ्चालन गरिएको हो ।

भोटेकोसी एवं काली गण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको शुक्रवारको बैठकमा नेपाल प्रहरीका तर्फबाट विस्तृत कार्यप्रगति प्रस्तुत गर्दै प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले उक्त विवरण सार्वजनिक गरेका हुन् । विपद् सुरु भएलगत्तै प्रहरी प्रधान कार्यालयमा चौबिसै घण्टा सञ्चालन हुने गरी ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ स्थापना गरी कार्यसम्पादन भइरहेको उनले जानकारी दिए । एसपी पुरीका अनुसार बाढीका कारण आठ जिल्लाका २६ स्थानीय तह प्रभावित भएकामा सरकारले १५ वटा स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रभावित क्षेत्रमा हालसम्म १ हजार ४७६ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ भने खोजी कार्यमा तालिमप्राप्त कुकुर (केनाइन) समेत प्रयोग गरिएको छ ।

विपद्का सुरुवाती क्षणमा प्रहरीका छवटा युनिटमा समेत क्षति पुगेको र सञ्चार सम्पर्क विच्छेद भएको अवस्थालाई चिर्दै उद्धार कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ ।शव पहिचान तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन प्रहरीले प्रविधिको उच्च उपयोग गरेको छ । फेला परेका सबै शवहरूको फोटोसहितको विवरण नेपाल प्रहरीको वेबसाइटमा अभिलेखीकरण गरिएको छ, जसले गर्दा देश–विदेशमा रहेका आफन्तहरूलाई पहिचान गर्न सहज भएको छ । यसका साथै डिएनए प्रोफाइलिंग, फरेन्सिक जाँच तथा कानूनी प्रक्रिया सहजीकरणको लागि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कै नेतृत्वमा डेडिकेटेड टिम परिचालन गरिएको छ ।

काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा मात्रै शव तथा घाइते व्यवस्थापनका लागि ५१ जनाको प्रहरी टोली खटाइएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) सँग निरन्तर समन्वय गरी तथ्यांक प्रमाणीकरण र उद्धार कार्य अघि बढाइएको छ । यद्यपि भौगोलिक विकटता र नदीको तीव्र बहावका कारण अझै पनि केही व्यक्तिहरू बेपत्ता रहेको र उनीहरूको वास्तविक संख्या यकिन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट