Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

कामदार पठाउने विषयमा मलेसियाले गर्‍यो नेपालको प्रस्ताव  अस्वीकार

कामदार पठाउने विषयमा मलेसियाले गर्‍यो नेपालको प्रस्ताव  अस्वीकार

काठमाडौँ : मलेसिया सरकारले सबै इजाजतप्राप्त म्यानपावर कम्पनीलाई नेपाली कामदार पठाउन दिने नेपालको प्रस्ताव अस्वीकार गरेको छ।युवा, श्रम तथा रोजगार मन्त्रालयलाई पत्र पठाउँदै मलेसियाको मानव संसाधन मन्त्रालयले नेपालको कामदार भर्ना प्रक्रियामा पुरानै संयन्त्र अर्थात् सीमित म्यानपावर कम्पनीलाई मात्रै अनुमति दिने नीतिलाई निरन्तरता दिने स्पष्ट पारेको हो। 

नेपालले गत सेप्टेम्बर ११ मा कूटनीतिक नोटमार्फत र सेप्टेम्बर २४ मा दुई मन्त्रीबीचको टेलिफोन वार्तामा नेपालका १ हजार ११४ वटै सक्रिय म्यानपावर कम्पनीलाई मलेसियाको ‘फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’मा मुख्य एजेन्सीका रूपमा आबद्ध गराउन आग्रह गरेको थियो। तर मलेसिया सरकार आफ्नो  अडानमा अडिग रहेको र २५ वटा मुख्य (प्रिन्सिपल) म्यानपावर कम्पनी र ती प्रत्येकका लागि तोकिएका १० वटा सहयोगी (एसोसिएट) कम्पनीमार्फत मात्रै कामदार लिने अन्तिम निर्णय गरेको पत्रमा उल्लेख छ। 

कडा जाँचपास गरिएका सीमित एजेन्सीहरूसँग काम गर्दा अनैतिक भर्ना प्रक्रिया, सम्झौता परिवर्तन कामदारबाट असुलिने अत्यधिक शुल्क र शोषण जस्ता जोखिमहरूलाई उल्लेखनीय रूपमा कम गर्न सकिने मलेसियाको दाबी छ। काठमाडौँस्थित मलेसियाली दूतावासमार्फत परराष्ट्र मन्त्रालय हुँदै श्रम मन्त्रालयलाई पठाइएको उक्त कूटनीतिक पत्रमा मलेसियाले नेपालसँगको ऐतिहासिक तथा द्विपक्षीय सम्बन्धलाई उच्च महत्त्व दिने जनाएको छ। मन्त्रालयका सूचना अधिकारी जगदीश पराजुलीले  भने औपचारिक च्यानलमार्फत पत्र आफूहरूसम्म आई नपुगेको बताए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट