काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ले खतरनाक रुप लिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ । यसको असर हिमालदेखि तराईसम्मै पर्ने सम्भावना भएकाले सरकारले सुरक्षा अंगहरुलाई हाई अलर्टमा राखेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउँदै सम्बन्धित निकाय र सुरक्षा अंगलाई पूर्वतयारीका साथ रहन भनिएको जानकारी दिए ।
भारतको मौसम विभागका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहानसम्म आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान छ । चक्रवातका कारण ११५ देखि १२५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र हावाको गति बढेर १४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने अनुमान गरिएको छ ।चक्रवातले क्षति पुर्याउन सक्ने भन्दै भारतका विभिन्न क्षेत्रमा पनि उच्च सतर्कता अपनाइएको छ । दक्षिण तटीय रेलवेले अक्टोबर २७ र २८ मा सञ्चालन हुने ५३ वटा रेल सेवा रद्द गरेको छ । विशाखापटनम र विजयवाडा आउने–जाने उडानसमेत प्रभावित हुन सक्ने भन्दै एयर इन्डियाले यात्रुलाई उडानको अवस्था जाँच गरेर मात्रै विमानस्थल जान आग्रह गरेको छ ।प्रभावित क्षेत्रमा विद्यालय बन्द गरिएको छ भने बालबालिका, ज्येष्ठ नागरिक लगायतलाई सुरक्षित राख्दै खाद्यान्नको जोहो गर्न भनिएको छ ।
नेपालमा बिहीबारदेखि देखिने छ बढी असर
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि कात्तिक १२ गते बिहीबार रातिदेखि भने बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष असर पर्नेछ । त्यसको संकेत भने आजबाटै देखिन थाल्नेछ ।आज कात्तिक ११ गते बुधबारको दिन कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्ने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।१२ गते बिहीबारबाट भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा वा हिमपात हुने पूर्वानुमान छ ।
महाशाखाका अनुसार शुक्रबार र शनिबार भने नेपालमा तुलनात्मक रुपमा बढी असर देखिने छ । शुक्रबार र शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात पनि हुन सक्ने बरिष्ठ मौसमविद विभूति पोखरेलले बताइन् ।चक्रवातको बाहिरी घेराका बादल नेपालसम्म आइपुग्ने र माथिल्लो वायुमण्डलको प्रणालीसँग मिसिएपछि वर्षा र हिमपात हुने पूर्वानुमान मौसमविदले गरेका छन् । ‘तर अहिले नै आत्तिनुपर्ने अवस्था छैन, सतर्क भने रहनुपर्छ,’ विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन् ।
यो पनि पढ्नुहोस
बंगालको खाडीमा अर्नब चक्रवात : नेपालमा वर्षाभन्दा हिमपातको जोखिम धेरै
वर्षा र हिमपातका कारण हिमाली तथा पहाडी क्षेत्रमा जनजीवन, सडक यातायात र दैनिक गतिविधिमा असर पर्न सक्ने भएकाले मौसमको अद्यावधिक सूचना हेर्न र आवश्यक सतर्कता अपनाउन उनले सुझाव दिइन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख एवम् विपद्विज्ञ डा. धर्मराज उप्रेतीले मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बिहीबार रातिदेखि शनिबारसम्म उच्च सतर्कता अपनाइएको जानकारी दिए । पहिलेदेखि नै जोखिम पहिचान भएका क्षेत्रमा विशेष सावधानी अपनाउन सम्बन्धित निकायलाई भनिएको डा. उप्रेतीले बताए ।
तीन दिन पदयात्रा बन्द
मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शुक्रबार र शनिबार मौसम प्रतिकूल हुनुसक्ने सम्भावना छ । ती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना छ भने केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावासहित मध्यम वर्षा हुन सक्नेछ । ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । चक्रवातको सम्भावित प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्न सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले पर्यटक, पदयात्री र पर्वतारोहणमा जानेहरूलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ । अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते पदयात्रामा जान रोक लगाइसकेको छ । यसअघि नै पदयात्रामा गएकाहरुलाई पनि मौसम प्रतिकूल रहने अवधिभर सुरक्षित स्थानमा बस्न भनिएको छ ।विपद्का बेला राष्ट्रिय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ र पर्यटक प्रहरीको ११४४ नम्बरमा सम्पर्क गर्न सकिने विपद् प्राधिकरणले जनाएको छ ।सम्भावित हिमपात र प्रतिकूल मौसमका कारण पदमार्ग अवरुद्ध हुने, यात्रा कठिन बन्ने तथा जनजीवन प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकायको निर्देशन पालना गर्न भनिएको छ ।
सडक तथा हवाई यातायातलगायत दैनिक गतिविधिमा असर पर्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ ।सम्भावित बाढीको जोखिम रहेका नदीकिनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा नबस्न, मौसमसम्बन्धी पूर्वानुमान र पूर्वसूचनाको नियमित जानकारी लिन तथा सम्बन्धित निकायले जारी गरेका निर्देशन पालना गर्न पनि विपद् प्राधिकरणले आग्रह गरेको छ ।प्राधिकरणका अनुसार मौसमसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिने छ । यसैगरी विपद्का बेला राष्ट्रिय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४, नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको १११४ र पर्यटक प्रहरीको ११४४ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।
भारतका तटीय क्षेत्रमा पनि उच्च सतर्कता
भारतको मौसम विभागका अनुसार चक्रवात ‘अर्नब’ पश्चिम–मध्य बंगालको खाडीमा केन्द्रित हुँदै आन्ध्र प्रदेशको तटतर्फ अघि बढिरहेको छ । बुधबार बिहानसम्म बापटला र विशाखापत्तनमबीचको तटीय क्षेत्रमा चक्रवात प्रवेश गर्ने अनुमान गरिएको छ । त्यसबेला चक्रवात अत्यन्त गम्भीर अवस्थामा रहने पूर्वानुमान छ ।चक्रवातसँगै तीव्र हावा र भारी वर्षा हुँदा तटीय क्षेत्रमा रुख ढल्ने, विद्युत्का खम्बामा क्षति पुग्ने, कमजोर संरचना भत्किने तथा तल्लो भूभागमा डुबान हुने जोखिम छ । त्यसैले स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आधिकारिक निर्देशन पालना गर्न आग्रह गरेको छ ।
भारतका विभिन्न क्षेत्रमा भारी वर्षाको चेतावनीसमेत जारी गरिएको छ । अक्टोबर २७ र २८ मा तटीय आन्ध्र प्रदेश तथा यनममा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान छ । ओडिशामा अक्टोबर २८, छत्तीसगढमा अक्टोबर २८ र २९ तथा पूर्वी उत्तर प्रदेशमा अक्टोबर २९ मा भारी वर्षाको सम्भावना औँल्याइएको छ ।चक्रवातको प्रभावसँगै भारतका प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्ने, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षा गर्ने र आवश्यक राहत सामग्री वितरण गर्ने तयारी गरिएको छ ।नेपालमा पनि बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना रहेकाले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका बासिन्दालाई मौसमसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij