चितवन : जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । सोही अवधिमा छ हजार ७६६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ भने २८ जनाले नागरिकता परित्याग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार यस अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र इलाका प्रशासन कार्यालय माडीबाट २३८ जनाले वंशजका आधारमा नागरिकता लिएका हुन् ।
नागरिकता प्राप्त गर्नेमा जिल्ला प्रशासन कार्यालयबाट एक हजार ४१८ महिला र एक हजार ४०६ पुरुष छन् । त्यस्तै, माडीबाट नागरिकता लिनेमा १२२ महिला र ११६ पुरुष रहेका छन् ।
यस अवधिमा जिल्ला प्रशासन कार्यालय चितवनबाट १५ महिलाले वैवाहिक अङ्गीकृत नागरिकता र ११ जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् । अङ्गीकृत नागरिकता लिनेमा सात महिला र चार पुरुष छन् । यसैगरी, ३१ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । गैरआवासीय नेपाली नागरिकता लिनेमा नौ महिला र २२ पुरुष रहेका छन् । माडीबाट पनि एक महिलाले वैवाहिक अङ्गीकृत र एक जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन् ।
तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट छ हजार ११६ वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ । प्रतिलिपि लिनेमा दुई हजार ९८७ महिला, तीन हजार १२८ पुरुष र एक अन्य रहेका छन् । इलाका प्रशासन कार्यालय माडीबाट ६५० वटा नागरिकताको प्रतिलिपि जारी गरिएको छ । तीमध्ये ३२३ महिला र ३२७ पुरुष छन् ।
यसैगरी, जिल्ला प्रशासन कार्यालय चितवनबाट २८ जनाले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा १० महिला र १८ पुरुष रहेका छन् । सोही अवधिमा चार जनाको नागरिकता रद्द गरिएको छ ।
राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी सेवातर्फ जिल्ला प्रशासन कार्यालयबाट ११ हजार ९९७ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने चार हजार ३७० वटा राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । राहदानीका लागि पाँच हजार ८५२ जनाको सिफारिस गरिएको र चार हजार २४३ वटा राहदानी वितरण गरिएको सूचना अधिकारी विकले जानकारी दिए ।
यस अवधिमा ३२६ जनाको नाबालक परिचयपत्रका लागि नयाँ दर्ता गरिएको छ भने ११ वटा प्रतिलिपि जारी गरिएको छ । कार्यालयबाट ३१६ वटा जातीय प्रमाणित, ३१७ वटा भारतीय पेन्सन सिफारिस, १२५ वटा व्यक्ति प्रमाणित र एक हजार ११४ वटा अन्य सिफारिससम्बन्धी काम भएका छन् ।
यता, इलाका प्रशासन कार्यालय माडीबाट असोज मसान्तसम्म एक हजार २५५ जनाको राष्ट्रिय परिचयपत्रका लागि नयाँ विवरण दर्ता गरिएको छ भने ७४८ वटा परिचयपत्र वितरण गरिएको छ । सोही अवधिमा १० जनाको नाबालक परिचयपत्रका लागि नयाँ दर्ता गरिएको र २३ वटा जातीय प्रमाणितसम्बन्धी काम भएको कार्यालयले जनाएको छ ।
नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी तथा अन्य प्रशासनिक सेवाअन्तर्गत तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट विभिन्न सेवा प्रवाह गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij