काठमाडौं : बाढीपहिरो र कालीगण्डकी नदीको कटानले क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली (ईआरएस) टावर प्रयोग गरी प्रसारण लाइनलाई अस्थायी रूपमा सञ्चालनमा ल्याएको हो।
शनिबार राति सवा १० बजे प्रसारण लाइनको २२० केभी क्षमताको एउटा सर्किट चार्ज गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ। गत असोज ११ गते आएको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति पुगेको थियो।
तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति भएको थियो। प्रसारण लाइन अवरुद्ध भएपछि दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल १७० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको थिएन।
प्रसारण लाइन पुनः सञ्चालनमा आएसँगै ती आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले कर्मचारीको अहोरात्रको प्रयास र निजी क्षेत्रका जलविद्युत् आयोजनासँगको सहकार्यमा ईआरएस टावर प्रयोग गरी प्रसारण लाइन अस्थायी रूपमा सञ्चालनमा ल्याउन सफल भएको बताए।
भौगोलिक रूपमा अत्यन्त जटिल र दुर्गम स्थानमा ईआरएस टावर जडान गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरको प्रयासबाट काम सम्पन्न गर्न सकिएको उनले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij