Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ :  बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रालयको प्रस्तावअनुसार लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम डोल्मालाई उपाध्यक्षमा मनोनीत गरिएको हो। कानुनी व्यवस्थाअनुसार उनको कार्यकाल पाँच वर्षको हुनेछ। लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ ले उपाध्यक्षलाई कोषको प्रमुख प्रशासकीय पदाधिकारीका रूपमा समेत परिभाषित गरेको छ।

लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्ति भएसँगै लुम्बिनी क्षेत्रको विकास, व्यवस्थापन र प्रशासनिक कार्यले थप गति लिने अपेक्षा गरिएको छ।

सन् १९७० मा काठमाडौँमा जन्मिएकी आनी छोइङ डोल्मा १३ वर्षको उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन्। बौद्ध गुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा उनले बौद्ध मन्त्र तथा धार्मिक संगीतको अध्ययन गरेकी थिइन्।

बौद्ध भजन र मन्त्रलाई आधुनिक संगीतसँग जोडेर अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल डोल्मा ‘सिङ्गिङ नन’ अर्थात् गायिका भिक्षुणीका रूपमा विश्वभर परिचित छिन्। धार्मिक संगीतमार्फत नेपाली बौद्ध परम्परालाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन उनले महत्त्वपूर्ण योगदान दिएकी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij