Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

‘स्वास्थ्य श्री’ तोरीको तेल न्यून गुणस्तरको, बजारबाट फिर्ता गर्न सरकारको निर्देशन

‘स्वास्थ्य श्री’ तोरीको तेल न्यून गुणस्तरको, बजारबाट फिर्ता गर्न सरकारको निर्देशन

काठमाडौं :  गुणस्तर, शुद्धता र स्वच्छताको दाबी गर्दै आएको ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल मापदण्डविपरीत अर्थात् न्यून गुणस्तरको पाइएपछि सरकारले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको नमुनाको प्रयोगशाला परीक्षण गर्दा तेल न्यून गुणस्तरको पाइएको जनाएको छ । विभागले सम्बन्धित उत्पादक कम्पनी रिलायबल नेपाल एग्रो लिमिटेडलाई तोकिएको ब्याचको सम्पूर्ण तेल बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागका अनुसार चितवनको खैरहनी-२ मा रहेको कम्पनीले उत्पादन गरेको ‘स्वास्थ्य श्री’ ब्रान्डको एक लिटर प्याकेटमा बिक्री हुने तोरीको तेलमा कैफियत भेटिएको हो । उक्त तेलको ब्याच नम्बर ‘आरपी ०५’ रहेको छ । यसको उत्पादन मिति सन् २०२६ सेप्टेम्बर १ र उपभोग्य अवधि उत्पादन मितिबाट नौ महिना तोकिएको थियो ।

 

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको निरीक्षण तथा परीक्षणमा तेल न्यूनस्तरको पाइएपछि विभागले ऐनको दफा ३८(२) अनुसार सम्बन्धित ब्याचका सबै उत्पादन तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको सूचनामा उल्लेख छ ।

शुद्धताको दाबी, गुणस्तर परीक्षणमा प्रश्नचिन्ह

रिलायबल नेपाल एग्रो लिमिटेड खाद्य प्रशोधन तथा कृषि उत्पादन क्षेत्रमा क्रियाशील सार्वजनिक लिमिटेड कम्पनी हो । कम्पनीले ‘स्वास्थ्य श्री’ ब्रान्डअन्तर्गत तोरीको तेल, चामल र चिउरालगायत खाद्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले आफ्नो उत्पादनलाई शतप्रतिशत शुद्ध तथा प्राकृतिक सामग्रीबाट तयार पारिएको, कडा गुणस्तर नियन्त्रण प्रक्रियाबाट गुज्रिएको, स्वच्छ प्रशोधन सुविधामा उत्पादन गरिएको र पोषण तत्त्व संरक्षणमा ध्यान दिइएको दाबी गर्दै आएको छ । ‘स्वास्थ्य श्री’ प्रिमियम तोरीको तेललाई फर्स्ट प्रेस्ड तथा डबल माइक्रो फिल्टर गरिएको उत्पादनका रूपमा समेत प्रस्तुत गरिएको छ ।

तर, कम्पनीले गुणस्तर र शुद्धताबारे गरेका दाबीका बीच आफ्नै ब्रान्डको तोरीको तेलको एक ब्याच न्यून गुणस्तरको पाइएपछि ती दाबीको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।

यी हुन कम्पनीका लगानीकर्ता

कम्पनीमा बीमा, बैंकिङ तथा व्यावसायिक क्षेत्रका व्यक्तिहरूको संलग्नता रहेको बताइएको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा शुभनिधि लोहनी रहेका छन् । सञ्चालकहरूमा उमंग अग्रवाल, निरज श्रेष्ठ, कृष्णराज वाग्ले, सुरेन्द्र सिग्देल, सिर्जना जोशी र सञ्जीव ढकाल रहेका छन् भने कम्पनी सचिवमा उदेश भट्टराई छन् ।

कम्पनीले तोरीको तेलबाहेक प्रिमियम लङ ग्रेन बासमती, कतर्नी जिरा मसिनो र सोना मन्सुली चामल तथा ‘झुरुम झुरुम’ चिउरालगायत उत्पादन पनि बजारमा बिक्री गर्दै आएको छ । उक्त कम्पनीको तेल गुणस्तरहिन भेटिएपछि अरु उत्पादनहरुमाथि पनि शंका उब्जिएको छ । तिनको गुणस्तर जाँच पहिलो आवश्यकता देखिएको हो ।

उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षासँग प्रत्यक्ष सम्बन्धित उत्पादनको गुणस्तर कायम राख्नु उत्पादक कम्पनीको दायित्व हो । विभागको निर्देशनपछि सम्बन्धित ब्याचको तेल बजारबाट पूर्ण रूपमा फिर्ता गरिएको छ वा छैन भन्ने विषयमा पनि आम उपभोक्तासँगै सरकारको निगरानी आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट