मृत हात्तीको बच्चालाई सुँड र दाह्राको सहायताले बोकेको वयस्क पोथी हात्तीको भावुक तस्बिरले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर २०२६’ को उपाधि जितेको छ । इटालीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसीले नामिबियाको हुब नदी उपत्यकामा खिचेको उक्त तस्बिरले वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलतालाई उजागर गरेको छ ।हात्तीहरूको गतिविधि नियालिरहेका बेला भेरोनेसीले नामिबियाको सुक्खा नदीको बालुवामा घिसारिएको जस्तो देखिने असामान्य पदचिह्न फेला पारेका थिए । ती चिह्न पछ्याउँदै जाँदा उनले एउटा पोथी हात्तीले मृत बच्चालाई बोकेको देखे । बच्चाको एउटा खुट्टा हात्तीको दाह्रा र सुँडको बीचमा अड्किएको थियो ।
सुरुमा उनले उक्त हात्तीलाई मृत बच्चाकी आमा ठानेका थिए । तर, त्यस क्षेत्रका हात्तीमाथि अनुसन्धान गरिरहेको समूहसँग तस्बिर साझा गरेपछि भने फरक वास्तविकता पत्ता लाग्यो । अनुसन्धानकर्ताहरूले उक्त हात्ती केही वर्षअघि आफ्नो बच्चा गुमाइसकेको पोथी भएको पहिचान गरेका थिए । यसअघि पनि उसले अरू पोथीका मृत बच्चाहरू उठाएको पाइएको थियो ।वन्यजन्तुको तस्बिर खिच्न थालेको २० वर्षको अनुभवमा यो सबैभन्दा हृदयविदारक, रोचक र नाटकीय क्षण भएको भेरोनेसीले बताएका छन् । यस घटनाले जनावरमा हुने भावना र संवेदनाको गहिराइ तथा जटिलता बुझ्न सहयोग गर्ने उनको भनाइ छ ।
उनले आफ्नो तस्बिरले मानिसहरूलाई जनावरको बाहिरी रूपभन्दा पर हेर्न र तिनलाई आफ्नै सम्बन्ध, स्मृति तथा भावना भएका जीवका रूपमा बुझ्न प्रेरित गर्ने आशा व्यक्त गरेका छन् ।
बालकदेखि अनुभवी फोटोग्राफरसम्म पुरस्कृत
यस वर्षको प्रतियोगितामा हात्ती, कीरा, समुद्री जीव, चराचुरुङ्गी, उभयचर र वनस्पतिसहित प्रकृतिका विविध पक्ष समेटिएका तस्बिर पुरस्कृत भएका छन् ।जिम्बाब्वे र बेलायतसँग सम्बन्धित युवा फोटोग्राफर ओस्कार ह्विटफिल्डले गोबरको डल्लो गुडाउँदै गरेको गोब्रे कीराको तस्बिरका लागि ११ देखि १४ वर्ष उमेर समूहको युवा विधामा पुरस्कार जितेका छन् । जिम्बाब्वेको जाम्बेजी राष्ट्रिय निकुञ्जमा खिचिएको तस्बिरमा कीराले आफ्नो शरीरभन्दा निकै ठूलो गोबरको डल्लो बालुवामा गुडाउँदै गरेको देखिन्छ ।

बेलायतकी एमिली डेभिसले भने आफ्नो बगैँचामा बुबाको स्मार्टफोन प्रयोग गरेर खिचेको भमराको तस्बिरका लागि १० वर्ष वा सोभन्दा कम उमेर समूहमा पुरस्कार जितेकी छन् । ‘फ्लाइट अफ द बम्बलबी’ नाम दिइएको तस्बिरमा फूलमा बस्न लागेको भमराको पखेटाको एक क्षणलाई कैद गरिएको छ ।बेलायतकै जेम्स लेविनले केन्याको च्युलु हिल्स राष्ट्रिय निकुञ्जमा पानीको मुहानमा जेब्रातर्फ पानी छ्याप्दै गरेको जवान भाले हात्तीको तस्बिर खिचेका छन् । इन्फ्रारेड प्रविधिमा रूपान्तरण गरिएको क्यामेरा प्रयोग गरेर खिचिएको उक्त श्यामश्वेत तस्बिर ‘एनिमल्स इन देयर इन्भाइरोन्मेन्ट’ विधामा पुरस्कृत भएको छ ।

जलवायु परिवर्तनले वन्यजन्तुको व्यवहारमा प्रभाव
प्रतियोगितामा पुरस्कृत केही तस्बिरले जलवायु परिवर्तन र मानव गतिविधिका कारण वन्यजन्तु तथा तिनको बासस्थानमा देखिएका परिवर्तन पनि उजागर गरेका छन् ।
बेलायतका आरोन स्यान्डर्सले कर्नवालको पोर्थकेरिस समुद्री तटमा खिचेको अक्टोपसको तस्बिर ‘एनिमल पोट्र्रेट्स’ विधामा पुरस्कृत भएको छ । सामान्यतः न्यानो भूमध्यसागरीय क्षेत्रमा पाइने साधारण अक्टोपस पछिल्लो समय दक्षिणपश्चिमी बेलायतमा पनि बढी देखिन थालेका छन् । विश्वव्यापी तापक्रम वृद्धिका कारण वसन्त ऋतुमा समुद्रको पानी न्यानो बन्दै जाँदा यसको उपस्थितिमा वृद्धि भएको विवरणमा उल्लेख छ ।
दक्षिण अफ्रिकाका इसाक प्रिटोरियसले युगान्डाको माबाम्बा दलदलमा दुईवटा सुबिल चराले गुँड बनाउन घाँस र पात बोकेको तस्बिर खिचेका छन् । जंगलमा वयस्क सुबिलको संख्या पाँच हजार तीन सयभन्दा कम रहेको अनुमान छ । पेलिकन, बकुल्ला र आइबिस चरासँग नजिकको सम्बन्ध भएको यो दुर्लभ चरा संरक्षणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

त्यस्तै, थाइल्यान्डको बैंककस्थित लुम्फिनी पार्कमा खिचिएको पानीगोहोरोको तस्बिरले सहरभित्र वन्यजन्तुको अनुकूलन क्षमता देखाएको छ । बेलायती फोटोग्राफर सेथ फरेस्टसनले सहरका अग्ला भवनको पृष्ठभूमिमा माछा समातेको पानीगोहोरोको तस्बिर खिचेका हुन् । दक्षिण तथा दक्षिणपूर्वी एसियाका विभिन्न सहरमा पाइने यस्ता गोहोरोले उपलब्ध खाद्यस्रोतअनुसार आफ्नो आहार अनुकूल बनाउने गरेका छन् ।
मानव गतिविधिले वन्यजन्तुको बासस्थानमा असर
प्रतियोगिताका अन्य तस्बिरले मानिसका गतिविधि, सहरीकरण र औद्योगिक विकासले प्रकृतिमा पारिरहेको प्रभावलाई पनि प्रस्तुत गरेका छन् ।
कोलम्बियाका एलेक्स भिस्बालले अमेरिकाको उटाहस्थित ग्रेट साल्ट लेकको तस्बिर खिचेका छन् । ‘द ग्रेट डिभाइड’ नाम दिइएको उक्त तस्बिरले जलस्रोतमा बनाइएको एउटा कृत्रिम रेखाले कसरी सिमसारको स्वरूप परिवर्तन गर्न सक्छ भन्ने देखाउँछ । तस्बिरमा तालको एक भाग गुलाबी र अर्को भाग फिक्का नीलो देखिन्छ । गुलाबी रङ अत्यधिक नुनिलो पानीमा फस्टाउने सूक्ष्मजीवका कारण बनेको हो । उक्त क्षेत्रमा ताजा पानीको आपूर्ति अवरुद्ध भएपछि पानीको अवस्था परिवर्तन भएको विवरणमा उल्लेख छ ।

चिलीका फोटोग्राफर फ्रान्सिस्को नेग्रोनिले अर्जेन्टिनाको पाटागोनियास्थित सान्ता क्रुज प्रान्तमा तारको बारमा झुन्ड्याइएको मृत पुमाको तस्बिर खिचेका छन् । ‘वार्निङ साइन’ नाम दिइएको उक्त तस्बिर ‘फोटो पत्रकारिता’ विधामा पुरस्कृत भएको हो । सान्ता क्रुजमा सन् २०२५ मा पुमाको सिकार प्रतिबन्धित गरिए पनि अवैध रूपमा तिनको हत्या गर्ने क्रम जारी रहेको विवरणमा उल्लेख छ ।
अमेरिकाका लोरेन इलियटले सान फ्रान्सिस्कोमा बस्ने कोयोटको जीवनमाथि तयार पारेको तस्बिर–कथाले फोटो पत्रकारिता विधामा विशेष पुरस्कार पाएको छ । सहरमा करिब एक सय कोयोट रहेको अनुमान छ । तिनले घरपालुवा जनावरलाई आक्रमण गर्न सक्ने भए पनि रोग फैलाउने मुसाको संख्या नियन्त्रण गर्न पनि सहयोग गर्छन् । त्यसैले सहरवासीमा तिनलाई लिएर फरक–फरक धारणा रहेको छ ।
साना जीवको संसारदेखि समुद्रको गहिराइसम्म
प्रतियोगिताले सामान्यतः मानिसको नजरमा नपर्ने साना जीवहरूको संसारलाई पनि प्राथमिकता दिएको छ । जर्मनीका एलेक्सिस टिंकर–त्साभालासले एउटा झिँगाले अर्को झिँगालाई खाइरहेको सूक्ष्म दृश्य खिचेका छन् । ‘हिडन डेप्थ्स’ नाम दिइएको उक्त तस्बिरले म्याक्रो फोटोग्राफीमार्फत साना जीवको शरीर र व्यवहारका सूक्ष्म विवरण देखाउँछ । कोभिड–१९ महामारीका बेला घरनजिकका प्राकृतिक क्षेत्रमा सीमित रहनुपरेपछि आफूमा यस्तो फोटोग्राफीप्रति रुचि बढेको उनले बताएका छन् ।

अमेरिका र जापानसँग सम्बन्धित फोटोग्राफर टोनी वुले जापानको क्युशुस्थित कागोशिमा क्षेत्रमा एबट्स मोरे इलको प्रजननसम्बन्धी व्यवहारको तस्बिर खिचेका छन् । प्राकृतिक अवस्थामा यस्तो व्यवहारको तस्बिर खिचिएको सम्भवतः यो पहिलो घटना भएको बेलायतको प्राकृतिक इतिहास संग्रहालयले जनाएको छ । जीवविज्ञहरूसँग सहकार्य गरेका वुले समुद्री जीवलाई कमभन्दा कम असर पर्ने गरी मधुरो रातो प्रकाश र विशेष लेन्स प्रयोग गरेका थिए ।
ग्रीसका अगोरास्तोस पापात्सानिसले अल्ट्राभायोलेट प्रकाश प्रयोग गरेर कुहिएको काठमा उम्रिएका च्याउको तस्बिर खिचेका छन् । त्यस्तै, भारतका सीताराम राउलले राजस्थानको थार मरुभूमिमा तातो बालुवाबाट बच्न बालुवाभित्र पस्दै गरेको बिच्छीको तस्बिर खिचेका छन् । बिहान तापक्रम बढेपछि बिच्छी बालुवाभित्र लुक्न खोजेको दृश्य उनले कैद गरेका हुन् ।

इन्डोनेसियाको पपुवा क्षेत्रमा समुद्रमा माछा मार्न प्रयोग गरिने प्रकाशयुक्त जालमञ्चमुनि पौडिरहेको ह्वेल सार्कको तस्बिर पनि पुरस्कृत भएको छ । अमेरिकी फोटोग्राफर एलेक्स लिन्डब्लुमले बिहानको उज्यालो पर्याप्त नहुँदा माछा मार्ने मञ्चमा प्रयोग गरिएको बत्तीको सहायताले ड्रोनबाट उक्त तस्बिर खिचेका थिए ।यस वर्षका पुरस्कृत तस्बिरहरूको प्रदर्शनी बेलायतको प्राकृतिक इतिहास संग्रहालयमा शुक्रबार, अक्टोबर १६ देखि सुरु हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा समेटिएका दृश्यले वन्यजन्तुको जीवनका भावनात्मक र अनौठा क्षण मात्र होइन, जलवायु परिवर्तन, बासस्थान विनाश र मानव गतिविधिबाट प्रकृतिमा परिरहेका असरसमेत उजागर गरेका छन् । प्रकृतिका यस्ता क्षणलाई तस्बिरमा कैद गर्नु वन्यजन्तुप्रतिको जनचेतना बढाउने र संरक्षणको आवश्यकता बुझाउने प्रभावकारी माध्यम बनेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij