Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

चितवनमा नौ महिनामा ८० नयाँ एचआईभी सङ्क्रमित थपिए

चितवनमा नौ महिनामा ८० नयाँ एचआईभी सङ्क्रमित थपिए

चितवनमा सन् २०२६ को जनवरीदेखि हालसम्म ८० जना नयाँ एचआईभी सङ्क्रमित फेला परेका छन् । जोखिममा रहेका समूहमा गरिएको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो ।भरतपुर अस्पतालस्थित एड्स हेल्थ फाउन्डेसनले २२३ जनामा गरेको परीक्षणका क्रममा ८० जनामा एचआईभी सङ्क्रमण देखिएको जनाएको छ । यस अवधिमा नयाँ भेटिएका सङ्क्रमितसहित ९१ जना नयाँ बिरामीले एचआईभीविरुद्धको एआरटी औषधि सेवन गर्न थालेका छन् । औषधि सेवन सुरु गरेकामध्ये ११ जना जिल्लाबाहिरबाट आएका हुन् ।यससँगै फाउन्डेसनबाट नियमित रूपमा एआरटी औषधि सेवन गर्नेको सङ्ख्या एक हजार २९३ पुगेको छ ।

 

भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलका अनुसार एचआईभी सङ्क्रमितसहित अन्य व्यक्तिमा गरिएको यौन रोग परीक्षणका क्रममा एक हजार १६१ जनामध्ये ५२ जनामा यौन रोगको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकाहरूको उपचार गरिएको उनले जानकारी दिए ।

उनका अनुसार सरकारी तवरबाट कन्डम उपलब्ध हुन नसक्दा सुरक्षित यौन व्यवहारमा चुनौती थपिएको छ । यसका कारण यौन रोग तथा भिरिङ्गीका सङ्क्रमितसमेत भेटिएको उनले बताए ।एचआईभी सङ्क्रमितमा क्षयरोगको समस्या पनि देखिने गरेको डा. पौडेलले बताए । उनका अनुसार १४८ जनाको खकार परीक्षण गर्दा १५ जनामा क्षयरोग पुष्टि भएको छ ।यसैबीच, जनवरीदेखि हालसम्म नियमित औषधि सेवन गरिरहेका तीन जनाले औषधि लिन छाडेको र उनीहरू सम्पर्कमा समेत नआएको फाउन्डेसनले जनाएको छ । एचआईभी सङ्क्रमितको स्वास्थ्य अवस्था सुधार गर्न नियमित औषधि सेवन र स्वास्थ्यकर्मीसँगको सम्पर्क आवश्यक रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

 

फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार औषधि लिन आउने गरिब, वृद्धवृद्धा तथा एकल महिलासहित एक हजार २११ जनालाई यातायात, प्रयोगशाला परीक्षण, पोषण, औषधि तथा आकस्मिक सेवामा सहयोग प्रदान गरिएको छ ।उनले नियमित रूपमा एआरटी औषधि सेवन गर्दा एचआईभीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने बताए । स्वास्थ्य सेवामा पहुँच बढाउने, नियमित परीक्षण गर्ने र सङ्क्रमितलाई आवश्यक उपचार तथा सहयोग उपलब्ध गराउने कार्यले एचआईभी नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij