काठमाडौँ : नेकपा (एमाले)की वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि वातावरण संरक्षण र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताएकी छन्।
सोमवार काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश विकासको प्रस्तावना’ र ‘राजनीतिक चेतना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्।
तापमानमा भइरहेको असन्तुलित वृद्धिका कारण विश्वले गम्भीर चुनौती सामना गरे पनि हिन्दुकुश क्षेत्रको भूगोलमा भएको कारण नेपाल थप जोखिममा रहेको बताइन्।
हिमाली क्षेत्रमा दोहोरिरहेका विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता औंल्याएको उनको भनाइ छ। उनले विपद्पछिको उद्धार र राहतमा मात्र सीमित नभई भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका लागि आवश्यक तयारी गर्नुपर्नेमा जोड दिइन्।
भण्डारीले भनिन्, ‘नेपाल हिन्दुकुश क्षेत्रमा पर्ने हुँदा हामी झन् गम्भीर संकटमा छौँ। त्यसैले हिमाली क्षेत्रमा दोहोरिरहेका यस्ता विपद्ले जलवायु परिवर्तन र वातावरणीय जोखिम न्यूनीकरणमा गम्भीर हुनुपर्ने आवश्यकता औंल्याइरहेको छ। विपद्पछिको उद्धार र राहतसँगै भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका लागि वातावरण संरक्षण र सुरक्षित तथा पर्यावरणमैत्री पूर्वाधार निर्माणमा पनि दीर्घकालीन ध्यान दिन आवश्यक छ।’
उनले जलवायु परिवर्तनका चुनौती सामना गर्न तीनै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य र समन्वय आवश्यक रहेको बताइन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij