चितवन : चितवन उद्योग संघको ३५औँ साधारणसभाको कानुनमन्त्री सोविता गौतमले उद्घाटन गरेकी छन्। साधारणसभामा उद्योगमैत्री नीति निर्माण गर्नुपर्ने र चितवनलाई आर्थिक राजधानीका रूपमा विकास गर्न पहल गर्नुपर्ने विषय उठाइएको छ। संघका अध्यक्ष मदन घिमिरेले चितवनलाई आर्थिक राजधानी बनाउने उद्देश्यसहित संघले पहल सुरु गरेको बताए। उनले उद्योग व्यवसायको विकास र लगानी प्रवर्द्धनका लागि उद्योगमैत्री नीति आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा कानुनमन्त्री गौतमले कानुनमै स्पष्ट हुने गरी नीति निर्माण गर्नुपर्ने बताइन्। सार्वजनिक खरिदसम्बन्धी नियममा सुधार गर्दै प्रक्रिया पारदर्शी र प्रभावकारी बनाउनुपर्ने विषयमा पनि उनले जोड दिइन्।
मन्त्री गौतमले सरकारी कामकाजका क्रममा कसैले कमिसन मागेमा सरकारलाई जानकारी गराउन आग्रह गरिन्। कमिसन माग्ने व्यक्तिविरुद्ध प्रमाणसहित उजुरी दिन आग्रह गर्दै उनले प्राप्त प्रमाणका आधारमा गम्भीर अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने बताइन्। उद्योगी व्यवसायीले भोग्दै आएका नीतिगत समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण र आर्थिक गतिविधि विस्तारका लागि सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको कार्यक्रममा औँल्याइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij