विराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले पछिल्ला तीन आर्थिक वर्षको अपराध अनुसन्धान, फैसला कार्यान्वयन, राजस्व सङ्कलन तथा शान्ति सुरक्षासम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक तथ्याङ्क अनुसार जिल्लामा दर्ता भएका अधिकांश मुद्दाहरूको सफल अनुसन्धान हुनुका साथै भन्सार छली, हुण्डी कारोबार, अवैध हतियार तथा लागूऔषध ओसारपसार नियन्त्रणमा प्रहरीले प्रभावकारी नतिजा हासिल गरेको छ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका २ हजार ६०६ मुद्दामध्ये २ हजार २८९ वटा मुद्दा फर्छ्यौट भएका थिए भने ३१७ वटा मुद्दा अनुसन्धानकै चरणमा बाँकी रहेका थिए।
त्यसैगरी आर्थिक वर्ष २०८२/०८३ मा २ हजार ६३८ मुद्दा दर्ता भएकोमा २ हजार ९ वटा फर्छ्यौट भई ६२९ मुद्दा बाँकी रहेका थिए भने चालु आर्थिक वर्ष २०८३/०८४ को भदौ मसान्तसम्म दर्ता भएका ५१९ मुद्दामध्ये १९८ वटा फर्छ्यौट भइसकेका छन्। यस तीन वर्षे अवधिमा अपराधमा संलग्न ४ हजार २६० जना अभियुक्तहरूलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याइएको छ।
अदालतबाट फैसला भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी दण्ड तथा जरिवाना असुली गराउने कार्यमा पनि मोरङ प्रहरी आक्रामक देखिएको छ। जसअनुसार आर्थिक वर्ष २०८१/०८२ मा १ हजार १५६ जना फरार प्रतिवादी पक्राउ गरी १ करोड ५६ लाख ८७ हजार रुपैयाँभन्दा बढी जरिवाना र २७६ वर्ष कैद सजाय असुल गराइएको थियो। यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा ७९७ जनालाई पक्राउ गरी १ करोड ९२ लाख १९ हजार रुपैयाँ जरिवाना तथा २२० वर्ष कैद भुक्तान गराइएको छ भने चालु आवको हालसम्म ३३६ जनालाई पक्राउ गरी ५६ लाख ४८ हजार रुपैयाँ जरिवाना र १०३ वर्षभन्दा बढी कैद असुली गराइएको छ।
राजस्व चुहावट तथा हुण्डी नियन्त्रणतर्फ मोरङ प्रहरीले उल्लेख्य प्रगति हासिल गरेको छ। आर्थिक वर्ष २०८१/०८२ मा ५ करोड ५६ लाख रुपैयाँ बराबरको भन्सार छलीको अवैध सामान बरामद गरिएकोमा आर्थिक वर्ष २०८२/०८३ मा ५३.७७ प्रतिशतले वृद्धि भई ८ करोड ५६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद भएको थियो। यसैगरी तीन वर्षको अवधिमा स्रोत नखुलेको र हुण्डी कारोबारसँग सम्बन्धित झन्डै २ करोड रुपैयाँ नगद बरामद हुनुका साथै अवैध काठ तस्करी र नदीजन्य पदार्थको दोहन नियन्त्रणबाट समेत लाखौँ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ।
लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले जिल्लाका १७ वटै पालिकामा बृहत् महाअभियान सञ्चालन गरेको छ। यस अवधिमा ८ हजार ५०० किलोभन्दा बढी गाँजा, ६ हजार ग्रामभन्दा बढी ब्राउन सुगर तथा हजारौँको संख्यामा प्रतिबन्धित मनोद्दिपक ट्याब्लेट र एम्पुलहरू बरामद गरी ओसारपसारमा संलग्न सयौँ व्यक्तिहरूलाई पक्राउ गरिएको छ। लागूऔषधविरुद्ध नागरिक सचेतना जगाउन टिकटक भिडियो प्रतियोगिता र सामुदायिक सचेतना कार्यक्रमहरू समेत सञ्चालन गरिएका छन्।
यता जिल्लामा सडक दुर्घटनाको अवस्था भने अझै चुनौतीपूर्ण देखिएको छ। विगत तीन वर्षको अवधिमा जिल्लामा ४ हजार ७०० भन्दा बढी सवारी दुर्घटना हुँदा २५९ जनाले ज्यान गुमाएका छन् भने ७ हजारभन्दा बढी नागरिक घाइते भएका छन्। यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनहरूमाथि गरिएको कारबाहीबाट प्रहरीले साढे ५ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
यसका साथै विराटनगर–१७ रानीमा तन्नामा बाँधेर फालिएको महिलाको शव पहिचान गरी मुख्य अभियुक्तलाई २ घण्टाभित्रै पक्राउ गरिएको घटना, लेटाङ र सुनवर्षीमा भएका बालिका हत्या प्रकरणका अभियुक्तहरूलाई कानुनी दायरामा ल्याइएको विषय तथा मोरङ कारागारभित्रै बसेर असुली धन्दा चलाउने आपराधिक नाइकेहरूविरुद्ध सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरिएको घटनालाई प्रहरीले आफ्नो उल्लेखनीय सफलताका रूपमा प्रस्तुत गरेको मोरङ प्रहरीका प्रमुख एसपी कोवित कट्वालले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij