Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

बूढीगण्डकी बाढीले धादिङका ५८ घर पूर्ण क्षतिग्रस्त

बूढीगण्डकी बाढीले धादिङका ५८ घर पूर्ण क्षतिग्रस्त

धादिङ : बूढीगण्डकी नदीमा आइतबार आएको बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, विशालनगरमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले ५८ घरधुरी पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने १४ घरधुरीका भौतिक संरचनामा आंशिक क्षति पुगेको छ। बाढीबाट कुल ७२ घरधुरीका ३०८ जना प्रभावित भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीले गोरखाको आरुघाट गाउँपालिका–९, नयाँपुलबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटार जोड्ने पक्की पुलसमेत बगाएको छ। बाढीका कारण नदी आसपासका बस्तीमा ठूलो क्षति पुगेको हो।

प्रारम्भिक विवरणअनुसार सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि स्थानीय उइनगुलुङ खोला थुनिएको र त्यसपछि बूढीगण्डकी नदीमा बाढी आएको हो। बाढीले विशालनगर क्षेत्रका पक्की तथा कच्ची घरमा क्षति पुर्‍याएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

बाढीमा फसेका वृद्धको सकुशल उद्धार

बाढीमा फसेका ६५ वर्षीय जितबहादुर माझीलाई प्रहरीले सकुशल उद्धार गरेको छ। नुवाकोटको तारकेश्वर नगरपालिका–२ घर भएका माझी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, कछाडगाउँस्थित छोरीको घरमा बस्दै आएका थिए। उनलाई त्रिपुरासुन्दरी–१ स्थित देवीस्थान क्षेत्रबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

बाढीबाट मानवीय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काको कमान्डमा ४५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

३५ जना होल्डिङ सेन्टरमा

बाढीबाट प्रभावितमध्ये ३५ जना त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित चुलीदेवी माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।

बाढीले घर तथा भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै महत्वपूर्ण पुलसमेत बगाएपछि प्रभावित क्षेत्रको जनजीवन प्रभावित भएको छ। स्थानीयको सुरक्षा र थप जोखिम व्यवस्थापनका लागि प्रहरी तथा सम्बन्धित निकाय परिचालित छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij