Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

शंकर पोखरेलको आरोप : सरकार उल्टो बाटोमा हिँड्यो

शंकर पोखरेलको आरोप : सरकार उल्टो बाटोमा हिँड्यो

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार उल्टो बाटोमा हिडिँरहेको आरोप लगाएका छन्।नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले सरकार सुशासन, सेवा प्रवाह र लोकतान्त्रिक अधिकारका विषयमा आफ्नै प्रतिबद्धताबाट पछि हटेको आरोप लगाएका हुन्। निर्वाचनबाट दुई तिहाइको सरकार बने पनि सरकारको कार्यशैलीले राजनीतिक स्थायित्व र सुशासनप्रति आश्वस्त पार्न नसकेको उनले बताए।

६ महिनामै सरकार सुशासन र सेवा प्रवाह सुधारका प्रतिबद्धताबाट पछि हट्न थालेको उनको आरोप छ। वर्तमान सत्तारुढ दलले चुनावका वेला सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र सार्वजनिक सेवा प्रवाहलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरे पनि त्यसको उल्टो दिशामा अघि बढेको उनले दाबी गरे।

सरकारले अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्ने भने पनि यसअघि नै अनलाइनमा गइसकेका कतिपय सेवा पुनः कागजी प्रक्रियामा फर्काएको उनको भनाइ छ। विशेषगरी विद्युतीय बोलपत्र (ई–बिडिङ) प्रणालीलाई पुनः कागजी प्रक्रियामा लैजाने तयारी गरिएको उनले बताए।

ई–बिडिङ प्रणालीलाई कागजी प्रक्रियामा फर्काएर सरकारले ठेक्कापट्टामा शक्तिशाली समूहको हस्तक्षेप र अनियमिततालाई प्रोत्साहन गर्न खोजेको आरोप लगाए। विगतमा ठेक्कापट्टामा पहुँच र शक्तिका आधारमा प्रतिस्पर्धीलाई बोलपत्र दर्ता गर्नसमेत रोक्ने प्रवृत्ति नियन्त्रण गर्न विद्युतीय प्रणाली लागू गरिएको उनले बताए।

पोखरेलले भने, ‘भ्रष्टाचार अन्त्य गर्छौँ भन्ने नाराले उनीहरूले जनताको विश्वास जितेका थिए तर ६ महिना आफूले अगाडि सारेका १०० बुँदे प्रतिबद्धताबाट उनीहरू पछाडि फर्कन थालेका छन्। अहिले सरकार आफैँले गरेका वाचाबाट पछाडि फर्कने काम गरेको छ, उसले आफ्नो असफलता सङ्केत गरिरहेको बुझ्न सक्तछौँ।’

उनले सरकारले लोकतन्त्रमा नागरिकलाई संगठित हुने अधिकारको पनि कुण्ठित गर्न खोजेको आरोप लगाए। विश्वविद्यालय र कलेजमा विद्यार्थी सङ्गठनका गतिविधि रोक्ने तथा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का पदाधिकारीलाई समेत गतिविधि गर्न नदिने काम सरकारबाट भएको उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट