काठमाडौँ : राष्ट्रिय जेनजी नागरिक अभियानले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि १० सदस्यीय टोली गठन गरेको छ।
अभियानले बुधबार काठमाडौँस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उद्धार तथा राहत अभियानका लागि टोली घोषणा गरेको हो।
टोलीमा सुनिल सिंह, अजय सोडारी, विरजन विश्वकर्मा, प्रकाश बम, सुनिल विक, प्रदीप भट्टराई, गणेक विक, पृथ्वी राज, सुप्रिया नेपाली र सुशील बुढाथोकी रहेका छन्।
अभियानका अनुसार टोलीले यसअघि नुवाकोट र रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रमा पुगेर खाद्यान्नलगायत राहत सामग्री वितरण गरिसकेको छ। प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझेपछि टोलीले बिहीबारदेखि पुनः राहत सङ्कलन तथा वितरण अभियानलाई निरन्तरता दिने जनाएको छ।
अभियानका अजय सोडारीले रसुवाका विभिन्न होल्डिङ सेन्टरमा ‘एकद्वार प्रणाली’का नाममा राहत सामग्री समयमै वितरण हुन नसकेको दाबी गरे। उनका अनुसार प्रभावित नागरिक अझै पनि राहत तथा उद्धारको पर्खाइमा छन्।
“रसुवाको वास्तविक अवस्था बुझ्दा अहिले त्यहाँ अघोषित नाकाबन्दीजस्तो अवस्था देखिन्छ। नागरिकहरू राहत र उद्धारको प्रतीक्षामा छन्,” सोडारीले भने।
त्यस्तै, सरकारले आफू बाहेकका अन्य पक्षसँग प्रभावकारी समन्वय गर्न नसक्दा जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको समयमै उद्धार हुन नसकेको अभियानका सचिव प्रकाश बमले बताए।
“नागरिकहरू अझै पनि सास र लासको प्रतीक्षामा छन्। सरकारले आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिएर भए पनि उद्धार कार्यलाई तत्काल तीव्रता दिनुपर्छ,” बमले भने।
अभियानका सुनिल सिंहले आगामी दिनमा राहत तथा पुनर्निर्माणका काममा सरकारले सहकार्य गर्न चाहे जेनजीहरू अग्रपङ्क्तिमा रहेर परिचालित हुन तयार रहेको बताए।
“विपद्को समयमा नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता हो। सरकारले सहकार्यको वातावरण बनाए जेनजीहरू राहत, उद्धार र पुनर्निर्माणमा अग्रपङ्क्तिमा रहेर काम गर्न तयार छन्,” सिंहले भने।
अभियानले बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत वितरण तथा दीर्घकालीन पुनर्निर्माणका लागि सरकार, नागरिक समाज, निजी क्षेत्र र अन्य सहयोगी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij