काठमाडौं : जलवायु परिवर्तन नेपालको अर्थतन्त्र, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य तथा समग्र विकाससँग प्रत्यक्ष जोडिएको विषय बनिसकेको भन्दै विज्ञहरूले यसको प्रभाव न्यूनीकरणका लागि दीर्घकालीन नीति, प्रभावकारी कार्यान्वयन र हरित उद्यम प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको ‘द ग्रिन टेबल’ कार्यक्रममा जलवायु नीति विज्ञ, ऊर्जा विश्लेषक, पर्वतारोही तथा हरित उद्यमीहरूले जलवायु परिवर्तनका चुनौती र समाधानका उपायबारे धारणा राखेका हुन्।
जलवायु नीति विज्ञ मञ्जित ढकालले जलवायु परिवर्तन वातावरणीय विषय मात्र नभई अर्थतन्त्रका सबै क्षेत्रसँग जोडिएको बताए। उनले कृषि, जलविद्युत्, पर्यटन, रोजगारी र समग्र विकासमा यसको असर देखिन थालेकाले नीति तथा बजेटमा जलवायु परिवर्तनलाई एउटा बुँदामा मात्र सीमित गर्न नहुने बताए।
उनले फोहोरमैला व्यवस्थापन पनि जलवायु परिवर्तनको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै नेपालले आफ्नै व्यवस्थापन प्रणाली सुधार गर्नुपर्ने धारणा राखे।
ऊर्जा तथा नीति विश्लेषक अभिषेक यादवले नेपालले नवीकरणीय ऊर्जा, जलविद्युत्, सौर्य ऊर्जा, विद्युतीय सवारी साधन र वन संरक्षणका क्षेत्रमा सकारात्मक प्रगति गरिरहेको बताए। उनले विद्युतीय सवारीका ब्याट्रीको पुनःप्रयोग तथा व्यवस्थापन चुनौतीका रूपमा रहेको भए पनि त्यसलाई समाधान गर्ने प्रविधि विकास भइरहेको उल्लेख गरे।
पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठले जलवायु परिवर्तनको असर हिमालमा प्रत्यक्ष देखिन थालेको बताइन्। उनले हिमाल पग्लने क्रम, मौसममा आएको अनिश्चितता र आरोहणका क्रममा बढ्दो जोखिमले जलवायु परिवर्तनको गम्भीरता देखाएको बताइन्।
त्यस्तै, सामाजिक उद्यमी तथा वातावरण संरक्षण अभियन्ता डा. मनु कार्कीले हरित उद्यमीहरूलाई जलवायु वित्तमा पहुँच सहज बनाउनुपर्ने बताइन्। उनले सूचना र वित्तीय पहुँचको अभावका कारण धेरै हरित उद्यमीले अवसर गुमाइरहेको भन्दै जलवायु वित्तसम्बन्धी जानकारी सार्वजनिक र सहज बनाउनुपर्नेमा जोड दिइन्। कार्यक्रममा सहभागी वक्ताहरूले जलवायु परिवर्तनलाई चुनौती मात्र नभई हरित अर्थतन्त्र निर्माणको अवसरका रूपमा लिएर नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij